नुवाकोटको बट्टार र विदुर बजारको क्षेत्रभन्दा निकै फरक पहिचान बोकेको छ– कुटुमसाङले । प्राकृतिको न्यानो सुसेली बहन्छ डाँडाकाँडाको टुप्पोमा । त्यो शीतल हावा, हरियाली वातावरण आँखा अगाडि आइरहन्छ । बाटोछेउमा रहेको अजङ्गको बुढो रुखले इतिहास बोके झैँ देखिन्छ । आफैँलाई प्रश्न गरेँ, “यी रुखलाई साथ र सास फेर्न कसले सिकायो होला ? उतिबेलाको समयमा त्यहाँका मानिसले जस्तै आस्था र विश्वासको कथा बोकेका छन्, गुराँस र धुपीका रुखले अझै पनि त्यो सुन्दर ठाउँमा ।”
नुवाकोटको ढिकुरे बजारबाट तादी नदीको किनारैकिनार आँपरहतिर लम्किँदै छौँ साहसिक यात्रामा हामी । नागबेली बाटो सहजै पार गर्दैगर्दा मनमा उब्जिन्छन् अनौठो भावना । पौरखी किसान अझै पनि आफ्नै कर्ममा रमाएका छन्, बाटोछेउका तरेली परेका फाँटमा । बिहानी ९ बज्नै आँटेको छ तर पनि ती किसान खेतको डिलमा मोती बगाउँदै आफ्नो कथा बुन्दै छन् लामो अन्तरालसम्म आँपरहको फाँटमा । चाउरी र मुजाले खुम्चेका गालामा न थकान देखिन्छ न त पीडा । देखिन्छ त केवल आशा र अपेक्षा आफ्ना आवश्यकता पूरा गर्दै मानव जीवनमा प्राण भर्ने खाद्यान्नको उत्पादनको आत्मविश्वास । रहस्यमय लाग्छ उनीहरूको मुस्कान । परिश्रमको फल र सङ्घर्षको मिठास देख्दा अचम्मित हुन्छु म । मनमनै गुनगुनाउँछु बाल्यकालमा पढेको कविताका हरफ–
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।
नेपाली ग्रामीण परिवेशमा किसानको जीवनले फेरि मेहनतको गहिरो अर्थ सिकाउँछ त्यो अनुपम ठाउँमा । केहीबेर उनीहरूसँगको गफगाफको आफ्नोपनमा रमाएर पुनः लम्किन्छौँ उकालो बाटोतिर । समुद्रटार माथि माथि उक्लिँदै छ गाडी बिस्तारै बिस्तारै तर मनचाहिँ झुलेको धानका बालामा भुलेको छ उतैतिर । निकै तलबाट सुसेली रहेको छ तादीखोला आफ्नै तालमा । त्यो पल लाग्छ यदि जीवन यस्तै सहज र सरस हुँदा कस्तो हुन्थ्यो होला नि ! तादीखोला पछ्याउँदै अघि बढ्दा पुगिन्छ, धार्मिक तथा विश्वासको शिखर बोकेको दुप्चेश्वर महादेवको मन्दिर । हरियाली वातावरण र खोला किनारबाट अलि माथि सिँढी चढेर हिँड्दा मन आनन्दित हुन्छ निरन्तर ।
