• १३ वैशाख २०८३, आइतबार

गल्छी कप राष्ट्रिय रापिड चेसमा रुपेश च्याम्पियन

blog

उपाधिसहित रुपेश जैसवाल ।

काठमाडौँ, वैशाख १३ गते । गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” को उपाधि रुपेश जैसवालले जित्नुभएको छ । 

प्रतियोगितामा सहभागी ११ जिल्लाका खेलाडी मध्ये ६ अङ्क जोडेर प्रथम स्थान हासिल गर्ने रौतहटका एफएम रुपेशले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

नेपाल च्याम्पियन रुपेश जैसवालले अन्तिम चरणमा सिएम पुरुषोत्तम सिलवाल माथि बराबर उन्मुख खेललाई आफ्नो अनुकुल कठिन जीतमा परिणत गरि उपाधि जित्नुभएको हो । 

यस्तै पाँचथरका रिसोन थापा दोस्रो बन्दै १५ हजार र काठमाडौँका सिएम पुरुषोत्तम सिलवाल तेस्रो बन्दै १० हजार रुपियाँ पाउनुभयो । काठमाडौँका केशब श्रेष्ठ, बद्रीलाल नेपाली, कास्कीका विनोद नाल्मी, खोटाङका धिरेन राई, ललितपुरका राजन पुरी, काठमाडौँका प्रविर केसी र ललितपुरका सुरोज महर्जन चौथोदेखि दशौँ स्थानमा रहनुभयो । दशौँसम्मकाले आकर्षक नगद पुरस्कार पाउनुभयो । 

यस्तै प्रतियोगितामा विभिन्न विधागत पुरस्कार जित्नेमा सुदिन नेपाल, तारामान श्रेष्ठ, सियोन रिमाल, सविन खतिवडा, सङ्दिल श्रेष्ठ, मनसुन रिमाल, श्रेया रिमाल, सुभाना श्रेष्ठ, उत्सव बराल, सुरज लामा, गोविन्द बराल, मोहन सिं प्रधान, सौर्य प्रताप सिं कार्की, नवीन तण्डुकार, गणेशमान दुवाल, कोसिसमणि रिमाल, सात्विक मान तुलाधर र रिहान्सु पौडेल उत्कृष्ट बन्नुभएको छ ।

विजेतालाई गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, वडा–१ का अध्यक्ष  यदुकुमार खतिवडालगायतले पुरस्कार प्रदान गर्नुभयो ।