नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ । सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् ।
हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा होस् वा अदालतकै कठघरामा किन नहोस्, शिक्षित हुन् या अशिक्षित । सुरुवाती परिचय जातकै वरपर घुमिरहन्छ । निधार र नाक नखुम्च्याउन्जेलसम्म यो क्रम चल्छ । एउटा विश्वकर्माले कामी र परियारले सार्की, एउटा हरिजन वा महराले चमार र मरिकले डुम नभनुन्जेलसम्म धर पाउँदैनन् । बाहुन क्षेत्रीले पनि बाहुन वा क्षेत्री मात्रै भनेर पुग्दैन । बाहुन हो भने कुन बाहुन ? कुमाई हो कि पूर्विया वा जैसी ? क्षेत्री हो भने कुन क्षेत्री हो ? खस क्षेत्री हो कि खत्री क्षेत्री ? यसमा पनि कुन खलक र गोत्रको ? यसरी स्वजातीयभित्रै पनि यो उपव्रmम चल्छ । यो कथित रूपले तहगत छ । विभेदी छ । अमानवीय छ । तर, पनि यो किन टिकिरहेको छ ? जातव्यवस्थाको सामाजिक मनोविज्ञानको प्रभाव मानिसको मस्तिष्कमा कति गहिरोसँग परेको छ, यसै बुझ्न सकिन्छ ।
समाजको चरित्रगत समस्या
कथित गैरदलित समुदायले आफ्नो समुदायका कुनै व्यक्तिले दलितसँग सङ्गत गरेको विषय नजिकबाट नियालिरहेका हुन्छन् । उसले थोरै सामाजिक परम्परा उल्लङ्घन ग¥यो भने उसलाई त्यो समाजबाट अलग्याइन्छ । बाहुन, क्षेत्री वा कथित कुनै उच्च जातिका भए जनै काट्ने, सुनपानी छर्किने र पूजापाठ गरेर चोख्याउने चलन कायमै छ । दलित समुदायका भए दण्ड जरिबाना गर्ने र भोजभतेर खुवाउनुपर्ने चलन आज पनि छ । जात दराउन यति कार्य नगरे जातबाटै बहिष्कार गरिन्छ । समाजमा हुने भोजभतेर, पूजापाठ, बिहेबारी आदि कार्यमा सामूहिकता प्रदर्शन गर्न पाइँदैन । विद्यार्थी जीवनकालमा एउटा दलित र गैरदलित युवाबिच यति धेरै घनिष्ठ प्रेम हुन्छ कि एकले अर्काको घरभित्रै प्रवेश गरेर आफ्नो मित्रतालाई निरन्तरता दिइरहेका हुन्छन् । जसै उसको मानवतामाथि उसको समाज, जात र धर्मको निरङ्कुशता हाबी हुन्छ, त्यसपछि भने उनीहरूको मित्रताले निरन्तरता पाउँदैन । ब्रेकअप हुन्छ । जतिबेला उनीहरूमा एउटा मानवीय भावना उम्रिन खोजिरहेको हुन्छ, त्यसैबेला त्यसलाई निमोठ्ने काम समाज र परिवारले गरिदिन्छ अर्थात् फुलिरहेको कोपिलाको मुन्टो चुँडाल्ने कार्य हुन्छ । त्यसपछि परम्परा र सनातन नामक समाजको कुरूप अमानवीयताको अन्धो बहुलताले निरन्तरता पाउन थाल्छ । जति नै नयाँ भनिएको पुस्ताले समेत यसलाई भत्काउन सक्दैन ।
विभेदका केही ताजा घटना
