• २२ वैशाख २०८३, मङ्गलबार

जुगलमा ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ पहिचान

blog

‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ पहिचान गरी आरोहण गर्दै पर्यटन विकास समितिको टोली । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, वैशाख २२ गते ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको शिर भेगमा ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ नामक नयाँ हिमश्रृंखला दृश्यस्थल पहिचान गरिएको छ । करिब ५ हजार ५७० मिटर उचाइको यो नयाँ पर्यटकीय गन्तव्यलाई ‘ट्रेकिङ पिक’ का रूपमा विकास गर्न थालिएको छ ।

२०८३ वैशाख ३ गते उक्त भ्यु प्वाइन्टमा सफल आरोहणसमेत भइसकेको छ । यसलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार विकास र प्रवद्र्धनको काम अघि बढाइएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो ।

जुगल गाउपालिकाको आयोजना तथा गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अन्वेषण परियोजनामार्फत उक्त नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको हो । काठमाडौँबाट पाँच दिनको यात्रा र करिब ४० हजार रुपैयाँ खर्चमा पुग्न सकिने यस भ्यु प्वाइन्टबाट सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला पाँच हिमालहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष स्याङ्बोले बताउनुभयो । उहाँका अनुसार विदेशी पर्यटकका लागि करिब एक हजार अमेरिकी डलरमा उक्त गन्तव्य पुगेर फर्किन सकिन्छ ।

उक्त प्वाइन्टबाट सगरमाथा स्पष्ट रूपमा देखिने बताइएको छ । सो क्षेत्रमा कीर्तिमानी सगरमाथा आरोही लाक्पा डेन्डी शेर्पा, १५ वर्षीय युवा न्गिमा वाङ्चु शेर्पा, पेमा लामा र मिलन तामाङ नेतृत्वको टोली पुगेर फर्किएको छ । उक्त टोलीले आरोहणसम्बन्धी वृत्तचित्रसमेत तयार गरेको मिलन तामाङले जानकारी दिनुभयो ।

भ्यु प्वाइन्ट पुग्न नयाँ पदमार्ग समेत रहेको छ । काठमाडौँ–जुगल–नेपेमासाल–भ्यु प्वाइन्ट हुँदै फर्किने गरी करिब पाँच दिनको यात्रा तय गरिएको छ । राजधानीबाट सवारीसाधनमार्फत जुगलको दिपुसम्म पुग्न सकिन्छ भने त्यहाँबाट प्राकृतिक तथा धार्मिक स्थल नेपेमासाल हुँदै भ्यु प्वाइन्ट पुग्न सकिनेछ ।

उक्त मार्ग प्राविधिक रूपमा सहज रहेको र विशेष उपकरणबिना सामान्य शारीरिक तन्दुरुस्ती भएका व्यक्तिले पनि आरोहण गर्न सक्ने मिलन तामाङले बताउनुभयो । “सबैजना चढ्न सक्ने भ्यु प्वाइन्ट हो,” उहाँले भन्नुभयो ।

यस नयाँ गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । त्यसका लागि पूर्वाधार निर्माण, विश्रामस्थल, सुरक्षा व्यवस्था तथा पथप्रदर्शक जनशक्ति तयारीको काम भइरहेको उहाँको भनाइ छ ।