काठमाडौँ, वैशाख १२ गते । २०७२ साल वैशाख १२ गते, त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो। विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो। तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ। काठमाडौँको असन–मरु क्षेत्र यस्तै एउटा उदाहरण हो।
असन र मरुका यी भग्नावशेषहरू मानिसहरूको असीम पीडा र राज्यको उदासीनताका मौन साक्षी बनेका छन्। आफ्नै बास बस्ने घर भत्किएपछिको त्यो डरलाग्दो रातपछि आजसम्म ती भग्नावशेषहरूले स्थानीय बासिन्दाहरूको अधुरो आशाको कथा बोकेका छन्।

धेरैले ऋण काढेर जसोतसो तङ्ग्रिने प्रयास गरे, तर केही भने अझै पनि भग्नावशेषकै बिचमा जीवन बिताउन बाध्य छन्। एक दशक भनेको लामो समय हो, तर असनका यी कङ्काल बनेका भवनहरूले अझै नयाँ स्वरूप लिन सकेका छैनन्।
कतिपय भवन निजी निवास हुन्। दाजुभाइबिचको अंशबण्डाका कारण उत्पन्न विवादले पनि पुनःनिर्माण हुन सकेको छैन। विकासका गफहरू धेरै भए, पुनःसंरचनाका आश्वासनहरू पटक–पटक बाँडिए, तर वास्तविकता भने यी तस्बिरहरूमा देखिएझैँ पीडादायी छ।











