अमरराज नहर्की
तनहुँ, वैशाख १३ गते ।राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति तनहुँमा दक्ष प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन कार्य प्रभावित भएको छ ।
केन्द्रबाट स्वीकृत दरबन्दी अनुसारका कर्मचारी नहुँदा र भएका कर्मचारी पनि अनुभवी नहुँदा जिल्लामा भूमि सम्बन्धी कामले गति लिन नसकेको हो ।
आयोगले तनहुँका लागि २० जना अमिन खटाएको भए पनि हाल कार्यक्षेत्रमा ११ जना मात्रै कार्यरत छन् । आयोगका सदस्य सचिव एवं नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहका अनुसार सुरुमा खटाइएका २० जनामध्ये एक जना हाजिर हुनै आएनन् भने आठ जनाले बिचमै जागिर छोडेकाले गर्दा जनशक्ति व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।
हाल सीमित कर्मचारीको भरमा जिल्लाभरको काम धान्नुपर्ने बाध्यता छ ।जनशक्ति अभावकै कारण जिल्लाका १० स्थानीय तहमध्ये ऋषिङ र घिरिङ गाउँपालिका तथा भीमाद नगरपालिकामा आयोगले काम सुरु नै गर्न सकेको छैन ।
आयोगका अध्यक्ष गोविन्द सिलवालले खटाइएका कर्मचारीहरू पनि नयाँ भएकाले काम सम्पादनमा थप जटिलता थपिएको बताउनुभयो ।नापी र नक्साङ्कनको काम संवेदनशील हुने भएकाले नयाँ कर्मचारीलाई काम सिक्न र प्रक्रिया बुझ्न नै समय लाग्दा लक्ष्य अनुसारको नतिजा आउन सकेको छैन ।
अध्यक्ष सिलवालका अनुसार यदि नापी कार्यालयबाट सेवा निवृत्त भएका अनुभवी कर्मचारीहरूलाई खटाइएको भए कामको रफ्तार अहिलेको भन्दा दोब्बर बढी हुने थियो ।“नयाँ खटाइएका कर्मचारीबाट काम नभएको त होइन, तर अनुभवी प्राविधिकहरू काममा अब्बल हुने भएकाले उनीहरूले गर्ने कामको प्रभावकारिता नै अर्कै हुन्छ ।” उहाँले भन्नुभयो ।
तनहुँमा हाल एक हजार १०८ भूमिहीन दलित, एक हजार ८७१ भूमिहीन सुकुम्बासी र २३ हजार १६७ अव्यवस्थित बसोबासले नाम दर्ता गराएका छन् ।