सिर्जना मैले गरिनँ
सोच बनाएको छु
अभिव्यक्त मैले गरिनँ
अनुभूति गरेको छु
किनकि म अकवि हुँ
घृणा मैले पाएको छु
घृणासँग प्रेम आएकै थियो
पीडा मैले भोगेको छु
पीडासँग खुसी टाँसिएकै थियो
रवि नपुगेको ठाउँ
म पुगेको छैन
त्योभन्दा टाढा पुगेको छु
किनकि म शब्दबिना यात्रा गर्छु
विचारमा विचरण गरेको छु
मस्तिष्कमा मथिङ्गल मच्चाएको छु
हेर्दै सुन्दै हँसाएको छैन
पढ्दै बुझ्दै रुवाएको छैन
किनकि म शब्दबिना यात्रा गर्छु
भावनामा डुबेको छु
स्थिरतामा उत्रेको छु
शब्दमा हिँडेको छैन
लयमा बगेको छैन
किनकि म अकवि हुँ