मुलुकमा लोकतन्त्र स्थापना भएको झन्डै दुई दशक भयो । समाजमा मानिस यतिसम्म खुला भए कि गलत र सही छुट्याउनै नसक्ने जस्तो भए, जसले मुलुक अस्थिर हुन पुग्यो । यतिबेला पनि सत्यभन्दा असत्यले हालीमुहाली गरेको हो कि जस्तो भइरहेको छ । हरेक क्षेत्रमा, हरेक विषयमा पहिलो भाष्य नकारात्मक तरिकाबाट सुरुवात हुने गरेको छ । सकारात्मक सोचको दिशामा नागरिक धारणाको विकास हुन समय खर्चिनु पर्छ । यो पनि ठिक, त्यो पनि ठिक, यो पनि बेठिक, त्यो पनि बेठिक जस्ता दोधारमा समाज र व्यक्ति विभाजित छन् । यसले सामाजिक चेतनामा ठुलो रूपान्तरणको माग गरिरहेको छ ।
समाज भनेको केवल मानिसको भौतिक जमघट मात्र होइन, यो विचार, मूल्य, संस्कार र चेतनाको समष्टिगत रूप हो । कुनै पनि समाज कति विकसित, सभ्य र समुन्नत छ भन्ने कुरा त्यस समाजको भौतिक संरचनाभन्दा बढी त्यहाँका मानिसको चेतनास्तरले निर्धारण गर्छ । आजको युग सूचना, प्रविधि र तीव्र परिवर्तनको युग हो । यस्तो अवस्थामा समाजलाई अगाडि बढाउन भौतिक विकास मात्र पर्याप्त हुँदैन, त्यससँगै सामाजिक चेतनामा गहिरो रूपान्तरण आवश्यक हुन्छ ।
सामाजिक चेतना भन्नाले मानिसले आफ्नो समाज, कर्तव्य, अधिकार, नैतिकता र समष्टिगत हितबारे राख्ने सोच र बुझाइलाई जनाउँछ । जब समाजका सदस्य सचेत, जिम्मेवार र समावेशी सोचका हुन्छन्, त्यतिबेला मात्र समाजमा न्याय, समानता र सद्भाव कायम हुन्छ तर चेतनाको अभावमा समाजमा विभेद, अन्याय, हिंसा र असमानता बढ्न थाल्छ । आज पनि हाम्रो समाजमा विभिन्न किसिमका अन्धविश्वास, जातीय विभेद, लैङ्गिक असमानता र वर्गीय शोषण विद्यमान छन् । यी सबै समस्याको जरो सामाजिक चेतनाको कमीमा निहित छ । त्यसैले चेतनामा रूपान्तरणबिना समाजको समग्र विकास सम्भव छैन ।
हाम्रो समाजले विभिन्न प्रकारका चुनौती सामना गरिरहेको छ । तीमध्ये अन्धविश्वास र कुसंस्कार, जातीय र वर्गीय विभेद, लैङ्गिक असमानता, भ्रष्टाचार र नैतिक पतनलगायत यसको मुख्य बाधक हुन् । धेरै ठाउँमा अझै पनि वैज्ञानिक सोचभन्दा अन्धविश्वास हावी छ । बिरामी पर्दा अस्पताल जानुको सट्टा झाँक्री वा धामीकहाँ जाने प्रवृत्ति, ग्रह नक्षत्रका नाममा निर्णय लिने संस्कार आदि अझै प्रचलित छन् ।
संविधानले समानताको ग्यारेन्टी गरे पनि व्यवहारमा जातीय विभेद अझै हट्न सकेको छैन । दलित र सीमान्तकृत समुदाय अझै पनि भेदभाव र अन्यायको सिकार भइरहेका छन् । महिला र दलितलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्ने प्रवृत्ति अझै पनि समाजमा पाइन्छ । शिक्षादेखि रोजगारीसम्म महिला दलितले समान अवसर पाउन सङ्घर्ष गर्नु परेको छ । यतिसम्म कि सार्वजनिक जीवनमा नैतिकताको कमी र भ्रष्टाचारको बढ्दो प्रवृत्तिले समाजलाई कमजोर बनाइरहेको छ । यी सबै चुनौती केवल कानुन बनाएर समाधान हुँदैनन्, यसका लागि मानिसको सोच र व्यवहारमा परिवर्तन आवश्यक हुन्छ ।
