मित्र भण्डारी
योगीकुटी (रुपन्देही), चैत २२ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेको बताउनुभएको छ । रुपन्देहीको योगीकुटीस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानसेनापति सिग्देलले नेपाली सेनाले इतिहासदेखि नै अराजनीतिक चरित्रलाई कायम राख्दै आएको चर्चा गर्दै अनुशासन, ‘चेन अफ कमान्ड’ तथा राष्ट्रिय एकताको भावनालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा अविच्छिन्न केन्द्रित गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा वीर पुर्खाहरूले पुर्याएको त्याग, तपस्या, बलिदान तथा कर्तव्यपरायणतालाई अटल राख्दै राष्ट्रभक्तिको जीवन्त इतिहास कायम राख्न नेपाली सेना सधैँ तटस्थ र अराजनीतिक भूमिका निर्वाह गर्न प्रतिबद्ध छ ।”
मुलुकको सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाले नेपाली सेना स्वदेश तथा विदेशमा समेत विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित भएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न बहालवाला तथा अवकाशप्राप्त सैनिकहरूले देखाएको उच्च कार्यकुशलताको प्रशंसा गर्नुभयो ।
सैनिक कल्याणकारी कोष निर्देशनालयद्वारा आयोजित सम्मेलनमा प्रधानसेनापति सिग्देलले बहालवाला र अवकाशप्राप्त सैनिकहरूलाई एउटै छाताभित्र ल्याउने उद्देश्यले कल्याणकारी कार्यक्रमलाई हरेक स्थानीय तह र वडासम्म पुर्याउन तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले ‘बहुजन हिताय, बहुजन सुखाय’ को मर्मलाई मनन गरी स्वास्थ्य, शिक्षा, सिप र स्वरोजगारमूलक कार्यक्रमलाई परिणाममुखी बनाइने बताउनुभयो ।
सैनिक कल्याणकारी कोष निर्देशनालयका कार्यकारी अधिकृत हिरालाल जोशीले सामूहिक भावना अभिवृद्धि गरी कल्याणकारी कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरिने बताउनुभयो । सो अवसरमा कोषमार्फत उत्कृष्ट व्यवसाय सञ्चालन गरिरहेका सैनिक परिवारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो भने वृद्ध एवं अशक्तलाई ह्विल चियर वितरण गरिएको थियो ।

वि.सं. २०७० देखि सुरु भएको ‘भूपू सैनिक सम्मेलन’ यस वर्ष ‘प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नाराका साथ तीनवटा पृतना मातहतका ३४ जिल्लामा आयोजना गरिएको छ । पहिलो चरणमा मध्यपश्चिम पृतनाअन्तर्गतका १३ जिल्लाका करिब ६ हजार ४०० भूपू सैनिकको सहभागिता रहेको थियो । दोस्रो चरणको सम्मेलन चैत २५ गते तनहुँको खैरेनीटारमा र तेस्रो चरणको सम्मेलन आगामी वैशाख ४ गते बर्दिबासमा सम्पन्न हुने सैनिक मुख्यालय जङ्गीअड्डाले जनाएको छ ।