नुवाकोटको सदरमुकामबाट लगभग ४९ किलोमटर उत्तरपूर्वमा पर्दछ यो प्राचीन मन्दिर । लामो समयसम्म सन्तान नहुने दम्पतीले मन्दिर दर्शन गर्दा सन्तान प्राप्त हुने जनविश्वास रहेको त्यहाँको बासिन्दा उमेश आचार्यले बताउनुभयो । उहाँका अनुसार साउनमा महादेवको विशेष पूजा गरिन्छ । अर्कातिर हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन विशाल मेला लाग्ने गरेको राम्तीका बासिन्दा हरिराम ढकाल बताउनुहुन्छ । नुवाकोटकै प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको यो मन्दिर ठुलो ढुङ्गे पहराको ओढारको बिचमा रहेको छ । वरिपरि ढुङ्गापहरा र डरलाग्दा पत्रेढुङ्गाका सिँढी पार गर्दै बल्ल पुगिन्छ मन्दिर ।
भगवान् महादेवको भक्तका लागि अनुपम र रहस्मयी छ– यो मन्दिर । कम्तीमा पनि २० मिनेट पैदल हिँडेपछि बल्ल घुलमिल हुन्छौँ त्यहाँको हावापानीसँग । लखतरान हुँदै माथि पुग्दा आँखाबाट हर्षका आँसु झर्छन् त्यसै त्यसै ।
फटाफट गाडीबाट ओर्लिएर पहिले तादीखोलाको किनारतिर लम्कियौँ । निलो कलकल बगेको खोलाको पानीभित्र छिर्दा धेरै अघि बाल्यकालमा नुहाएको पवित्र वराहक्षेत्रको स्मृति सलबलायो मनमस्तिष्कमा । मनमा डर र कौतूहल दुवै उब्जिए । स्नान गर्दा खुट्टा चिप्लिएर लड्दा बुवाले फकाउँदै भन्नुभयो, “डरलाई जित्नु पर्छ नानी ।” अझै पनि बाको हात समाउँदै लखतरान हँुदै सिँढी चढेको सानी बालिकाका रूपमा आफूलाई महसुस गरेँ ।
गोसाइँकुण्डको तीन सय मिटरमाथि रहेको सूर्यकुण्डबाट निस्किएको नदी सूर्यमतीको चलनचल्तीको नाम तादी नदीका रूपमा चिनिन्छ । साँच्चै तादीखोलामा उभिँदा पानीको सुसेलीसहितका लहरसँग आनन्दित हुँदा समय बितेको पत्तै पाइन्न ।
“ए मामु, हजुर कता हराएको अनि के गर्दै हुनुहुन्छ ?” खोलाको डिलबाट छोरी कराउँछे ।
“मामु आफ्नो खुट्टा चिसो पानीभित्र कसरी राख्ने ? म त नुहाउँदिनँ है यहाँ, नरिसाउनु है !”
छोरीको जिद्दीलाई कसरी जित्ने ?
म हास्ँदै भन्छु, “चिन्ता नगर, चिन्तित नबन, म छु नि नानी ।” समयले फेरि बाबाको अँगालोको बालापनमा पु¥यायो । छोरीको हात नजिकैबाट समाउँदै पानीमा स्नान गर्दाको पल आत्मिक अनुभूतिको कथा बन्नु स्वाभाविक नै लागिरह्यो । लामो लाइन बसाइपश्चात्को मन्दिर दर्शनमा आध्यात्मिक अनुभव मात्र भएन आस्थाको सङ्गमको दियो पनि बलिरह्यो त्यो क्षण । अटल विश्वाससाथ शिखरमा पुग्दा पाइलाको थकान नै बिर्साइदिन्छन् त्यो अनुपम समयमा । अब मन्दिरको माथिबाट देखिन्छ फराकिलो फाँट । चारैतिर धानका बाला झुलेको दृश्यले मनमुटु नै लोभ्याउँछ । जिरामसिनो चामलको उत्पादन र बजार राम्रै पाएकोमा दङ्ग देखिन्छन् व्यवसायी नवराज ढकाल ।
