• २९ वैशाख २०८३, मङ्गलबार

अन्नपूर्णको फेदीमा नयाँ हिमताल

blog

ड्रोनबाट खिचिएको अन्नपूर्ण हिमालको फेदीमा रहेको नयाँ ताल । तस्बिर सौजन्य : किरण कार्की

बेनी समाचारदाता 

बेनी, वैशाख २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन् । 

आठ हजार ९१ मिटर अग्लो हिमालको फेदी चार हजार ५० मिटरको उचाइमा रहेको आधार शिविरभन्दा केहीमाथि नयाँ हिमताल देखिन थालेका हुन् । 

ती साना साना आकारका ताल पछिल्ला केही वर्षयता आकार बढ्न थालेको पाइएको छ । भूउपग्रह तथा ड्रोनबाट खिचिएका तस्बिरमा तालहरू विस्तार हुँदै गएको देखिएको छ । अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ । नीलगिरि पश्चिमतर्फ नीलगिरि हिमालको फेदीतर्फ पनि केही ससाना हिमताल देखिन थालेका छन् । 

समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित पञ्चकुण्ड हिमतालभन्दा केही दक्षिणपूर्वतर्फ देखिएको हिमतालको आकार भने ठुलो छ  । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिणपूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमपताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । हिमनदीको टुप्पोमा मोरिनको बाँधले छेकेपछि पछिल्लो एक दशकदेखि यहाँ ताल बन्न सुरु गरेको उहाँको भनाइ छ । 

भूउपग्रह तस्बिरमा उक्त हिमताल रहे को क्षेत्रमा कुनै समय ठुलो हिमपहिरो गएको स्पष्ट सङ्केतसमेत देखिन्छ । यो ताल विगत १० वर्षदेखि बढ्न थालेको उहाँले दाबी गर्नुभयो । 

केही महिनाअघि मात्र ड्रोनबाट खिचिएको तस्बिर हेर्दा उक्त ताल निक्कै ठुलो भएको देखिन्छ । यसको क्षेत्रफल मापन भने भएको छैन । बेनीका फोटोग्राफर किरण कार्कीले पञ्चकुण्ड हिमताल पुगेपछि आफू आएको मिश्रीखोलाको किनारको बाटोको ड्रोनबाट फोटो खिच्नुभएको थियो । यही ड्रोन फोटो खिच्दा यो हिमताल अर्को कुनोमा फैलिएको अवस्थामा भेटिएको हो । अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमताल विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुनसक्नेतर्फ चिन्ता बढ्न थालेको छ ।