लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख १२ गते। जानकी नवमीको अवसरमा जनकपुरधामस्थित दुग्धमति नदीमा साधुसन्त, वृद्धवृद्धा, महिला तथा युवा भक्तजनको घुइँचो लागेको छ।
जानकीजी प्रकट भएको दिनलाई स्मरण गर्दै शनिबार बिहानैदेखि साधुसन्त तथा श्रद्धालु भक्तजन पवित्र स्नानका लागि नदीमा ओर्लिएका छन् भने कतिपयले किनारमै पूजा–आराधना गर्दै फूल, प्रसाद र दीप अर्पण गरिरहेका छन्। परम्परागत भेषभूषामा सजिएका साधुसन्तहरूले भजन–कीर्तन गर्दै धार्मिक वातावरणलाई अझ भावपूर्ण बनाएका छन्।
यस्तै, पछिल्लो पाँच वर्षदेखि जानकी मन्दिरको अगुवाइमा ‘शाही स्नान’ कार्यक्रमसमेत आयोजना हुँदै आएको छ। यस क्रममा साधुसन्तहरूको विशेष शोभायात्रासहित सामूहिक स्नान गरिन्छ।
शाही स्नानमा सहभागी जानकी मन्दिरका महन्तका उत्तराधिकारी राम रोशन दास वैष्णवका अनुसार दुग्धमति नदी र माता जानकीको प्रकट हुनु एउटै समयसँग जोडिएको जनविश्वास छ। त्यसैले यस दिन यहाँ स्नान गर्दा जानकी माताको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ।