एकिन्द्र तिमिल्सेना
टीकापुर, वैशाख १२ गते । कैलालीमा एकै दिन २५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डलले मानव एकता दिवसको अवसरमा कैलाली जिल्लाका टीकापुर लगायतका पाँच स्थानमा आयोजना गरिएको रक्तदानबाट २५३ पिन्ट रगत सङकलन भएको हो ।
‘रगत नालीमा होइन नाडीमा बगाऔं’ भन्दै आज देशभरका ३९ जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरिएको र त्यसमा सबैभन्दा बढी कैलाली जिल्लामा रगत सङ्कलन हुने गरेको मण्डलका राष्ट्रिय अध्यक्ष नरबहादुर रावलले बताउनुभयो ।
वर्षेनी आयोजना हुने रक्तदानमा सहभागीहरु पनि खुशी भएका छन् । ‘हाम्रो रगतले एक अर्को व्यक्तिको ज्यान बचाउन सकिन्छ भने रक्तदान किन नगर्ने ?’ ४० पटक रक्तदान गरिसक्नु भएका टीकापुरका भानसिंह विश्वकर्मा भन्नुहुन्छ, ‘रक्तदान गर्न पाउनु पनि खुशीको कुरा हो ।’
‘गर्मीको समयमा कैलालीमा रगतको माग ह्वात्तै बढ्छ’ नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावलले भन्नुभयो, ‘सन्त निरंकारी मण्डल यहाँको ठुला रक्तदाता संस्था हो, सम्भव भएका अरु संस्थाहरुले रक्तदान गरेर सहयोग पु¥याउन सकिन्छ ।’