रमेश विश्वकर्मा
गुल्मी, वैशाख १२ गते। गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित चौथो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मुसिकोट नगरपालिका र महिलातर्फ वडा नम्बर–३, सिर्सेनीले जितेको छ। चौथो अध्यक्ष कपको अवसरमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएको मुसिकोट नगरपालिकाले आयोजक मदाने गाउँपालिकालाई ३–० को सेटले हरायो।
प्रथम हुँदै मुसिकोट नगरपालिकाले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तेस्रो अध्यक्ष कपको उपाधि जितेको मदाने गाउँपालिकाले द्वितीय हुँदै ५५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तृतीय भएको मालिका गाउँपालिकाले धुर्कोट गाउँपालिकालाई २–० को सेटले हरायो। तृतीय भएको मालिका गाउँपालिकाले २५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
मदाने गाउँपालिकाअन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम भएको वडा नम्बर–३, सिर्सेनीले वडा नम्बर–६, पुर्कोट दहलाई २–० सेटले हरायो। प्रथम हुँदै सिर्सेनीले ३३ हजार ३३३ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय भएको पुर्कोट दहले २२ हजार २२२ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तृतीय भएको वडा नम्बर–७, भनभनले वडा नम्बर–१ अग्लुङ्गलाई २–० सेटले हरायो। तृतीय भएको भनभनेले ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रूपमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुसिकोटका सुदिप सुनार र वडास्तरीय महिला भलिबल प्रतियोगितामा सिर्सेनीका प्रमिला घर्तीलाई नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका खिमबहादुर कुँवरले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई सङ्घीय सांसद गोविन्द पन्थी, गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत भिमार्जुन भुसाल, वडाध्यक्षसहित जनप्रतिनिधि र गाउँपालिकाका अन्य कर्मचारीलगायतले पुरस्कार प्रदान गर्नुभयो।
मदाने गाउँपालिका वडा नम्बर–७, भनभनेस्थित कुडापानी खेलमैदानमा वैशाख ९ गते बुधबारदेखि सुरु भएको चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तर्गत अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा विभिन्न छ पालिका र वडास्तरीय महिला भलिबल प्रतियोगितामा मदाने गाउँपालिकाअन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगितामा सात वटै वडाले सहभागिता जनाएका थिए।