शशिधर पराजुली
विराटनगर, वैशाख १३ गते । नेपालका जुट उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्धतयारी वस्तु (जुटको धागो)को आयात बढाउन थालेका छन् ।
स्वदेशमा उत्पादन हुने कच्चा जुटले माग धान्न नसक्ने र भारतबाट हुने आयातमा पनि सुधार नभएपछि उद्योगीहरूले बङ्गलादेशबाट जुटका अर्धतयारी धागो ल्याएर बोरा बुन्न थालेका हुन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको तथ्याङ्क अनुसार, साउन महिनाको तुलनामा जुटको धागो (यार्न) आयात परिमाण दोब्बरले बढेको देखिएको छ भने अघिल्लो वर्षको तुलनामा यो वृद्धि झण्डै तीन गुणाले बढी हो ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म ५२१ मेट्रिक टन जुटको धागो आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक हजार ४०६ मेट्रिक टन आयात भएको छ । यस हिसाबले यो वर्ष धागो आयातमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा कुल ६० हजार ६०० केजी जुटको धागो (सिङ्गल र मल्टिपल यार्न) आयात भएको थियो । तर, चैत मसान्तसम्म आइपुग्दा यो परिमाण पाँच लाख २१ हजार २७६ केजी पुगेको छ ।
साउन महिनामा भएको आयातलाई पछिल्ला आठ महिनाको आयातसँग तुलना गर्दा उद्योगहरूले कच्चा जुटको सट्टा अर्ध–तयारी धागो मगाउने क्रम झण्डै दुई गुणा भन्दा बढीले बढेको देखिएको हो ।
गत साउनमा बङ्गलादेशबाट कच्चा जुट आयातको तुलनामा अर्ध तयारी जुटको धागोको हिस्सा २।१ प्रतिशत रहेकोमा चैत महिनासम्म आइपुग्दा जुटको धागोको हिस्सा ४.१ प्रतिशत पुगेको छ भने कच्चा जुटको हिस्सा ९७.९ प्रतिशतबाट घटेर ९५.१ प्रतिशतमा आइपुगेको छ ।
यसले नेपाली जुट मिलहरू ‘स्पिनिङ’ मिलबाट विस्तारै लुम डिपार्टमा परिणत हुन थालेको सङ्केत गरेको छ ।कच्चा जुटसँगै यो वर्ष जुटको तयारी कपडा र बोराको आयातमा समेत वृद्धि देखिएको छ ।
भन्सार तथ्याङ्क अनुसार चैत मसान्तसम्म छ लाख ८२ हजार ९८२ वर्गमिटर जुटको कपडा भारतबाट आयात भएको छ । कच्चा जुट नपाउँदा स्वदेशी उद्योगले माग अनुसार उत्पादन गर्न नसकेपछि बजारको आवश्यकता टार्न तयारी कपडा र बोराको आयात समेत बढाएका हुन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा नेपालले तीन करोड ८४ लाख १४ हजार ७७५ केजी कच्चा जुट आयात गरेको छ । यसका लागि नेपालबाट तीन अर्ब ८१ करोड ६५ लाख रुपियाँ बाहिरिएको छ ।
जसमा भारतबाट दुई अर्ब चार करोड र बङ्गलादेशबाट एक अर्ब ७७ करोड बराबरको कच्चा जुट आएको छ । सोही अवधिमा अर्धतयारी वस्तुका रूपमा रहेको जुटको धागो सात करोड ३२ लाख रुपियाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्मको तथ्याङ्कको तुलनामा जुटको धागोको आयात १.६ प्रतिशतबाट बढेर ४.९ प्रतिशत पुगेको छ ।
नेपाल जुट उद्योग व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाले जुट आयात घटेपछि उद्योग सञ्चालन गर्न र त्यहाँ कार्यरत जनशक्तिलाई रोजगारविहीन बन्न नदिन पनि धागो आयात बढाउनु परेको बताउनुभयो ।
उहाँले कच्चा जुटको अभावमा उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेपछि उत्पादनलाई निरन्तरता दिन धागो आयात गरेर भए पनि उद्योग जोगाउनुपर्ने बाध्यता बनेको उल्लेख गर्नुभयो ।
अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्मको अवस्थालाई हेर्दा कच्चा जुटको आयात परिमाणमा गिरावट आएको छ भने धागो आयात ह्वात्तै बढेको छ ।
गत वर्ष कच्चा जुटको आयातमा भारतको हिस्सा ६० प्रतिशतभन्दा माथि रहने गरेकोमा यो वर्ष करिब ५२ प्रतिशतमा झरेको छ । तथ्याङ्क अनुसार नेपालमा आयात हुने जुटको धागोमध्ये ९५ प्रतिशत बङ्गलादेशबाट आयात भइरहेको छ ।
अर्धतयारी वस्तु आयात गर्न थालेपछी यहाँका उद्योगहरूमा रोजगारी कटौतीको समस्या देखिएको छ भने उद्योगको परिचय विस्तारै बदलिएर स्पिनिङबाट टेक्स्टायल उद्योगमा परिणत हुने खतरा देखिएको छ ।