काठमाडौँ, वैशाख २३ गते । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ब्याट्बाट र गुल्सन झाले बलबाट उल्लेखनीय प्रदर्शन गरेपछि नेपालले मङ्गलबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ८१ रनले हराएको छ । नेपालका लागि यो जित बदला पनि भएको छ । यसअघि यसै शृङ्खलामा ओमानले नेपाललाई डकवर्थ लुइसको नियम अनुसार १०२ रनले नराम्ररी हराएको थियो ।
ओमानविरुद्धको जितसँगै नेपालले संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी घरेलु त्रिदेशीय शृङ्खला सफल पारेको छ । नेपालको चार खेलमा यो तेस्रो जित हो । यसअघि नेपालले युएईलाई ३७ र ६ रनले हराएको थियो । यस जितपछि पनि आठ राष्ट्र सहभागी लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले २४ खेलमा आठ जित र दुई अनिर्णीत खेलसहित १८ अङ्क बनाएको छ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको ओमानका लागि यो शृङ्खला बिर्सनलायक रह्यो । ओमानले चार खेलमध्ये एक जित र तीन हारमा खेल्यो । ओमानको २८ खेलमा ३१ अङ्क रहेको छ ।
अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–२ को अर्को शृङ्खला खेल्ने छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने सो त्रिदेशीय शृङ्खला यही वैशाख २९ गते सुरु हुने छ ।
आसिफ शतकबाट वञ्चित
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदै अलआउट भएर २५६ रन बनाएको थियो । नेपालको पालि उतारचढावपूर्ण रह्यो । पछिल्लो खेलमा अर्धशतक बनाएपछि आशा गरिएका प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी आफूले सामना गरेको पहिलो बलमै आउट हुनुभयो । त्यसपछि ‘वन डाउन’ मा क्रिजमा आएका अर्जुन कुमाल र आसिफले सुस्त गतिमा ब्याटिङ गर्नुभयो । नौ ओभर सकिँदा नेपालले २१ रन मात्र बनाएको थियो । यसबिच अर्जुनले पाँच रनमा छँदा जीवनदान पनि पाउनुभयो । यी दुवै ब्याट्सम्यानले पिचको स्वभाव बुझेपछि खुलेर खेले र स्कोरलाई राम्रो रनरेटमा १२३ रनसम्म पु¥याए । अर्जुन ४८ रनमा आउट भएपछि सो शतकीय साझेदारी टुटेको थियो । आफ्नो दोस्रो खेलमै अर्धशतकको नजिक पुगेका अर्जुनले ८७ बल खेलेर चार चौका प्रहार गर्नुभयो ।
त्यसपछि कप्तान रोहित पौडेल नौ रनमै आउट हुनुभयो । रोहित आउट भएको तीन ओभरपछि आसिफ पनि पवेलियन फर्कनुभयो । यद्यपि आसिफले क्रिज छोड्नुअघि ९७ बलमा सात चौका र एक छक्कासहित ९४ रनको उत्कृष्ट पालि खेल्नुभएको थियो । छक्का प्रहार गरेर शतक बनाउन खोज्दा बाउन्ड्रीनजिक क्याच आउट भएपछि आसिफ आफ्नो दोस्रो ओडिआई शतक बनाउनबाट वञ्चित हुनुभयो । आसिफले ६६ ओडिआईमा एक शतक र १४ अर्धशतक बनाउनुभएको छ । आसिफ पछिल्लो खेलमा टिमबाहिर हुनुहुन्थ्यो ।
पछिल्ला तीन खेलमा एक शतक र दुई अर्धशतक बनाउने दीपेन्द्रले ३३ रनको पालि खेल्नुभयो । यसै गरी गुल्सनले १७ रनको योगदान दिनुभयो । नन्दन यादव (२), सन्दीप लामिछाने (१) र करण केसी (०) चाँडै आउट हुनुभयो । ओमानका लागि स्पिनर नदिम खानले सर्वाधिक तीन विकेट लिनुभयो । यसै गरी सकिल अहमदले दुई तथा जितेन रामानान्डी, हसनैन शाह र आर्यन विष्टले एक–एक विकेट हासिल गर्नुभयो ।
गुल्सनको पाँच विकेट
त्रिवि क्रिकेट मैदानमै डेढ वर्षअघि भएको लिग–२ कै खेलमा गुल्सनले पाँच विकेट लिनुका साथै अर्धशतक प्रहार गरे पनि ओमानसँग नेपाल एक विकेटले पराजित भएको थियो । यसपालि गुल्सनले ओमानविरुद्ध नै पाँच विकेट लिएर नेपाललाई जित दिलाई सो पीडा भुलाउनुभयो ।
गुल्सनको बलिङले ओमान जवाफमा ३९.५ ओभरमै १७५ रनमा अलआउट भयो । गुल्सनले नौ ओभरमा ३८ रन खर्चेर पाँच विकेटको कोसेढुङ्गा छुनुभएको हो । गुल्सनले प्रारम्भिक ब्याट्सम्यान हसनैन उल वहाब (२९ रन), आर्यन (६ रन), जितेन रामानन्दी (३ रन), विनायक शुक्ला र हसनैन शाह (१४ रन) लाई आउट गर्नुभएको थियो । गुल्सनको यो ओडिआईमा सर्वश्रेष्ठ बलिङ प्रदर्शन हो ।
ओमानका लागि सर्वाधिक ३६ रन बनाउने विनायकले ४१ बलको सामना गरी तीन चौका र दुई छक्का प्रहार गर्नुभयो । पछिल्लो खेलमा नेपालविरुद्ध ९६ बलमा १३० रन बनाउने जतिन्दर सिंहलाई नन्दनले १२ रनमा आउट गरेर नेपालको तनाव कम गर्नुभएको थियो । करण, नन्दन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिएर गुल्सनलाई बलिङमा उचित साथ दिनुभयो ।
‘नेपालले राम्रो क्रिकेट खेल्यो’
ओमानका प्रशिक्षक सुलक्षण कुलकर्नीले नेपालले धेरै राम्रो खेलेको बताउनुभयो । “हामीले पहिलो खेलमा नेपाललाई हराएका थियौँ तर नेपालले आज राम्रो क्रिकेट खेल्दै हामीलाई निस्तेज बनायो । ‘वेल डन नेपाल’,” उहाँले भन्नुभयो । यसै गरी ‘म्यान अफ दी म्याच’ आसिफले सुरुवात पाएपछि त्यसलाई ठुलो स्कोरमा बदल्ने लक्ष्य पूरा भएको भनाइ राख्नुभयो । “सुरुमा समय लिएर खेलेको थिएँ । पिचलाई बुझेपछि राम्रो स्कोर गर्न सफल भएँ । अर्जुनले पनि मलाई राम्रो साथ दिए । अर्जुन उच्च मनोबलमा खेल्ने खेलाडी हो,” उहाँले भन्नुभयो । यसै गरी गुल्सनले आफ्नो योगदानले टिमले जित्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी त्रिदेशीय शृङ्खलामा पनि सकेसम्म चार नभए कम्तीमा तीन खेल जित्ने लक्ष्य छ भन्नुभयो ।
खेलमन्त्री मैदानमा
यसैबिच खेलकुदमन्त्री सस्मित पोखरेल नेपाल र ओमानको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको थियो । नेपालका लागि सर्वाधिक रन बनाउने आसिफले मन्त्री पोखरेलले खेल जितेपछि बधाई दिनुका साथै क्रिकेटका लागि अझै केही गर्ने भनेपछि खुसी लागेको बताउनुभयो ।