• २२ चैत २०८२, आइतबार

स्थानीय तहमा निमित्त प्रमुख शून्य बनाउने अभियान

blog

काठमाडौँ, चैत २२ गते ।  सरकारले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्ति अन्त्य गर्ने कार्यलाई तीव्रता दिएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा विकासनिर्माण, दीर्घकालीन महत्वका योजना, अन्तरतह समन्वय कमजोर बन्दै गएका कारण सरकारले निमित्त प्रमुख नराख्ने भएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्दा निर्णय प्रक्रियामा ढिलासुस्ती, जिम्मेवारीमा अस्पष्टता र सेवा प्रवाहमा कमजोरी हु्ँदा यसअघिका सरकारको आलोचना हुँदै आएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा प्रतिभा रावल नियुुक्त भएसँगै मन्त्रालयले यस्तो अभियान चलाएको छ । यसअघि ७५३ स्थानीय तहमध्ये १७४ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालन हुँदै आएका थिए । मन्त्रालयका प्रवक्ता नीति पोखरेल अर्यालले स्थानीय तहमा पूर्ण जिम्मेवारीसहितको प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई तीव्रता दिइएको बताउनुभयो । 

नयाँ सरकार आएसँगै अहिले छ वटै महानगरपालिकामा पूर्ण जिम्मेवारीसहितका प्रमुख प्रशासकीय अधिकृत खटिएका छन् । त्यस्तै ११ वटा उपमहानगरपालिकामध्ये बाराको कलैया उपमहानगरपालिकाबाहेक १० वटै उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन् । २७६ नगरपालिकामध्ये ४६ वटा नगरपालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । ती नगरपालिकामा पनि केही दिनभित्रमा पूर्ण जिम्मेवारीसहितको प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी मन्त्रालयले गरेको छ । त्यस्तै ४६० वटा गाउँपालिकामध्ये सबै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको मन्त्रालयले जनाएको छ । 

उहाँले भन्नुभयो, “स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन, विकासनिर्माणको काममा तीव्रता दिन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको अन्त्य गर्न लागेको हो ।” निजामती सेवा ऐन अनुसार दुई वर्षभन्दा बढी एउटै कार्यालयमा बसेका, सिंहदरबार र आसपासका क्षेत्रमा कार्यरत शाखा अधिकृत र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । 

स्थानीय तह बनेदेखि नै एक सयदेखि १५० वटा स्थानीय तहमा सधैँ जसो निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदै आएकामा मन्त्री रावलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको अन्त्य गर्ने गरी सिंहदरबारमा लामो समयदेखि बस्दै आएका कर्मचारीलाई स्थानीय तहमा पठाउन निर्देशन दिनुभएको थियो । 

मन्त्रालयले यसअघि स्थानीय तहमा नगएका कतिपय शाखा अधिकृत र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित स्थानीय तहमा पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरेको छ । 

स्थानीय तहको स्वागत 

मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य पार्ने गरी धमाधम प्रमुख प्रशासकीय अधिकृत पठाएसँगै स्थानीय तहले भने स्वागत गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले भने स्थानीय तहले यसअगाडिदेखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको अन्त्य गर्न आग्रह गरेबमोजिम नै मन्त्रालयले ढिलै भए पनि उक्त कार्यको सुरुवात गरेको जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहमा निमित्त हटाएर पूर्ण जिम्मेवारीसहितको प्रमुख प्रशासकीय अधिकृत पठाइएकामा सबै स्थानीय तहले सरकारको कदमको स्वागत गर्ने बताउनुभयो । 

मन्त्रालयको यस कदमबाट स्थानीय तहको सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ । त्यस्तै विकासनिर्माण, प्रशासनिक निर्णय र सेवा वितरणमा गति आउने विश्वास गरिएको छ ।