• १२ वैशाख २०८३, शनिबार

ठुला भूकम्पको सामना

blog

मानिसले अनुभव नगर्ने अत्यन्त ससानादेखि ठुला विनाशकारी भूकम्प गइरहन्छन् । सामान्यतया ३.५ मानभन्दा साना भूकम्प मानिसले थाहा पाउँदैनन् । छ मानभन्दा सानो भूकम्पले खासै क्षति पु-याउँदैन । भूकम्पबाट हुने क्षति भूकम्पको मानका अलावा निर्मित संरचनाको गुणस्तर, स्थानीय भौगर्भिक अवस्था, भूकम्पको केन्द्रविन्दुको गहिराइ, भूकम्प गएको समय तथा जनचेतनाको स्तरलगायतका कुराले पनि निर्धारण गर्दछ । ठुला तथा महाभूकम्पका कारण मानवनिर्मित संरचनामा क्षति पुग्ने मात्र नभई आगजनी, पहिरो, हिमताल विस्फोट, जमिन तरलीकरण र समुद्री किनारका देशमा सुनामी आउनेलगायत प्रकोपसमेत उत्पन्न हुने भएकाले क्षतिका दृष्टिले अन्य विपत्का तुलनामा भूकम्पलाई सबैभन्दा विनाशकारी प्रकोप मानिन्छ ।

भौगर्भिक अवस्थिति र भौगोलिक बनावटका कारण मात्र होइन, नेपालले अव्यवस्थित र बढ्दो सहरीकरण तथा पछिल्लो समय विकास र सुविधाका खातिर बिनाअध्ययन निर्माण गरिएका सडक सञ्जालले पनि थप विपत् निम्त्याएका छन् । हामीले बर्सेनि बाढीपहिरो, आगजनी, लु तथा शीतलहरलगायतका विपत्का साथै भौगर्भिक अवस्थितिका कारण समय समयमा ठुला र महाभूकम्पको विपत्समेत भोग्नु परेको छ ।

बढ्दो विपत् 

पछिल्लो समय विश्वमै विभिन्न प्रकारका प्राकृतिक तथा गैरप्राकृतिक विपत्का घटना बढेसँगै जनधनको क्षतिसमेत बढ्दै छ । राज्यले विकासनिर्माणमा गर्नुपर्ने लगानीसमेत विपत् व्यवस्थापनमा खर्च गर्नु परेको छ । नेपालमा गत वर्ष (२०८२ सालमा) मात्र करिब सात हजार ७१६ विपत्का घटनाका कारण ४९६ जनाको ज्यान गएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ । कतिपय गैरप्राकृतिक प्रकोप वा विपत्लाई हामी सचेत भएमा धेरै हदसम्म कम गर्न वा रोक्न सकिन्छ । प्राकृतिक विपत्लाई रोक्न नसके पनि राम्रो पूर्वतयारी गर्न सकियो भने धेरै हदसम्म क्षति कम गर्न सकिन्छ । तत्काल हेर्दा पूर्वतयारीका व्रmममा गरिएको लगानी फजुल खर्च जस्तो देखिए पनि विपत् पुनर्लाभका लागि गरिने खर्चको तुलनामा त्यो लगानी धेरै गुणा कम हुन आउँछ । 

भूकम्पको पूर्वानुमान

भूवैज्ञानिकको लामो समयदेखिको सतत प्रयासका बाबजुद भूकम्पको विश्वसनीय पूर्वानुमान (किटानीसाथ भूकम्पको मान, केन्द्रविन्दु र आउने समय यकिनसाथ भन्न) गर्न सकिएको छैन । भूकम्पको पूर्वानुमान सम्भव नभएपछि वैज्ञानिकको ध्यान पूर्वसूचना प्रणालीतर्फ मोडिएको छ तर यो प्रणाली पनि त्यति विश्वसनीय र प्रभावकारी पाइएको छैन । भूकम्प गएपछि भूकम्पका कारण उत्पन्न हुने विभिन्न तरङ्गमध्ये सबैभन्दा तीव्र गतिको तर कम शक्तिशाली तरङ्ग प्राप्त हुनासाथ ती तरङ्गको प्रशोधन तथा विश्लेषणबाट विनाशकारी तरङ्ग आइपुग्नुअघि भूकम्प गएको सूचना दिने प्रणाली नै पूर्वसूचना प्रणाली हो । यो प्रणाली दोषरहित भने छैन ।

