टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २९ गते । शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् ।
रेसुङ्गा नगरपालिकाका दुई विद्यालयमध्ये महेन्द्र माविकी अस्मिता पाण्डे र रेसुङ्गा माविकी दीक्षा पोखरेलले ४ जीपीए प्राप्त गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाबाट तीन जनाले ४ जीपीए ल्याएका छन् । रिडी माविबाट मर्यादा पौडेल, रेन्बो इङ्लिस बोर्डिङ स्कुलबाट आरुषा श्रेष्ठ र खोमराज पन्थले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै चन्द्रकोट गाउँपालिकाको शारदा मावि, दिव्रुङबाट रितिका गौतमले ४ जीपीए प्राप्त गरेको उहाँले बताउनुभयो ।
जिल्लाको समग्र नतिजाअनुसार साधारण धारतर्फ कुल तीन हजार ३३९ विद्यार्थी सहभागी भएकोमा ६८.६८ प्रतिशत अर्थात दुई हजार २९३ जना उत्तीर्ण भएका छन् । साधारण धारमा २२१ जनाले ३.६ देखि ४ जीपीएबिच अंक ल्याएका छन् भने ८६४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै प्राविधिक धारतर्फ नतिजा उत्साहजनक देखिएको छ । प्राविधिकतर्फ ७०.२८ प्रतिशत विद्यार्थी सफल भएका छन् । सहभागी २५९ विद्यार्थीमध्ये १८२ जनाले परीक्षा उत्तीर्ण गरेका छन् । जसमा २६ जनाले ३।६ देखि ४ जीपीए र ७१ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् ।
जिल्लाभर साधारणतर्फ एक हजार ४६ जना र प्राविधिकतर्फ ७६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।