काठमाडौँ, वैशाख ११ गते । काठमाडौँ महानगरपालिका–१३ स्थित जनप्रभात माध्यमिक विद्यालयको हीरक जयन्ती (७५औँ वर्ष) सम्पन्न भएको छ ।
जनप्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डङ्गोलको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरले विद्यालयको सर्वाङ्गीण विकासका लागि वडा कार्यालय र महानगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो ।
सो अवसरमा हीरक जयन्ती स्तम्भको अनावरण तथा विशेषाङ्कको लोकार्पण गरिएको थियो । हिरक जयन्तीको अवसरमा ऊर्जामन्त्री तथा काठमाडौँ क्षेत्र नं. ८ का सांसद बिराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालयलाई शुभकामना सन्देश पठाउनुभएको थियो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डङ्गोलका अनुसार विसं २००८ साल वैशाख ११ गते स्थापना भएको यो विद्यालयले स्थापनाकालदेखि विभिन्न चुनौती पार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
हाल विद्यालयमा बालविकास कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा करिब ११ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।