• १२ वैशाख २०८३, शनिबार

आमा (कविता)

blog

समय र परिबन्धको 

पिँजडाभित्र बाँधिएर

सन्तानका खुसीका निम्ति

आफ्नै रहरका घाँटी रेटेर

सङ्घर्षमै सौन्दर्य देख्ने

खुसीको इन्तजारमै

जीवन बिताइदिने

गाउँको साँघुरो डिलबाट

पहाड जत्रै अग्ला सपना देखिदिने

पट्पटी फुटेका खुट्टाले 

हजारौँ माइलको बाटो

नापेर नथाक्ने 

मेरी आमालाई 

मुटुभरिको प्यार

मनभरिको माया

हृदयभरिको सम्मान ।।

हिँडेको बाटो र 

कोरेका सपनाहरू

मधुरा होइनन्

स्पष्ट देखिऊन् भन्दै

शिरमाथि आशीर्वादका 

पुष्पगुच्छाहरू सिउरिदिने

गुमनाम जीवन बाँचेर

भोक, प्यास, थकान, निद्रा

सबै, सबै बिर्सेर अनवरत

अप्ठ्यारामा हात थामिदिने

दुःखमा साहस भरिदिने

सफलतामा मुस्कुराइदिने 

विशाल हृदय भएकी

मेरी आमालाई

मुटुभरिको प्यार

मनभरिको माया

हृदयभरिको सम्मान ।।।