• १२ वैशाख २०८३, शनिबार

काठमाडौँले थामेको मिथिला संस्कृति र सभ्यता

blog

काठमाडौँ राजधानी मात्र नभई सांस्कृतिक र कला, सम्पदा, संस्कृतिको विरासतयुक्त सहर हो । यही उपत्यकाका हनुमानढोका क्षेत्र, पाटन क्षेत्र र भक्तपुर क्षेत्रका कला, संस्कृति, सम्पदा विश्वसम्पदामा सूचीकृत छन् । जहाँका कला, संस्कृति र सम्पदामा मिथिला प्रभाव प्रस्ट पाइन्छ । करिब सात सय वर्षदेखि नै तिरहुत राज्यको नामबाट नेपालमण्डल (काठमाडौँ उपत्यका) सँग गहिरो सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, साहित्यिक, वैवाहिक तथा प्राज्ञिक सम्बन्ध कायम राख्दै आएको पाइन्छ । 

तिरहुतेको नेपाल उपत्यकामा रहेको उपस्थिति र उनीहरूको प्रभुत्वबारे भक्तपुर जिल्लाको दधिकोटस्थित चङ्खुतीर्थ चरखण्डेश्वरको तेह्रौँतेथानले धेरै तथ्य उजागर गर्छ । चङ्खुतीर्थ चरखण्डेश्वरदेखि करिब ३० मिटर पश्चिममा खेतको माझमा रहेको ठुलो ढिस्कोलाई स्थानीयले ‘तेहाँतेथान’ भन्ने चलन रहेको छ (श्रेष्ठ, डा.पुरुषोत्तम लोचन, अनन्तलिङ्गेश्वर एक सांस्कृतिक अध्ययन, २०६४) । यो तथ्य नेपालमण्डलसँग जोडिएको तिरहुतको इतिहास जान्न उत्सुक हुनेका लागि महìवपूर्ण तथ्य रहेको छ । यसबाट तत्कालीन समयमा नेपाल–उपत्यकामा ‘डोय’ मात्र नभएर तिरहुतिया, तिरहुते नामसमेत प्रचलनमा रहेको आभास गराउँछ । 

मिथिला वैदिक कालदेखि नै विद्या, दर्शन र संस्कृतिको केन्द्रका रूपमा परिचित थियो । राजा जनकको समयदेखि नै यो क्षेत्र वैदिक शिक्षा, न्यायशास्त्र, तर्कशास्त्र र साहित्यका लागि प्रसिद्ध रहेको थियो । सुषुप्त अवस्थामा रहेको मिथिलाको यो गौरव गर्न लायक मूर्त र अमूर्त सम्पदा पूर्वमध्यकालमा पुनः प्रस्फुटन भई फुल्ने फल्ने अवसर पाएको तथ्य धेरैलाई नयाँ लाग्न सक्छ । 

पूर्वमध्यकालमा वैदिक मिथिलाको भूमिमा चालुक्य वंशका शासकहरू दक्षिण भारतको कर्नाटकबाट आई तिरहुत राज्यको नामले नयाँ शासन प्रणालीको आधारशिला खडा गरेका थिए । कर्नाटकको राजकुमार विव्रmमादित्य चतुर्थले १०७१ ई. मा उत्तरी भारतको विजय यात्रा गरेका थिए । सोही विजय यात्राको सिलसिलामा सेनाहरूले बङ्गालमा सेन वंशको स्थापना गरेका थिए भने अन्य केही सेना प्रमुख सिम्रौनगढमा आएर मिथिला क्षेत्रलाई समेटेर तिरहुत राज्यव्यवस्था स्थापना गरेका थिए, (खनाल, मोहनप्रसाद, सिमरौनगढको इतिहास, २०५६) ।

एघारौँ शताब्दीको अन्त्यमा अर्थात् ९२८ वर्षपहिले सन् १०९७ (विसं ११५४) मा नान्यदेव चालुक्य सम्राट् विक्रमादित्य–छैटौँको सेनानायक भएको र त्यसपछि सानो सामन्त राजाका रूपमा आफूलाई सामन्त भन्ने देखाउँदै भारतको सीतामढी जिल्लाको पुपरीनजिक रहेको पहिले नानपुरलाई राजधानी बनाई र पछि मिथिलालाई एकीकरणपश्चात् सिम्रौनगढलाई राजधानी बनाई शासन गर्न थालेको प्राप्त अंधराठाढीको अभिलेखबाट सिद्ध हुन्छ । नान्यदेवको विजय र मिथिलामा कर्णाटवंशको तिरहुत राज्य स्थापनाको खुसीमा नान्यदेवको मन्त्री श्रीधर दासले अंधराठाढीको कमलादित्य स्थानमा विष्णुको मूर्ति (कालो ढुङ्गा/पाषाण) कुदिएको ढुङ्गाको पादपीठमा श्लोक अङ्कित गराएका थिए ।

