हुम्ला समाचारदाता
हुम्ला, वैशाख २९ गते । राष्ट्रिय योजना आयोगले कर्णाली कोरिडोर अन्तर्गत दुई वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । आयोगले खुलालु–सल्लिसल्ला–हिल्सा सडक र उत्तरी खण्डको हिल्सा–सिमकोट सडकका लागि स्रोत सहमति गर्न सिफारिस गरेको हो ।
यो सिफारिससँगै लामो समयदेखि रोकिएका सडकको स्तरोन्नति कार्य अगाडि बढ्ने बाटो खुलेको छ । यी दुवै सडक आयोजनाका लागि जिल्लाबाट आवश्यक कागजात आयोगमा गएको लामो समय भएपछि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगको केही दिनअगाडि बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका खुलालु–सल्लिसल्ला सडकका साथै सो अन्तर्गतका छ वटा पुल र कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) का लागि स्रोत सहमतिका लागि सिफारिस भएको छ ।”
उहाँले अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगको सिफारिस अनुसार बहुवर्षीय योजनाका लागि स्रोतको सुनिश्चितका लागि सहमति गरे निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।