बिहानको खाना भन्ने कि दिउँसोको खाजाको बेला पनि टरिसकेको हुँदा भोकले जिस्काउँछ बेस्सरी । कटक्क पेट काटिसक्यो तर पछि मगमग बास्ना आउने स्वादिलो खाना, प्राङ्गारिक तरकारी, लामो लामो ठुलो पत्ताको कालो रायोको साग, टमाटर र टिमुरको अचार अझै पनि जिब्रोमा टक्क रहेकै छ । लोकल बासमती र जिरामसिनो अरू साथीले पनि स्वाद लिँदै खाँदा मुहारमा प्रसन्नता देखिन्छ । पहिलेको जस्तो बिव्रmीवितरणमा समस्या नरहेको र बजारमा माग पु¥याउन सकिएकोमा आफूलाई किसानकै रूपमा चिनाउँदा गर्व महसुस गर्नुहुन्छ– रमेश ढकाल ।
मनले नमाने पनि गाउँले परिवेशमा बाँचेको त्यो हरियाली ठाउँमा धेरैबेर बस्न पाएनाँै । पहाडको बाटो सानो छ तर अनौठो ढुङ्गेनीडाँडाले भरिभराउ देखिन्छ । उकालो लागेपछि पुनः यात्रामा लम्किन्छौँ माथितिर । राम्तीबाट गाडी पूर्वतिर कद्दै छ । जङ्गलको हरियाली दृश्य र झ्याम्म परेका ठुलठुला रुखलाई पछि पार्दै द्रुत गतिमा अगाडि बढिरहँदा आफ्नो मन त्यतै कतै अलमलिएको छ । तादीको नदी तटका फराकिला फाँटले मन लोभिँदै छन् । नदी किनारमा देखिन्छ पौडी खेल्ने व्रmममा रमाएका बालकको चञ्चलता । न आव्रmोश छ न त निराशा । गाउँले जीवनको सरलता छ । त्यो सङ्लो नदी कञ्चन लहरासाथ बग्दै छ आफ्नै तालमा । खोलाछेउमै अझै पनि घाँसको मैदान र डल्ले घाँस प्रशस्त देखिन्छ परसम्म ।
सफा, निलो र निर्मल आकाश देखिन्छ अमित । चौतारीमा बसेर सुरुप सुरुप चियाको चुस्की लिँदा मन आनन्दित हुन्छ लामो अन्तरालपछि । बहँदै छ शुद्ध हावाको सुसेली । प्राकृतिक रूपमा केही समय प्रदूषित सहरबाट बाहिरिँदा छोटो तर नजिकको यात्रामा मन्त्रमुग्ध छौँ हामी तर पनि फेरि त्यतैबाट भिरैभिर, ढुङ्गेनी कठिन बाटातिर लम्किदा मनमुटु काप्छ आफैँ ।
चिसो हावाको झोक्का बहँदा मनभित्रैबाट तरङ्गित हुन्छ, प्रकृतिको शान्त मुस्कानमा । कलिलो घामको किरण नागबेली हरिया पहाडबिचको डाँडामा मुस्कुराएको छ । केसरी रङको सुनौलो घामलाई देख्दा मनमोहक देखिन्छ, सुन्दर पहाडी गाउँ कुटुमसाङ । वरिपरि मन हर्ने डाँडा देखिन्छन् नजिकबाट । प्रकृतिको अनुपम काखमा चारैतिर रमणीय दृश्यमाझ उभिएको छ कुसुमाङ (कुटुमसाङ) ।
निकै माथि पुगेपछि सेतो गुम्बा र स्तूप लहरै थपक्क बसेका छन् मन हर्ने डाँडामा । ओहो ! वातावरण त चिसो छ । मुहार, हात, नाक र शरीर त स्याँठले निलेको छ तर मन र आँखामा थकान छैन । ओहो ! मन त हर्षले तात्यो नि ! उत्तरतिरका हिमाल सेता निक्खर सेतो देखिन्छ लस्करै ।
ओहो ! सेताम्मे हिमाल !
