• १३ वैशाख २०८३, आइतबार

जयपृथ्वीबहादुरका कृति सङ्ग्रहीत कक्षको उद्घाटन

उद्यमशीलता झल्कने उत्कृष्ट तस्बिरलाई पुरस्कृत गरिने

blog

गोरखापत्रका संस्थापक जयपृथ्वीबहादुर सिंहको तस्बिर अनावरण गर्नुहुँदै संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड), निमित्त प्रधान सम्पादकद्वय जुनारबाबु बस्नेत र रमेश लम्साल । तस्बिर: मनाेजरत्न शाही

गाेरखापत्र अनलाइन 

काठमाडौँ, वैशाख १३ गते । गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनकाे १२६ औँ वर्ष प्रवेशको अवसरमा उद्यमशीलता झल्कने उत्कृष्ट तस्बिरलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । आगामी २०८३ वैशाख २४ गते आयोजना हुने विशेष समारोहमा सो पुरस्कार प्रदान गरिने छ ।

वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक १२ वर्षीया सूर्यमती श्रेष्ठनीले चर्खा कातिरहेको तस्बिर प्रकाशित भएको थियो । साे तस्बिर प्रकाशन भएकाे ९९ वर्ष भएकाे छ । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै र चर्खालाई उद्यमशीलताको प्रतीक मान्दै संस्थानले यो प्रतियोगिताको घोषणा गरेको हो । 

संस्थानमा आबद्ध फोटो पत्रकार तथा ७७ वटै जिल्लाका समाचारदाताले पठाएका उद्यमशीलता झल्कने तस्बिरमध्ये उत्कृष्ट एकलाई २५ हजार नगद पुरस्कारसहित सम्मान गरिने छ ।

गोरखापत्र संस्थानमा आइतबार आयोजित ‘फोटो पत्रकारिता दिवस २०८३’ को उद्घाटन गर्दै संस्थानका कार्यकारी अध्यक्ष गोविन्द (अखण्ड) भण्डारीले सो पुरस्कारको घोषणा गर्नुभएको हो । 

अध्यक्ष भण्डारीले भन्नुभयो, “चर्खा कात्नु उद्यमशीलताको प्रतीक हो र वर्तमान समयमा देशले खोजेको पनि उद्यमशीलता नै हो । त्यसैले गोरखापत्रमा आबद्ध फोटो पत्रकार तथा जिल्ला समाचारदाताबाट तीन–तीन वटा उद्यमशीलता झल्कने तस्बिर माग गरिने छ ।”

उहाँले एउटा तस्बिरले हजार शब्द बोल्ने उल्लेख गर्दै तस्बिर आफैँमा जीवन्त हुनुपर्ने र तस्बिरको क्याप्सन (परिचय)ले त्यसलाई थप अर्थपूर्ण बनाउने बताउनुभयो । नेपालको पत्रकारिता र फोटो पत्रकारिताको विकासमा गोरखापत्रको नेतृत्वदायी भूमिका रहेको चर्चा गर्दै उहाँले यस कार्यले फोटो पत्रकारितालाई अझ समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।


गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले उद्यमशीलता सम्बन्धी तस्बिर प्रतियोगितामा संस्थानमा आबद्ध सबै फोटो पत्रकार तथा पत्रकारहरूले सहभागिता जनाउन सक्ने जानकारी दिनुभयो । यस्तै, आर्ट तथा फोटोग्राफी शाखाका प्रमुख केशवराज खनालले गोरखापत्रका ऐतिहासिक तस्बिरको प्रदर्शनीका लागि तयारी भइरहेको बताउनुभयो ।

जयपृथ्वीबहादुरका कृति सङ्ग्रहीत कक्षको उद्घाटन

यसैगरी राष्ट्रिय विभूति तथा गोरखापत्रका संस्थापक मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहद्वारा लिखित र उहाँका बारेमा लेखिएका पुस्तकहरू सङ्कलन गरी गोरखापत्रको पुस्तकालयमा विशेष कक्ष स्थापना गरिएको छ ।

पुस्तकालयमा छुट्टै स्थान दिइएको उक्त कक्षको आइतबार संस्थानका कार्यकारी अध्यक्ष गोविन्द (अखण्ड) भण्डारी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत र दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेश लम्सालले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सो कक्षमा सिंहका कृतिहरूसँगै गोरखापत्रको इतिहाससँग सम्बन्धित अन्य महत्त्वपूर्ण सामग्रीसमेत राखिएका छन् ।

संस्थानको प्रशासन तथा योजना विभागका निर्देशक ताराबहादुर बस्यालले जयपृथ्वीबहादुर सिंहका पुस्तकहरू बजारमा सहजै उपलब्ध नहुने भएकाले उहाँसँग सम्बन्धित सामग्रीहरूलाई एकीकृत गरेर पुस्तकालयमा सुरक्षित गरिएको बताउनुभयो । उक्त कक्षमा सिंहका बारेमा नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका ऐतिहासिक पुस्तकहरू सङ्ग्रहीत छन् ।


उहाँलाई नेपाल सरकारले २०७९ असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । सिंहको जन्म १९३४ भदौ ७ गते बझाङको चैनपुरमा भएको थियो । उहाँ तत्कालीन बाइसे राज्यमध्येको एक बझाङका राजा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीका जेष्ठ पुत्र हुनुहुन्थ्यो ।