• २३ चैत २०८२, सोमबार

हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता

blog

फाइल तस्बिर

खोटाङ, चैत २२ गते । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । 

यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । 

हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । 

“विपदमा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत २ गतेको  हावाहुरीले १७० भन्दा बढी घरमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएकालाई जस्तापाता उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाललगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएको उहाँले बताउनुभयो । रासस