सानो पहाडी ठाउँमा नागबेली पहाडमाथि निलो आकाश स्वच्छ देखिन्छ असीमित । अझै पनि लाङटाङको लिरुङ र दोर्जे लाक्पा हिमाल हेर्न आउनेको भिड निरन्तर बढेको छ, हरेक नववर्षमा ।
त्यहाँ उभिँदा उत्तरतिर फैलिएका हिमालका शृङ्खला सेताम्मे देखिन्छन् समिपैमा । त्यो अग्लो ठाउँबाट हिमशृङ्खला समिपै उभिएको अनुभव र अनुभूतिले त्यसै त्यसै आनन्दमा बगेको छु, बादलसरी । प्रकृतिको सौन्दर्यमा लुटपुटाउन मन लाग्छ, बालक जस्तै बनेर किन किन ? प्रकृतिसँगको सरस तालमेल हो कुटुमसाङ । आफ्नो रुचि र उमेर अनुसार जीवनमा रहर पनि बाक्लिँदै जान्छन् । नौलो अनुभूति, विभिन्न रङका चराचुरुङ्गी र सल्लाका अनेकाँै जातका रुख पर्खिबसेका छन् । विशेष त साहसी यात्रामा आनन्दित र स्वतन्त्र हिँड्नेका लागि सङ्घर्षको कथा झैँ लाग्छ, त्यो हरियाली ठाउँ ।
मनमा आनन्द र शरीरमा नौलो किसिमको ऊर्जा र शक्ति प्राप्त हुन्छ । प्रकृतिसँग बितेका पल याद गर्दै जीवनको सन्तुष्ट नै के पो रहेछ जस्ता विचारले अमित छाप छोडे आफूभित्र ।
जनजातिमा पनि विशेषतः तामाङ र शेर्पा समुदायको बाक्लो बसोबास रहेको पाएँ । शिक्षा र स्वास्थ्यमा चाहिँ अरू क्षेत्र हेरी निकै पछाडि परेको देख्दा अवस्था सोचेभन्दा बढी नै गम्भीर रहेछ । तमू ल्होसार र सोनाम ल्होसार मूल चाडपर्व हुन् त्यो अनुपम ठाउँको । पदयात्रीका लागि त छोटो दुरीको यो सुनौलो गन्तव्य रहेछ । एक र दुई दिनको यात्रामा त्यहाँको वातावरण र मौसमसँग घुलमिल हँुदा पर्यटक आनन्दित हुन्छन् ।
भविष्यको लामो पदयात्राको तयारीमा रहेका पर्यटकका लागि त पहिलो रोजाइमा पर्ने गन्तव्य हो । बिहानै गणेश हिमाल र लाङटाङ हिमाल सेताम्मे र सुन्दर रङमा पोखिएका छन् परसम्म । समृद्धि सतहबाट करिब दुई हजार ४७० मिटरको उचाइमा अवस्थित छ कुटुमसाङ । लालीगुराँसले आत्मीयता जोडेको पाएँ पहाडी भेगमा । गोसाङकुण्ड होटेलकी सञ्चालक मीनमाङ तामाङ मुस्कुराउँदै भन्नुभयो, “वनभरि फुलिदिने लालीगुराँसले विशेषतः चैत, वैशाख र जेठमा वनपाखालाई ढकमक्क बनाइदिन्छ बाटोभरि ।”
विशेष गरी कुटुमसाङमा मुख्यत सेतो रङको गुराँस हुने भए पनि रातो, निलो र गुलाबी रङको पनि पाइने दुप्चेश्वर गाउँपालिका–२, कुटुमसाङका निमाङ शेर्पा बताउनुहुन्छ । गुराँसको वन पनि अत्यधिक रहेकाले अर्कोपालि चाहिँ गुराँस फुलेकै बेलामा एक रात बस्ने गरी आउने सोचसाथ फेरि यात्रातिर लम्कियौँ । झ्याम्म धुपीका बुटा समाउँदै तेर्सो तेर्सो बाटोतिर छौँ हामी । निकै माथिबाट देखिन्छ ठुलो गाउँबेँसी तल तल ।