• २२ चैत २०८२, आइतबार

सर्वपक्षीय सहमतिपछि गौशाला बजार खुल्यो, अतिक्रमणमुक्त अभियान पुनः सुरु

blog

आइतबार गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतो अध्यक्षतामा सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियानको सन्दर्भमा बसेको सर्वपक्षीय बैठक । तस्बिर : अजय शाह

अजय शाह 

गौशाला (महोत्तरी), चैत २२ गते । महोत्तरी जिल्लाकै प्रमुख व्यापारिक केन्द्र गौशाला नगरपालिकास्थित गौशालाबजारमा सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियान अब वडा अध्यक्षको नेतृत्वमा पुनः सञ्चालन हुने भएको छ। 

आइतबार गौशाला नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गर्दै शनिवारदेखि बन्द रहेको बजारसमेत खुल्ला भएको छ।

विगतमा देखिएका कमजोरीहरूलाई सुधार्दै नयाँ ढङ्गबाट अभियान अघि बढाउने विषयमा सर्वसम्मत सहमति भएको गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतोले जानकारी दिनुभयो। प्रमुख महतोको अनुसार सोमबारदेखि बजार अतिक्रमणमुक्त अभियान निर्वाध रूपमा सञ्चालन हुनेछ र यसको नेतृत्व वडा ५ का अध्यक्ष ओमप्रकाश गुप्ताले सम्हाल्नुहुनेछ। गौशाला बजार सोही वडामा पर्ने भएकाले जिम्मेवारी गुप्तालाई दिइएको हो।

बैठकले यसअघि घोषणा गरिएको बजार बन्दको निर्णय पनि फिर्ता लिएको छ। अभियानलाई सफल बनाउन नगरपालिका, सरोकारवाला निकाय तथा स्थानीय समुदायले समन्वयात्मक भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ। बजारलाई व्यवस्थित र आकर्षक नबनाएसम्म अभियान निरन्तर जारी रहने नगरपालिकाले जनाएको छ।

अभियानका क्रममा केही सटरहरूमा क्षति पुगेको विषयलाई स्वीकार गर्दै मेयर महतोले प्राविधिक कारणले क्षति भएको बताउनुभयो। उहाँले प्रमाणसहित नगरपालिकामा निवेदन दिएमा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन समेत दिनुभयो ।

प्रमुख महतोले गौशाला बजारको समग्र विकासका लागि सबै पक्षलाई सकारात्मक सहयोग गर्न आग्रह गर्नुभएको छ। वडा ५ का अध्यक्ष तथा गौशाला बजार व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश गुप्ताले सहमति र समझदारीका आधारमा अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब कसैलाई जबर्जस्ती वा क्षति पुग्ने काम हुँदैन। सबैको सहमतिमा, सम्झाएर र बुझाएर, बिना धाकधम्की अभियान अघि बढाइनेछ।” उहाँका अनुसार छलफलपछि बजार पूर्ण रूपमा खुला भइसकेको छ।

यसैबीच गौशाला बजार क्षेत्रभित्र पर्ने चर्चित ११५ नम्बर कितामा रहेका अव्यवस्थित कठघराहरू हटाउने काम पनि सुरु गरिएको छ। व्यापारीहरूको अवरोधपछि नगरपालिकाले यसतर्फ विशेष ध्यान दिएको हो।

नगर प्रहरीका इन्चार्ज टेकबहादुर लामाले खाली रहेका कठघराहरू हटाइसकिएको जानकारी दिनुभयो। बाँकी रहेका संरचनाबाट सामान हटाउन दुई दिनको समय दिइएको छ। त्यसपछि ती संरचनाहरू पनि हटाइने उहाँले बताउनुभयो ।

नगर प्रहरीले अभियान सफल बनाउन सबैसँग सहयोगको अपिल गरेको छ। शनिबारदेखि बजारलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले अभियान सुरु गरिएको थियो। नगरपालिका र युवा समूहको सक्रियतामा अभियानले गति लिएको भए पनि केही स्थानमा विवाद उत्पन्न भएपछि शनिबार दिउँसोदेखि स्थगित गरिएको थियो।

व्यापारी र अभियानी युवाबीच सहमति हुन नसक्दा बजार बन्दसमेत गरिएको थियो । पछि नगरपालिकाको समन्वयमा आइतबार सर्वपक्षीय बैठक बसेर सहमतिमा पुग्दै अभियान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।