केही समयअघि मात्रै महिला आयोगको शौचालयमा पुगेर विश्वकर्मा थरकी एक महिलाले विषपान गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । उनले काठमाडौँमै बसेर थापा थरका युवासँग प्रेमविवाह गरी घरजम गरेकी थिइन् । केटा पक्षका अभिभावकले दलित बुहारीलाई घर भित्र्याउन अनिच्छा जाहेर गरेपछि उनीहरूबिच सम्बन्धविच्छेदको लामो र झन्झटिलो अदालती प्रक्रिया सुरु भयो । त्यसपछि आजित भएर उनी विषपान गर्न पुगेकी थिइन् । बाराको फेटा गाउँपालिका–१, त्रिवेणीमा दलित युवासँग प्रेम गरेकै कारण बुवाले आफ्नी १४ वर्षीय छोरीलाई हत्या गरेर टाउको र शरीर फरक फरक ठाउँमा फालेका बीभत्स घटना सार्वजनिक भयो । कैलालीको गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्मासँग सरस्वती खड्काले उमेर पुगेरै अन्तरजातीय विवाह गर्नुभयो तर दलितसँग विवाह गरेकै कारण युवती पक्षले घर पसेरै उहाँमाथि निर्घात कुटपिट ग¥यो । काभ्रेको भम्लु गाउँपालिका–२, सिमलथलीमा धर्मध्वज भण्डारीले दलितसँग बिहे गरेपछि परिवारको एक श्रद्धा कार्यमा समय दिएर पनि पुरोहित आएनन् । बाजुराको हिमाली गाउँपालिका–३ की गर्भवती महिला निरुता (नाम परिवर्तन) लाई राति घरमै पसेर बलात्कार भएको घटना लिएर आफन्त प्रहरीकहाँ उजुरी दिन पुग्दा उल्टै उनीहरूलाई नै गिरफ्तार गरियो । होटलमा पानी छोएकै निहुँमा डोटीका केआईसिंह गाउँपालिका–४ का रमेश भुलमाथि निर्घात कुटपिट भयो ।
जातकै कारण यस्ता अनगन्ती घटना सार्वजनिक रूपमै र सार्वजनिक ठाउँमै हामी भोग्न अभिशप्त छौँ । गाउँदेखि सहरसम्मको दुरवस्था एउटै छ । गैरदलित युवतीले दलित युवासँग प्रेम गरेकै कारण एउटा सचेत र शिक्षित भनिने परिवार आफ्नै छोरीको निर्मम हत्या गर्न मन्जुर छ । घरमै पसेर निर्घात रूपमा कुटपिट गर्ने साहस गर्छन् तर आफूभन्दा तल्लो जात स्विकार्न तयार छैनन् । आफूभन्दा तल्लो जातका छोरी, ज्वाइँ र बुहारी भित्र्याउन तयार छैनन् । जातव्यवस्थाले कतिसम्म हद नाघिसकेको छ भने यो समाजमा बालविवाह गर्दा कुनै फरक पर्दैन तर छोराछोरीले त्यही विवाह आफैँले रोजेर अन्य जातकासँग गर्दा जातको कठघरामा उभ्याएर हिंसा गरिन्छ ।
किन हुँदैन कारबाही ?
तिनै तहको सरकार, प्रहरी प्रशासन र अदालतमा समेत जात, धर्म, वर्ण र पहुँचकै आधारमा निर्णय हुँदा, अपराधीमाथि कारबाही नहुँदा, अपराधीको संरक्षण हुँदा र उनीहरूको मनोबल बढेकै कारण समाजमा विभेदका घटनामा बढोत्तरी हुँदै गएको छ । कतिसम्म भने एउटा घटना भएको प्रहरीमा उजुरी पर्दा र कानुनी कारबाही नहुँदा वर्ष दिन नपुग्दै एउटै गाउँमा पटक पटक एउटै किसिमको विभेद र हिंसाका घटना दोहोरिएका छन् । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका रामकिशोर महराले भदौ ५ मा, रामेश्वर महराले कात्तिक १२ गते, वडा ११ का रामवरण महराले असोज १६ गते, ब्रह्मपुरी गाउँपालिका–६ का रामाशिष महराले साउन ३० गते, मलङ्गवा नगरपालिका–१२, गमहरियाका लिलमदेवी पासवानले साउन ३० गते प्रहरीमा उजुरी दिएका छन् । उनीहरूमाथिको यो घटना एकपछि अर्को शृङ्खलाबद्ध रूपमा भएका घटना हुन् । तर, यतिका वर्ष हुँदा पनि अपराधीमाथि कुनै किसिमको कानुनी कारबाही भएको छैन । पीडितहरूले न्याय पाएका छैनन् । अपराधीहरूको मनोबल झन् बढेको पीडितहरूको भनाइ छ ।