तिरहुतको राजधानी नगर सिम्रौनगढमा गयासुद्दीन तुगलकको आक्रमणपश्चात् राजा हरिसिंहदेव सन् १३२५ मा काठमाडौँ उपत्यका आउने व्रmममा राजाको सिन्धुली तीनपाटनमा मृत्यु भएको थियो (ज्ञवाली, सूर्यविव्रmम, मल्लकालीन नेपाल तथा उसको छिमेकी राज्य, प्रज्ञा, वर्ष ६, अङ्क २, २०३३) ।

तिरहुत दरबारमा आश्रित विद्वान् मण्डली, सहयोगीसहित भारदारहरू नेपालमण्डल भित्रिने क्रममा लेखकको पिता पुर्खासमेत नेपालमण्डलमा आई जयस्थिति मल्लको शासनकालमा रचना भएको मानव न्यायशास्त्र संहिताकरणसमेत गरेको इतिहास अझै जीवित छ । नेपालमण्डलका तत्कालीन राजा जयस्थिति मल्लले न्याय प्रशासनको उद्देश्यका लागि विसं १४३६ (सन् १३८०) (नेपाल संवत् ५००) मा वा यसै सेरोफेरोमा भादगाउँ÷ख्वःप स्थित एक कानुनी संहिता लेख्न लगाएका थिए, जसलाई सामान्यतः मानव न्यायशास्त्र भनिन्छ । यो संहिता कीर्तिनाथ उपाध्याय, रामनाथ झा, रघुनाथ झा, श्रीनाथ भट्ट र महिनाथ भट्टले मसौदा गरेका थिए (नेपाल, ज्ञानमणि, न्यायविकासिनी (मानव न्यायशास्त्र) का रचनाकार को हुन् ?, गरिमा १५८ पूर्णाङ्क, २०५२) ।

तिरहुतिया ब्राह्मणसहित अन्य नेपालमण्डल भित्रिएपछि तिरहुतको भाषा, संस्कृतिको गहिरो प्रभाव नेपालमण्डलमा देखा पर्न थाल्यो । अझ तत्कालीन मल्ल राजाको वैवाहिक सम्बन्ध तिरहुतका राजकुमारीसँग हुन थालेपछि मैथिलीको प्रभाव नेपाल उपत्यकामा देखा पर्नु स्वाभाविक थियो । त्यसपछि हाल भारतको विहार र नेपालको तराई क्षेत्रमा मुसलमानको हमला हुँदा जीवन रक्षार्थ वा धर्म संस्कृति रक्षाका लागि काठमाडौँ उपत्यकामा आश्रय लिएका मैथिली विद्वान्हरूका कारण मिथिला तथा मैथिली भाषाको प्रभाव नेपालमण्डल र नेपाल भाषामा अझ बढी परेको देखिन्छ । 

गोपालराज वंशावली, केशर पुस्तकालयमा संरक्षित दस्ताबेज, मध्यकालीन शिलालेख, राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत पुराना ग्रन्थ तथा नाटक, नेपालमण्डलमा गाइने दाफा भजनले नेपालको गौरवशाली इतिहासमा मिथिलाको योगदानलाई संस्मरण गराउने साक्षीहरू हुन् । 

सिम्रौनगढको पतन, (करिब सन् १३२५ मा गयासुद्दीन तुगलकको आक्रमणपछि) केवल राजनीतिक परिवर्तन मात्र थिएन, यसले सांस्कृतिक स्थानान्तरणको ठुलो प्रक्रियाको सूत्रपात गरेको थियो । यही घटनापछि मैथिली सभ्यता क्रमशः नेपालमण्डलमा प्रवेश र विस्तार भयो । काठमाडौँ उपत्यकाले मिथिला सभ्यता, संस्कृति र विद्वत् परम्परालाई जोगाउन खेलेको भूमिका ऐतिहासिक दृष्टिले अत्यन्त महìवपूर्ण मान्न सकिन्छ । नेपालका दुई प्रमुख सांस्कृतिक क्षेत्र मिथिला र काठमाडौँ उपत्यका (नेवार सभ्यता) बिचको सम्बन्ध केवल भौगोलिक मात्र नभई गहिरो सांस्कृतिक, धार्मिक र बौद्धिक आदानप्रदानमा आधारित रहेको थियो । 

मध्यकालीन अवधिमा विभिन्न राजनीतिक अस्थिरता, आक्रमण तथा सामाजिक परिवर्तनका कारण मिथिलाको शैक्षिक तथा सांस्कृतिक संरचनामा ह्रास आउन थाल्यो । यही समयमा काठमाडौँ उपत्यका विशेष गरी मल्लकाल कलात्मक, धार्मिक र बौद्धिक उन्नतिको केन्द्रका रूपमा विकास हुँदै थियो । यसले मिथिलाका विद्वान्, कलाकार र पुरोहितलाई आश्रय प्रदान गरेको सहजै बुझ्न सकिन्छ ।

