• १३ पुस २०८२, आइतबार

कालिज पालनबाट वार्षिक ३० लाखको कारोबार

blog

राप्ती सोनारी –२ का उदयाराम पुनको लोभलाग्दो कालिज पालन फार्म । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, पुस १३ गते । राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । 

पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय सुरु गर्नुभएका पुनसँग अहिले एक हजार ५०० भन्दा बढी कालिज छन् । उहाँले गत वर्ष करिब ३० लाख रुपियाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो वृद्धि भएर ३५ देखि ४० लाख रुपियाँसम्मको कारोबार हुने आशा गरिएको बताउनुभयो । 

पटक–पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिज पालन व्यवसाय सुरु गर्नुभएका पुनले कालिज पालनबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताउनुभयो । उहाँका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढेसँगै उत्पादन बढाउँदै लगिएको छ । 

व्यवसायको सुरुवाती चरणमा निकै समस्या झेल्नुपरेको पुनको अनुभव छ । पहिलो पटक दाङबाट ल्याइएका २०० चल्लामध्ये १५० भन्दा बढी मरेपछि हिम्मत नहारेर सिक्दै अघि बढेर यहाँसम्म पुगेको उहाँले बताउनुभयो । 

दुई कठ्ठा जग्गामा व्यवस्थित फार्म सञ्चालन गर्दै आउनुभएका पुनले आफ्नै ह्याचरी मेसिनसमेत जडान गर्नुभएको छ । उहाँले आफ्नै फार्ममा उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहनुभएको छ । 

पुनका अनुसार एक दिनको चल्ला प्रतिगोटा २५० रुपियाँमा बिक्री हुनेगरेको छ । भाले कालिज दुई हजार ५०० र पोथी कालिज एक हजार २५० रुपियाँ किलोमा बिक्री भइरहेको छ । बाँकेका होटलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको जनाइएको छ । 

हाल पुनले ८० पोथी र २५ भाले बीउका लागि छुट्टै राख्नुभएको छ । आउँदो फागुनदेखि थप चार कठ्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सोही प्रकारले कालिज पालनमा कोहलपुरकी सरिता थापाजस्ता अन्य उद्यमी पनि संलग्न हुनुहुन्छ । उहाँसँग हाल ५०० कालिज बिक्रीका लागि तयार रहेको थापाले बताउनुभयो । जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो ।  

व्यवसायमा संलग्न कृषकहरुका अनुसार बाँकेमा कालिज पालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदैगएको छ ।