परम्परादेखि चलिआएको जातव्यवस्थामा आधारित समाजमा हरेक निर्णय र क्रियाकलाप जातकै आधारमा हुनु र गर्नु एकप्रकारले स्वाभाविक मानिएला तर प्रहरी प्रशासन तथा अदालतमै पुगेका घटना पनि सोही आधारमा विचाराधीन र तजबिज हुन पुग्नु कत्तिको न्यायसङ्गत हुन्छ ? यिनै व्रिmयाकलापले गर्दा सर्वसाधारणको कानुनी राज्यप्रतिको विश्वास खस्किँदै गएको छ । कतिसम्म भने उजुरी दिने नयाँ पीडितको सङ्ख्या पनि घट्दै गएको छ । विकल्प नहुँदा कानुनी राज्यको उपहास हुने गरी गाउँघरमै मिल्नुपर्ने सर्वसाधारणको बाध्यात्मक स्थिति छ । स्थानीय सरकारमा समेत विभेदकारी वर्गकै वर्चस्वका कारण यथास्थितिमै समाजमै मिलेर बस्नुपर्ने मनोवैज्ञानिक प्रभाव बलियो हुँदै गएको छ । यसले गर्दा अधिकांश घटना गाउँमै दण्ड जरिबाना गर्ने, गराउने, दबाउने र लेनदेनमा टुङ्गिइरहेका छन् । यसरी आजको विकसित युगमा पनि जातकै आधारमा न्याय छनोटमा पर्नु यो कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ?
विभेदमा संस्थागत कमजोरी
जातव्यवस्थालाई नियोजित रूपमै महत्व दिने काम संस्थागत तवरमा भइरहेको छ । राजनीतिक दलले जातव्यवस्थालाई आफ्नो भोट बैङ्क अस्त्रका रूपमा प्रयोग गर्दै आएका छन् । यसमा देखिएको कमीकमजोरी र व्यवस्थापनको दायित्व राज्यको हो तर राज्यले काम गरेको देखिँदैन । एकातिर राज्यले जातीय विभेदलाई कानुनी रूपमै दण्डनीय बनाएको छ भने अर्कातिर जातलाई अधिकारसँग जोडिदिएको छ । आरक्षणको नाममा देखावटी रूपमा कोटा र चोटा बाँडिएको छ । यस्ता विरोधाभासपूर्ण कामले जातव्यवस्थालाई सबल मात्रै गराउँछ । यस्तो कुरीति निर्मूल पार्न राज्यले जिम्मेवारीपूर्वक पहल लिनु पर्छ ।
आखिर जातमा के छ ? जातीयता के हो ? यसको विकास र सुरुवात कसरी भयो ? के यसलाई अन्त्य गर्न सकिन्छ ? अनेकन जबर्जस्त सवाल खडा छन् समाजमा । मानिस चेतनशील प्राणी हो । मानिस मानिसबिच कुनै भेदभाव हुनु हुँदैन । आपसी सद्भाव र मायामा आत्मसम्मानपूर्वक बाँच्नुपर्ने हो । मानव समाजको उत्पत्ति, विकास र इतिहास एउटै छ । हामीले यो कुरा छिटो बुझ्न सक्नु पर्छ तर हामी ढिला गर्दै छौँ । मानिसले नै मानिसमाथि विभेदका नयाँ नयाँ शृङ्खला रोप्दै छौँ । मजबुत वर्गले कमजोर वर्गमाथि कुनै दयामाया र मानवता नराखी दमन, शोषण र उत्पीडनको चक्र चलाउँदै छौँ । निमुखाहरूमाथि अमानवीय शासन लादिरहेका छौँ । विभिन्न किसिमका कुप्रथा चलाइरहेका छौँ । दृश्य अदृश्य रूपमा वर्ग विभाजन गरिरहेका छौँ ।