पूर्वसूचना प्रणालीका लागि घना भूकम्पीय सञ्जाल, स्वचालित डाटा रेकर्डिङ, प्रशोधन र विश्लेषण तथा सूचना सम्प्रेषणका लागि छिटो र भरपर्दो सञ्चार प्रणाली आवश्यक हुन्छ । पूर्वसूचना प्रणालीमा यथाशक्य छिटो सूचना दिने उद्देश्यले केन्द्रविन्दुनजिकका सबैभन्दा छिटो उक्त भूकम्पका तरङ्ग प्राप्त गरेका न्यूनतम भूकम्पीय स्टेसन प्रयोग गरी सोही आधारमा सूचना प्रसारण गरिने भएकाले सूचना वास्तविक नहुन पनि सक्ने र सर्वसाधारणलाई त्रसित वा आतङ्कित पार्न सक्ने भएकाले यसतर्फ पनि ध्यान पु-याउनु पर्छ । पूर्वसूचना प्रणाली विशेष गरी स्वचालित प्रणालीजडित (आणविक भट्टी, विद्युत्गृह, अस्पताल, रेललगायत) क्षेत्रमा केही प्रभावकारी हुन सक्छ भने अन्य क्षेत्रका हकमा पूर्वतयारीमा जोड दिनु नै भूकम्पबाट हुने क्षति र हताहती कम गर्ने उत्तम विकल्प हो । 

राम्रो पूर्वतयारी गरिएका देशमा ठुला तथा महाभूकम्पबाट समेत धेरै कम वा नगण्य क्षति भएको पाइन्छ । नेपालमा पूर्वतयारी वा प्रतिकार्यका लागि गरिने लगानी नै फजुल खर्च हो भन्ने मानसिकताका कारण मझौला भूकम्पलगायत अन्य सामान्य विपत्बाट समेत तुलनात्मक रूपमा धेरै क्षति भएको पाइन्छ । अझ ठुला तथा महाभूकम्प गएमा कस्तो भयावह अवस्था होला, हामीले कल्पनासमेत गरेका छैनौँ । सामनाको कुरा त धेरै परको विषय भयो । दुःखको कुरा भूकम्पको धक्का महसुस भएको समय र भूकम्प सुरक्षा दिवसका अवसरमा बाहेक भूकम्पका सम्बन्धमा चिन्तन गर्ने वा पूर्वतयारीका कार्य सरकार, सरोकारवाला निकायलगायत सर्वसाधारण कसैले गरेको देखिँदैन, जसले भयावह अवस्थाको सामनाको तयारीभन्दा पनि प्रतीक्षामा बसेको प्रतीत हुन्छ र हामीसँग पछुताउनुको विकल्प रहँदैन । 

प्रकोप न्यूनीकरणका प्रयास 

नेपालमा प्रकोप न्यूनीकरणका क्षेत्रमा कार्य गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकाय कार्यरत छन् । विपत् जोखिमको पहिचान र मापन कार्यलाई सुदृढीकरण गर्न विपत् जोखिमको बुझाइ अभिवृद्धि गर्न अल्पकालीन, मध्यकालीन, दीर्घकालीन र निरन्तर गरिरहनुपर्ने व्रिmयाकलाप तोकेर रणनीति निर्धारण गरिएको पनि छ तर प्रकोप अनुसारको जोखिमको आकलन हुन नसक्दा प्रकोप न्यूनीकरण पनि प्रभावकारी हुन सकेको छैन ।

गृह मन्त्रालयले विपत् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ को कार्यान्वयनवाट प्राप्त अनुभव, गोरखा भूकम्प २०७२ को अनुभव र सिकाइ जलवायुसम्बन्धी पेरिस सम्झौता सेन्डाई फ्रेमवर्कका आधारमा तथा विपत्को दिगो र प्रभावकारी व्यवस्थापनका लागि विपत् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० तयार पारेको भए पनि सोबमोजिम गर्न सकिने कार्य पनि भएको पाइँदैन ।

विपत् जोखिम न्यूनीकरण वा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तिनै तहलाई जिम्मेवार बनाइएको भए पनि विनाशकारी भूकम्पको सामना कसरी गर्ने भन्ने सम्बन्धमा खासै कुनै ठोस तयारी कुनै तहले गरेको देखिँदैन । यसरी हेर्दा हाम्रो सोच नै रोकथामभन्दा पनि उपचारात्मक वा पर्ख, हेर र कार्य गर अर्थात् हाम्रो ध्यान पूर्वतयारीतर्फ भन्दा घटनापश्चात्को खोज, उद्धार र राहतमा केन्द्रित देखिन्छ, जसले पीडासँगै पूर्वतयारीको तुलनामा कैयाँै गुणा धेरै आर्थिक लगानी माग गर्दछ । सरकारले भवनसंहिता बनाएर लागु त गरेको छ तर त्यसको कार्यान्वयनमा कडाइ गर्न सकिरहेको छैन । सरकारसँग नेपालका दूरदराज र ग्रामीण क्षेत्रको त के कुरा सहरी क्षेत्रमा समेत के कति भवन भूकम्प प्रतिरोधी छन् भन्ने यकिन तथ्याङ्क छैन । नेपालमा अहिलेसम्मका भवन हेर्ने हो भने अधिकांश घर वा भवन भूकम्पप्रतिरोधी छैनन् । 

