नेत्र शाही
जुम्ला, वैशाख २९ गते । जुम्लाको तातोपानी गाउँपालिकाले मार्सी धान संरक्षणका लागि ब्युटाक्लोर विषादी प्रयोग निरुत्साहित गर्ने अभियान सुरु गरेको छ । मार्सी धानमा लुकीछिपी प्रयोग गरिँदै आएको उक्त विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै गाउँपालिकाले एकमहिने सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद उपाध्यायले धान तथा मानव स्वास्थ्यलाई हानि पु¥याउने ब्युटाक्लोर पूर्ण रूपमा निषेध गर्न अभियान थालिएको जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्ष रेवती रावलले वडा नं. १ देखि ८ सम्म घरदैलो अभियान सञ्चालन गरी सचेतना फैलाइने बताउनुभयो । गाउँपालिकाले विभिन्न दातृ निकायसँगको सहकार्यमा अभियान सञ्चालन गरेको जनाएको छ ।
सोमबार आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले अर्गानिक जिल्लाका रूपमा परिचित जुम्लामा मार्सी धानमा लुकीछिपी ब्युटाक्लोर प्रयोग भइरहेको पाइएकाले यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयो । उहाँले अभियान प्रभावकारी बनाउन जिल्ला कृषि विकास कार्यालयले पनि प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
जुम्ला मार्सी धानका लागि प्रसिद्ध जिल्ला भएकाले यसको संरक्षण र प्रवद्र्धन आजको आवश्यकता भएको उहाँको भनाइ थियो । किसानले लुकीछिपी विषादी प्रयोग गर्नु दुःखद भएको भन्दै घरदैलोमै पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिने र त्यसमा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
धान उत्पादनमा तातोपानी गाउँपालिका जिल्लामै अग्रस्थानमा रहेको छ । गाउँपालिकाका प्रेमकृष्ण उपाध्यायले ब्युटाक्लोर प्रयोगले माटोको उर्वराशक्ति नष्ट हुने भएकाले यसको रोकथाममा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले अभियान सुरु गरिएकोमा धन्यवाद दिँदै कसैले विषादी प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश चन्दले मार्सी धान संरक्षणका लागि गाउँपालिकाले अभियानलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
जुम्लामा उत्पादन हुने मार्सी धान स्वादिलो र गुणस्तरीय मानिन्छ । पछिल्लो समय खेतमा झारपात नियन्त्रणका लागि ब्युटाक्लोर विषादी लुकीछिपी प्रयोग हुन थालेपछि यसको असरबारे चिन्ता बढेको छ । सरोकारवाला तथा किसान अगुवाले जिल्लाभर यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् ।