श्री ५ त्रिभुवन वीरविक्रम शाहको जन्म १९६३ साल असार महिनामा भएको थियो । पाँच वर्षको उमेरमा त्रिभुवन राजा भएका थिए । १९३२ मा जन्मिएका पृथ्वी वीरविक्रम शाहको मृत्युपछि पाँच वर्षको उमेरमा श्री ५ त्रिभुवनको राज्यारोहण १९६८ सालमा गरिएको थियो । त्यसो त पृथ्वी पनि छ वर्षको उमेरमा राजा बनेका थिए । त्रिभुवन १९६८ सालदेखि २०११ सालसम्म राजा भएका थिए ।
त्रिभुवनको पालामा श्री ३ महाराज चन्द्रशमशेर (१९५८–१९८६), भीमशमशेर (१९८६–१९८९), जुद्धशमशेर (१९८९–२००२), पद्मशमशेर (२००२–२००५) र मोहनशमशेर (२००५–२००८) प्रधानमन्त्री थिए । राजा त्रिभुवनको समयमा सबभन्दा बढी प्रधानमन्त्री भई श्री ३ चन्द्रशमशेरले देश चलाएका थिए । उनैले कमारा कमारीले रकम बुझाएर मुक्ति पाउने कानुन जारी गरेका थिए । त्यस्तो कानुन जारी भए पनि उनीहरूले मालिकलाई बुझाउने रकम नहुँदा कमारा प्रथा हट्न सकेन । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ साल वैशाख १ गतेबाट दासप्रथाको उन्मूलन गरे । दासप्रथा उन्मूलनको घोषणा चाहिँ १९८१ मङ्सिर २४ गते गरेका थिए । त्यसबेला दासदासीको सङ्ख्या ५९ हजार ५७३ थियो । मालिकको सङ्ख्या १५ हजार ७१९ थियो । त्यसबेला मालिकलाई ३६ लाख ७० हजार रुपियाँ क्षतिपूर्ति तिरिएको थियो । यसरी क्षतिपूर्ति तिरेर दासमुक्त गरिएकाको सङ्ख्या ५१ हजार ७८३ जना थिए ।

१९८४ सालमा श्री ५ युवराजाधिराजको चूडाव्रतबन्धको खर्च फाँटबारी ।
त्यसरी दासत्वबाट मुक्त नेपालीलाई तराईको चारकोसे झाडी नजिकै भिक्षाखोरी लगेर बस्ती बसाइएको थियो । अमलेख गरिएका ठाउँमा बसोबास गरिदिएको भिखाखोरीको ठाउँलाई नै अमलेखगन्ज नामकरण गरिएको थियो । सो ठाउँ हाल बारा जिल्लामा पर्छ ।
विसं १९४३ मा श्री ३ वीरशमशेरको पालामा हनुमानढोकाबाट राजालाई नारायणहिटीमा सारिएको थियो । कोतपर्वमा प्रधानमन्त्री चौतरिया फत्तेजङ्ग मारिएपछि जङ्गबहादुरले सो दरबार रणोद्दीप सिंहलाई दिएका थिए । जङ्गबहादुरको मृत्युपछि रणोद्दीप सिंह श्री ३ तथा प्रधानमन्त्री बने । रणोद्दीप सिंहले हनुमान ढोकाबाट बालक राजा पृथ्वी वीरविक्रमको सुरक्षाका लागि आफ्नै निवास कीर्ति मन्दिर लगेर राखेका थिए । १९४२ सालको पर्वमा धीरशमशेर राणाका छोराहरूले काका श्री ३ रणोद्दीपको हत्या गरी वीरशमशेर श्री ३ बनेपछि धौकल सिंहको कीर्ति मन्दिर भत्काई अर्कै दरबार बनाए । त्यस नारायण मन्दिरअगाडि परापूर्वकालदेखिको धारा अर्थात् ‘हिटी’ छ । यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीरशमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ बन्न पुग्यो । श्री ३ वीरशमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीरविव्रmमसँग भएपछि सो दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिएका थिए ।
मेरो बुबा शेरमान जोशी कौसीतोषाखानाको हाकिम हुँदाखेरी यस्ता ऐतिहासिक तथ्य सङ्कलन गर्नुभएको थियो । कौसीतोषाखानाबाट श्री ५ महाराजधिराजको प्रमुख स्वकीय सचिवालयमा पठाइएको विवरण यहाँ प्रस्तुत छ–