काठमाडौँ, वैशाख १२ गते । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘सप्राइज चेकिङ’का क्रममा ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो । यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी पाँच जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले जनाएको छ ।
यसैगरी रातो बत्ती उल्लङ्घन गर्ने १९, लेन अनुशासन पालना नगर्ने ४१ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५०७ सवारी चालकलाई कारबाही गरिएको छ ।
प्रहरीले कानुनविपरीत तथा दण्डनीय कार्य नगर्न र चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको सुरक्षाबारे ध्यानदिन सबैलाई आग्रह गरेको छ । यदि चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ । रासस