मल्ल राजाहरूले हिन्दु धर्म, तन्त्र, संस्कृत साहित्य तथा दर्शनको संरक्षणमा विशेष चासो राख्दथे । मिथिलाका पण्डितलाई काठमाडौँमा आमन्त्रण गरी उनीहरूलाई राजदरबारमा सम्मानजनक स्थान दिइएको थियो । मिथिलाका ब्राह्मणहरू विशेषतः मैथिल ब्राह्मण काठमाडौँमा पुजारी, ज्योतिषी तथा शिक्षकका रूपमा स्थापित भएका थिए । यसले मिथिलाको विद्या र परम्परालाई काठमाडौँमा निरन्तरता दिन सहयोग पु-याएको थियो ।

सिम्रौनगढ न्याय दर्शनको प्रमुख केन्द्र थियो । सिम्रौनगढमा विकसित न्यायशास्त्रका ग्रन्थ र परम्पराहरू काठमाडौँमा आज पनि सुरक्षित छन् । भक्तपुर, कान्तिपुर र ललितपुर दरबार र मठमन्दिरहरूमा यी ग्रन्थहरूको पाठ, शास्त्रार्थ तथा गायन एवं मञ्चन परम्पराका कारण जीवन्तता तथा निरन्तरता पाएकै पाइन्छ । यदि काठमाडौँले यस्तो सम्पदाको संरक्षण नगरेको भए, मिथिलाका धेरै बौद्धिक सम्पदा सायद लोप भइसकेका हुन्थे ।

काठमाडौँ उपत्यकामा हिन्दु तथा बौद्ध धर्मको समन्वयात्मक विकास भएको थियो । मिथिलाका धार्मिक संस्कार, पूजा विधि र तन्त्रमन्त्र परम्परा काठमाडौँमा पनि अभ्यास गरिन थालिएको थियो । विशेषतः विवाह, श्राद्ध तथा अन्य संस्कारमा मैथिली परम्पराको प्रभाव आज पनि काठमाडौँमा देख्न सकिन्छ । यसले मिथिलाको जीवित संस्कृतिको संरक्षणमा महìवपूर्ण भूमिका खेलेको छ । 

संस्कृत तथा मैथिली ग्रन्थहरूको प्रतिलिपि तयार गर्ने, संरक्षण गर्ने तथा अध्ययन गर्ने कार्य काठमाडौँका विद्वान्ले गरेका थिए । यसले मिथिला साहित्यको निरन्तर अस्तित्व सुनिश्चित गरेको थियो । मिथिलाको कला विशेषतः मिथिला चित्रकला र काठमाडौँको नेवारी पौभा कलाबिच आदानप्रदान भएको देखिन्छ । शिल्पकला, मूर्तिकला, वास्तुकला, धार्मिक चित्र, मन्दिर निर्माण शैली तथा खानपान रहनसहन, बाजागाजालगायत धेरै कुरामा समानता पाइन्छ । यसले दुवै क्षेत्रको सांस्कृतिक समृद्धिमा योगदान पु-याएको अनुभूत गर्न सकिन्छ ।

काठमाडौँ उपत्यकाले केवल आफ्नै सभ्यता मात्र विकास गरेन, बरु सिम्रौनगढ केन्द्रित मिथिला जस्ता प्राचीन र समृद्ध सभ्यताको संरक्षणमा पनि महìवपूर्ण भूमिका निर्वाह गरेको थियो । मल्लकालीन शास्त्रार्थ परम्पराको संरक्षण, विद्वान्को आश्रय, धार्मिक सहिष्णुता र सांस्कृतिक आदानप्रदानका कारण तिरहुतको इतिहास, ज्ञान र परम्परा आजसम्म जीवित रहेको छ । 

नेपालमण्डलको सांस्कृतिक पुनर्जागरणमा तिरहुतको अग्रणी भूमिका रहेको छ । सिम्रौनगढका किल्लाबाट प्रभावित भएर उपत्यकाका राजाले विभिन्‍न किल्लाको निर्माण गराएका थिए । उपत्यकाका मठमन्दिर तथा पाटीपौवाको निर्माणमा समेत सिम्रौनगढ सभ्यताको प्रभाव परेको थियो । तलेजु भवानीलाई सिम्रौनगढबाट ल्याई यहाँ स्थापित गरिएको थियो । उपत्यकाको साहित्य र सङ्गीतमा मैथिली भाषाको व्यापक प्रयोग हुन्थ्यो । मल्ल राजाले त मैथिली भाषामा नाटकसमेत लेखेर मञ्चन गराउँथे । उपत्यकाका विभिन्‍न मन्दिरको नित्य पूजा तथा अन्य धार्मिक कार्यका लागि मल्ल राजाले मैथिली ब्राह्मणको नियुक्ति गरेका थिए । 

तिरहुत र नेपालमण्डलबिचको सात सय वर्ष पुरानो सांस्कृतिक सम्बन्धलाई नागरिक तहमा सद्भाव र सम्मान भाव जगाउन जरुरी भइसकेको छ । अनेकतामा एकता मजबुत गरी नेपाललाई ‘साझा फूलबारी’ का रूपमा हुर्काउन मध्यकालीन नेपालमण्डल र तिरहुत क्षेत्रबिच विकसित सम्बन्धलाई आदर्श रूपमा अनुकरण गर्नु पर्छ ।