• २२ वैशाख २०८३, मङ्गलबार

‘शिक्षामा लगानीसँगै रोजगारी सिर्जना गर्नु पर्छ’

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), वैशाख २२ गते । सुदूरपश्चिमको शैक्षिक विकासमा प्रदेश सरकारले लगानीसँगै रोजगारी सिर्जनामा  ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । 

कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बर्दगोरिया क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले शिक्षामा लगानी गरे पनि बेरोजगारीका कारण युवा विदेश पलायन हुने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा र रोजगारीलाई सँगै जोडेर वर्तमान सङ्घीय सरकार अघि बढिरहेको छ । प्रदेश सरकार पनि निरन्तर लागेकै छ ।” उहाँले तीनै तहका सरकारले गुणस्तरीय शिक्षाका साथै रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारको ३५ र सङ्घीय सरकारको ६५ प्रतिशत अनुदान सहयोगमा भवन निर्माण हुन लागेको सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँले बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन थालेको शैक्षिक भवनको चालु आर्थिक वर्षमा पाँच करोड ४४ लाखको ठेक्का सम्झौता भएको बताउनुभयो । उहाँले २०८४ साल असार मसान्तसम्म काम पूरा गर्ने गरेर पहिलो चरणको काम सुरु भएको उल्लेख गर्नुभयो ।  कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेलगायतको उपस्थिति रहेको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०८० सालमा गाउँपालिका अध्यक्ष कुँवरको सक्रियतामा क्याम्पस स्थापना भएको थियो ।