साँच्चिकै भूकम्पको विपत् न्यूनीकरण गर्ने हो भने भूकम्पको झट्का महसुस भएको समय र भूकम्प सुरक्षा दिवसको अवसर पारेर वा अन्य कुनै एक÷दुई दिन औपचारिक वा अनौपचारिक कार्यव्रmम गरेर चेतना फैलाउने प्रयास मात्र पर्याप्त हुँदैन । विगत २८ वर्षदेखि हरेक वर्ष र पछिल्लो समय स्थानीय तहमा समेत जनचेतना फैलाउने ध्येयले संवाद, -याली, विज्ञसँग अन्तर्वि्रmया र सर्वसाधारणसँग प्रतिक्रिया लिने तथा प्रदर्शनीलगायत विभिन्न कार्यक्रम गरी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएका छौँ तर सोचे अनुसारको उपलब्धि हासिल हुन सकेको छैन, जसको ज्वलन्त उदाहरण मझौलास्तरको जाजरकोट भूकम्पबाट भएको हताहती र क्षतिलाई लिन सकिन्छ ।

पूर्वतयारी किन  

नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्रमा अवस्थित रहेको र भूवैज्ञानिकले समेत ठुला तथा महाभूकम्प जान सक्ने औँल्याइरहेको अवस्थामा राम्रो पूर्वतयारी गर्न सकियो भने भूकम्पबाट हुने क्षति धेरै हदसम्म कम गर्न सकिन्छ, जसले दीर्घकालमा सर्वसाधारण र सरकारलाई समेत फाइदा हुन्छ । भूकम्पले होइन, हामीले बनाएका कमजोर संरचनाका कारण नै क्षति वा हताहती हुने हो । पूर्वतयारीबाट हुने दीर्घकालीन लाभको चेतनाको कमी छ । अझै पनि भवन निर्माण गर्नेले आफू बस्ने घर वा भवन भूकम्प प्रतिरोधी बनाउन जरुरी भए पनि निर्माणका क्रममा मापदण्ड पूरा नगरी छलछाम गरेर बनाउने प्रवृत्ति छ । यसो हुनुमा अनुगमन नहुने र केही प्रतिशत लगानी कम लाग्ने हुनाले नै हो तर विपत्पश्चात् आफैँलाई क्षति र पीडा हुने हो । भूकम्पप्रतिरोधी भवन नहुनाले मझौला मानको जाजरकोट भूकम्पबाट समेत धेरै क्षति पुग्न जाँदा कतिपय भूकम्पपीडित अहिलेसम्म पनि त्रिपाल र टिनका टहरामा बस्न बाध्य छन् । त्यो पीडा हामीले महसुस गरेका छैनौँ । पछिल्लो समय भने बारम्बार भूकम्पका धक्का र तिनले पु-याएको क्षति र हताहती देखेपछि कतिपय सचेत र सक्षम व्यक्तिले स्वस्फूर्त रूपमा भवनसंहिता पालना गरी भवन बनाएको पनि पाइन्छ । 

सामना कसरी ?  

भूकम्पलाई रोक्न र पूर्वानुमान गर्न सकिँदैन । पूर्वसूचना प्रणालीसमेत विश्वसनीय छैन । जुनसुकै बेला भूकम्प आउन सक्छ । उच्च भूकम्पीय संवेदनशील क्षेत्रमा बसेका हामीले ठुला तथा महाभूकम्पको सामना गर्न वा भूकम्पबाट हुने हताहती र क्षति कम गर्न पूर्वतयारी वा प्रतिकार्यमा जुट्नु र निरन्तर चनाखो रहनुको विकल्प छैन, जसका लागि भूकम्पप्रतिरोधी संरचना निर्माणमा कडाइ गर्नु पर्छ । नयाँ भवन वा संरचना निर्माण गर्दा भवनसंहिता पालन गरी निर्माण गर्नु पर्छ । पुराना भवनको सबलीकरण गर्नु पर्छ । समुदायस्तरमा जनचेतनामूलक कार्यव्रmम र समय समयमा भूकम्प गएमा कसरी बच्ने भन्ने पूर्वअभ्यास (ड्रिल) गर्नु पर्छ । कम्तीमा विद्यालयस्तरमा विपत्सम्बन्धी पाठ्यव्रmम तयार गरी पठनपाठन गराउनु पर्छ । 

यसै गरी तालिम प्राप्त उद्धारदस्ता (जनशक्ति) तयार गर्ने र विपत्को समयमा शीघ्र परिचालन हुने वयवस्था मिलाउनु पर्छ । उद्धार र राहतका लागि आवश्यक आपत्कालीन सामग्री तयारी अवस्थामा राख्नु पर्छ । विपत्का क्षेत्रमा कार्यरत निकायबिच शीघ्र समन्वय कायम गरी एकीकृत सूचना प्रवाह गर्नु पर्छ । खास गरी सहरमा खुला क्षेत्र कायम गर्नु पर्छ । धेरै भिडभाड तथा जमघट हुने सार्वजनिक स्थानमा भूकम्पसम्बन्धी जनचेतनामूलक सन्देशसहितका पम्पलेट, भित्ते पोस्टर टाँस्ने र नियमित रूपमा विभिन्न सञ्चार माध्यमबाट भूकम्पसम्बन्धी जनचेतनामूलक सन्देश जारी गर्नेलगायतका कार्य गर्नु पर्छ ।