समाजमा निरन्तर विभेद गरिराख्ने एउटा विभेदकारी सामन्ती वर्ग र अर्को निरन्तर विभेद सहिरहने सहनशील वर्गका रूपमा स्थापित भइरहेका छौँ । एउटा वर्गले अर्काे वर्गलाई, एउटा जात र धर्मले अर्काे जात र धर्मलाई तल पार्ने, लतार्ने, पछार्ने र कमजोर गर्ने काम गरिरहेका छौँ । मुट्ठीभरका मजबुतले बहुसङ्ख्यक कमजोर वर्गमाथि आफ्नो निहित स्वार्थ पूरा गरिरहेका छौँ । चेतनशील मानिसलाई यस्तो गर्न सुहाउँदैन । यसर्थ सबैले इतिहासको कठघरामा उभिएर आत्मसमीक्षा गर्न र सच्चिन जरुरी छ ।
मानिसलाई आफ्नै मानिसको जात स्विकार्न नसक्दा जातका आधारमा हुने र गरिने विभेद सबैभन्दा कहालीलाग्दो बन्न पुगेको छ । यसको इतिहास र वर्तमान दुवै भयानक रूपले अगाडि बढेको छ । पछिल्लो चरणमा दलित र गैरदलितबिच भइरहेको अन्तरजातीय प्रेम र विवाहसँग जोडिएर भइरहेको शृङ्खलाबद्ध हत्या र हिंसाका घटना बढेर गएका छन् । देशको न्याय प्रणाली पनि पहुँचबाहेक कसैको होइन भन्ने मानक स्थापित बन्न पुगेको छ । नयाँ पुस्तामा समेत एक जातिले अर्को जातलाई आफू समान स्विकार्न नसक्ने प्रभाव बढ्दै गएको छ । राज्य पनि यसैलाई वैधानिकता दिएर किन टिकाउन खोजिरहेको छ ? यो समस्या साझा किन बन्न सकिरहेको छैन ? दिनानुदिन जात थर किन बढ्दो छ ?
कहाँबाट आयो जात ?
ऋग्वेदकालमा भारतीय हिन्दु समाजमा आर्य जातिले वर्णका आधारमा जातव्यवस्था सुरुवात गरेको मानिन्छ । उनीहरूले मानिसलाई कार्यक्षमताका आधारमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्रमा विभाजन गरे । वर्गीकरण गर्दा शूद्रलाई समाजको सबैभन्दा तल्लोस्तरमा अछुतको रूपमा राखे । त्यही ऋग्वेदलाई अहिले हिन्दुहरूले आफ्नो मुख्य ग्रन्थका रूपमा लिएका छन् । इसापूर्व २०० मा राजा मनुले जात र वर्णव्यवस्थालाई थप मजबुत र सबलीकरण गर्ने काम गरे ।
नेपाली समाजमा विभिन्न जात, धर्म र सम्प्रदायका मानिस छन् । उनीहरूबिच ठुलो मतभेद छ । एकले अर्काको अस्तित्व नै स्वीकार्न सकिरहेका छैनन् । समाजको बाहिरी रूपमा स्वीकारोक्ति एकप्रकारको देखिए पनि भित्री रूपमा ठुलो विभेद र बेमेल, द्वन्द्व र तिक्तता छ । नेपालमा जातव्यवस्थाको संरक्षण र संस्थागतीकरणको सुरुवात तत्कालीन राजा जयस्थिति मल्लले गरेको पाइन्छ । विसं १९१० मा जङ्गबहादुर राणाले मनुवादी जातव्यवस्थालाई मुलुकी ऐनकै रूपमा कानुनी मान्यता दिए । र, विभेदकारी मनुस्मृतिलाई मजबुत गर्ने काम गरे । जयस्थिति मल्लयताको इतिहासलाई मात्रै हेर्ने हो भने पनि उनीपछिका करिब पाँच सय वर्षमा मानिसलाई करिब १८ जातमा विभाजन गरिएको देखिन्छ । १९ औँ शताब्दीसम्म आइपुग्दा १८ बाट २६ जातमा पृथ्वीनारायण शाहले पु¥याए । राणा र शाह कालमै १२५ जातिसम्ममा विभाजित गर्ने काम भए । अहिले २०७८ को नयाँ जनगणनाले १४२ जाति उल्लेख गरेको छ । यो कसरी सम्भव भइरहेको छ ? युगको परिवर्तन अनुसार यो घट्नुपर्ने हो कि बढ्नुपर्ने हो ?
दलित शब्द किन छ विवादमा ?
