• १२ वैशाख २०८३, शनिबार

उद्योगबाट निस्किएको फोहोरले प्रदूषण

blog

नवलपुर समाचारदाता

नवलपुर, वैशाख १२ गते  । नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने लेदोजन्य फोहोरको असुरक्षित व्यवस्थापनका कारण अत्यधिक मात्रामा दुर्गन्ध फैलिने गरेको छ । सो फोहोरले भूमिगत पानीको स्रोतमै प्रदूषण फैलाउने सम्भावना उच्च देखिएको एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

फोहोर र दुर्गन्धित पानी प्रशोधनविना सिधै खोलामा मिसाइएको पाइएको छ । यसले जङ्गली जनावरको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै संरक्षणकर्मी चिन्तित देखिएका छन् । दुर्गन्धले स्थानीय सबैभन्दा बढी प्रभावित भएका छन् । अप्रशोधित र अत्यधिक दुर्गन्धित पानी देवचुलीको कर्कदाहा खोला हुँदै नारायणी नदीमा मिसिएको र जङ्गली जनावरले त्यही पानी पिउने गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । उद्योगहरूबाट निकास हुने पानीका कारण अन्य जलका स्रोतमा प्रदूषण भइरहेको भन्दै स्थानीयले पटक÷पटक विरोध गर्दै सिजी उद्योगको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । निवर्तमान गृहमन्त्री सुदन गुरुङ नवलपुर आएका बेला यहाँका स्थानीयले ज्ञापनपत्रसमेत बुझाएका थिए । केही समय पहिले गोरखापत्रले ‘प्रदूषणले वासस्थान फेर्दै जनावर’ शीर्षकमा समाचार छापेको थियो । 

चौतर्फी चासो र दबाबपछि प्रधानमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले गत वैशाख ४ गते सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्ज, नगरपालिकाको वातावरण शाखा, देवचुली–१, २ र ३ नं. का वडाध्यक्ष, सबडिभिजन वन कार्यालय र जेनजी प्रतिनिधि सम्मिलित उद्योग अनुगमन तथा निरीक्षण समिति गठन गरेको थियो । समितिले सात दिनको अध्ययनपछि प्रतिवेदन तयार गरेको छ । 

सो प्रतिवेदनमा हानिकारक र अप्रशोधित गन्ध आउने पानी नारायणी नदीमा मिसिने र जङ्गली जनावरले सोही पानी पिउने भएकाले प्रशोधन नगरिएको पानीको निकास तत्काल बन्द गर्नुपर्ने उल्लेख गरेको छ । यस्तो काम गर्नेलाई थप कारबाहीका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको अध्ययन समितिका संयोजक रानाले बताउनुभयो । 

नवलपुरको देवचुली नगरपालिकाभित्र ७० बिघा क्षेत्रफलमा फैलिएको चौधरी ग्रुप अफ इन्डस्ट्रिज पार्क र २५ बिघामा फैलिएका सिजी फुड्स नेपाल प्रालि, सिजी ब्रुअरी नेपाल लि, सिजी प्रिन्ट एन्ड प्याकेजिङ प्रालि, प्रफेक्ट ब्यालेन्डस् नेपाल प्रालि, सिजी फ्युचर फ्याक्ट्री प्रालि गरी छ वटा उद्योग सञ्चालनमा छन् । जसमध्ये फुड्स नेपाल, ब्रुअरी नेपाल र सिजी प्रिन्ट एन्ड प्याकेजिङबाट पानी निष्कासन हुने गरेको र सो पानी एकमुष्ठ रूपमा प्रशोधनका लागि स्थापना भएको प्लान्टमा पठाउने र त्यसपछि निकास गर्ने गरे पनि पानी क्षमताभन्दा बढी हुँदा प्रशोधनबिना खोलामा मिसिएको पाइएको अध्ययन टोलीको निष्कर्ष रहेको समिति सदस्य देवचुली–२ का अध्यक्ष शरदप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

निकुञ्जको चासो

उद्योगबाट निस्केको केमिकल मिश्रित फोहोर पानी जङ्गली जनावरले समेत पिउने गरेको पाइएपछि चितवन राष्ट्रिय निकुञ्जले पनि चासो दिएको छ । केही समयअघि निकुञ्जले उद्योगदेखि नारायणी नदीसम्म तीन ठाउँको पानीको नमुना लिएर काठमाडौँमा परीक्षण गरेको थियो । उक्त पानीको प्रतिवेदन अनुसार उद्योगनजिक सबैभन्दा बढी हानिकारक देखिए पनि नारायणीसम्म पुग्दा बग्दो पानीको बहावका आधारमा असर कम हुँदै गएको देखिएको निकुञ्ज प्रमुख डा. गणेश पन्तले बताउनुभयो । डा. पन्तले भन्नुभयो, “पानीको बहाव अनुसार तल जाँदा केमिकलको असर कम हुनु स्वाभाविक हो, तर यो सह्य विषय होइन । यस विषयमा निकुञ्जले गम्भीर रूपमा लिएको छ ।”

विगतका सहमति उल्लङ्घन

समितिले यसअघि पटक पटक भएका सहमति पनि उद्योगले पालना नगरेको पाइएको बताएको छ । उद्योगले स्थानीय सङ्घर्ष समितिसँग २०८१ साल मङ्सिर ११ गते गरेको सहमति पालना नभएको समितिले उल्लेख गरेको छ । त्यतिबेला नयाँ बोइलर जडान गर्ने काम छ महिनाभित्र सम्पन्न गर्नुपर्ने सहमति भएको थियो । त्यसै गरी प्लान्टको क्षमता दैनिक नौ सय किलोलिटरबाट वृद्धि गरी एक हजार पाँच सय किलोलिटर बनाउने सहमति भएकोमा हालसम्म कुनै प्रगति भएको नदेखिएको समिति संयोजक रानाले बताउनुभयो ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले पनि उद्योगबाट उत्सर्जन हुने धुलो, धुवाँ तथा ध्वनिको मापन गरी स्वअनुगमन प्रतिवेदन हरेक छ महिनामा वातावरण विभाग तथा स्थानीय तहमा पठाउन निर्देशन दिएकामा हालसम्म कुनै पनि प्रतिवदेन नबुझाएको देखिएको पनि रानाले बताउनुभयो । त्यसै गरी उद्योगले उद्योगबाट निस्केको पानीको स्वअनुगमन मूल्याङ्कन प्रतिवेदन पनि नगरपालिका वा विभाग कतै पठाएको छैन ।