सामाजिक चेतनामा रूपान्तरण आवश्यक हुनुका मुख्य कारणमा दिगो विकासका, समानता र न्याय, लोकतान्त्रिक सुदृढीकरण, सामाजिक सद्भावलगायत कायम राख्न भौतिक विकास मात्रै दीर्घकालीन हुँदैन । यदि मानिसको सोच परिवर्तन भएन भने विकासले सही दिशा पाउँदैन । जब मानिस सचेत हुन्छन् तब उनीहरूले अन्याय सहँदैनन् र समानताको पक्षमा उभिन्छन् । लोकतन्त्र केवल चुनाव मात्र होइन, यो सचेत नागरिकको सव्रिmय सहभागितामा टिकेको हुन्छ । चेतनशील नागरिकबिना लोकतन्त्र कमजोर हुन्छ । विविधता भएको समाजमा सहअस्तित्वका लागि सहिष्णुता र समझदारी आवश्यक हुन्छ, जुन चेतनाबाट मात्र सम्भव हुन्छ ।
सामाजिक चेतनामा रूपान्तरण ल्याउन विभिन्न तहमा प्रयास आवश्यक हुन्छ । पहिलो कुरा शिक्षा नै चेतनाको आधार हो । केवल किताबी ज्ञान होइन, व्यावहारिक, वैज्ञानिक र नैतिक शिक्षामा जोड दिनु पर्छ । आलोचनात्मक सोच विकास गर्ने शिक्षा आवश्यक छ । दोस्रो, मिडिया, सामाजिक सञ्जाल र विभिन्न अभियानमार्फत जनचेतना फैलाउन सकिन्छ । स्वास्थ्य, सरसफाइ, लैङ्गिक समानता, मानव अधिकार जस्ता विषयमा निरन्तर सचेतना आवश्यक छ ।
तेस्रो, राजनीतिक र सामाजिक नेतृत्वले उदाहरणीय भूमिका खेल्नु पर्छ । नेतृत्व नै भ्रष्ट र गैरजिम्मेवार भयो भने समाजमा सकारात्मक परिवर्तन आउन सक्दैन । चौथो, बनाइएका कानुनको प्रभावकारी कार्यान्वयनले पनि चेतना विकासमा मद्दत गर्छ । दण्डहीनताको अन्त्य आवश्यक छ । पाँचौँ, परिवार नै पहिलो पाठशाला हो । बालबालिकामा सानैदेखि समानता, सम्मान र जिम्मेवारीको भावना विकास गरिनु पर्छ ।
आजको युग डिजिटल युग हो । प्रविधिले सूचना पहुँचलाई सहज बनाएको छ । सामाजिक सञ्जालले जनचेतना फैलाउन ठुलो भूमिका खेल्न सक्छ तर यसको दुरुपयोगले भ्रम, द्वेष र गलत सूचना पनि फैलिन सक्छ । त्यसैले प्रविधिको सदुपयोग गर्दै सकारात्मक चेतना फैलाउनु आवश्यक छ । दोस्रो, युवाशक्ति समाज परिवर्तनको प्रमुख आधार हो । उनीहरू ऊर्जावान्, सिर्जनशील र परिवर्तनप्रेमी हुन्छन् । यदि युवा सचेत भए भने समाजमा छिटो रूपान्तरण सम्भव हुन्छ । उनीहरूले पुराना कुसंस्कारलाई चुनौती दिन सक्छन् र नयाँ सोचको प्रवर्धन गर्न सक्छन् । तेस्रो कुरा, रूपान्तरणको बाटो सजिलो हुँदैन । यसमा विभिन्न अवरोध हुन्छन्, परम्परागत सोच र रूढिवादिता, स्वार्थी राजनीतिक प्रवृत्ति, अशिक्षा र गरिबी, सूचना र पहुँचको अभाव । यी अवरोधलाई पार गर्दै अघि बढ्न निरन्तर प्रयास आवश्यक हुन्छ ।
निष्कर्ष
समाज परिवर्तनको आधार चेतना हो । जबसम्म मानिसको सोच, दृष्टिकोण र व्यवहारमा परिवर्तन आउँदैन तबसम्म वास्तविक विकास सम्भव हुँदैन । सामाजिक चेतनामा रूपान्तरण ल्याउनु भनेको केवल व्यक्तिगत परिवर्तन होइन, यो समग्र समाजको रूपान्तरण हो । आजको आवश्यकता भनेको वैज्ञानिक सोच, समानताको भावना, नैतिक मूल्य र जिम्मेवार नागरिकको विकास गर्नु हो । यसका लागि शिक्षा, सचेतना, नेतृत्व र सामूहिक प्रयास अपरिहार्य छ ।
समुन्नत, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न अहिलेको भन्दा फरक तरिकाले सामाजिक चेतनामा रूपान्तरण आवश्यक छ । परिवर्तन बाहिरबाट थोपर्ने कुरा होइन, यो भित्रबाट सुरु हुन्छ । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो सोचमा परिवर्तन ल्याउँदै समाजलाई सकारात्मक दिशामा अघि बढाउन योगदान दिनु पर्छ ।