यतिबेला दलित शब्द पनि ठुलो विवादमा छ । कसैले यसलाई सङ्घर्षको उपजका रूपमा लिइरहेका छन् भने कसैले विभेदकारीहरूले लगाइदिएको ट्यागका रूपमा लिने गरेका छन् । कतिसम्म भने मुलुकमा रहेको १३.८ प्रतिशत दलित जनसङ्ख्यालाई राजनीतिक दलदेखि विदेशी सङ्घसंस्थाले समेत आफ्नो हतियारका रूपमा प्रयोग गरिरहेका छन् । दलितकै नाममा बर्सेनि अर्बौं रकम विनियोजन गरेर ब्रह्मलुट मच्चाउने गरेका छन् । यति हुँदा पनि दलितको अवस्थामा कुनै सुधार देखिएको छैन । दलित हत्या हिंसामा झन् बढोत्तरी भएको छ । दलित जातकै कारण दिनमा दर्जनौँ हत्या, हिंसा, बलात्कार तथा विभेदका घटना हुने गरेको मानव अधिकार सङ्गठन इन्सेकका मधेस प्रदेश प्रमुख राजु पासवानको भनाइ छ ।
खासमा दलित शब्दको प्रयोग भारतमा सन् १८३१ मा मोल्सवर्थ डिक्सनरीमा भएको पाइन्छ; जो विस्तारै स्थापित हुन पुग्यो । नेपालमा २०२४ सालमा ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ ले यसलाई प्रयोगमा ल्याएको देखिन्छ । अहिलेको दलित नयाँ पुस्ताले दलित शब्द नै सुन्न चाहँदैन । यतिसम्म कि जात थर परिवर्तन गर्ने होडबाजी नै चलेको छ । प्रमाणपत्रमा दलित जात थर नै राखिएको छ भने समाजिक सञ्जाललगायत बाहिरी जगत्मा आफूलाई दलितभन्दा अलग पहिचान स्थापित गर्न आफ्नो नामअगाडि जात थर नलेखी ‘टाइटल’ प्रयोग गरेका प्रशस्तै भेटिन्छन् ।
जातीय कुप्रथा अन्त्य जरुरी
देशमा जातव्यवस्था निकै संवेदनशील विषय बन्न पुगेको छ । जातव्यवस्थालाई मजबुत गर्न बलिया जातिहरूले स्वजातीय सङ्गठन र सञ्जाल निर्माण गरेर धर्मशालादेखि मठमन्दिर र पाटीपौवा जस्तो भौतिक संरचनासमेत निर्माण गरिरहेका छन् । यसको सिको कमजोर जाति र वर्गहरूले समेत गर्न थालेका छन् । जातजस्तो संवेदनशील विषयमा हुने र गरिने बहस तथ्य र तर्कमा आधारित र गम्भीर प्रकृतिको हुनुपर्ने हो तर यहाँ जातका नाममा अनेकौँ भ्रम छर्ने प्रयत्न भइरहेको छ । कतिपयले यसलाई मानवीय एकताविरुद्धको रूपमा लिइरहेका छन् भने कतिपयले जातीय स्वतन्त्रताका रूपमा बुझिरहेका छन् । प्रत्यक्ष परोक्ष रूपमा नयाँ संविधानले पनि जातीय व्यवस्थालाई नै सबलीकरण गरेको छ ।
देशमा विभिन्न स्वरूपमा रहेका निरङ्कुश व्यवस्था र प्रथाहरूको अन्त्य विभिन्न कालखण्डमा हुँदै आएको छ । यसै समाजमा अत्यन्त अमानवीय र चरम रूपमा रहेको सतीप्रथा जस्तो कुप्रथासमेत अन्त्य भएको इतिहास छ तर सतीप्रथा जत्तिकै घातक रूपमा रहेको जातव्यवस्थाको अन्त्य किन हुन सकिरहेको छैन ? लिच्छवि, मल्ल, राणा, शाह र पञ्चायतकाल हुँदै अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि किन यसले लगभग उसै गरी निरन्तरता पाइरहेको छ ?
यो जातव्यवस्थाको सामाजिक मनोविज्ञानको प्रभाव कहिलेसम्म पुस्तान्तरण भइरहने हो ? राज्य, राजनीतिक दल र समाजका सचेत बौद्धिक वर्गले यसविरुद्ध सङ्गठित रूपमै एउटा संयुक्त अभियानको थालनी कहिलेदेखि गर्ने हो ? समाजमा रहेको मानवताविरोधी निकृष्ट जातीय कुप्रथा निर्मूल पार्न विलम्ब नगरौँ ।