• २२ चैत २०८२, आइतबार

नयाँ शैक्षिकसत्रबाट माध्यमिक विद्यालयमा निःशुल्क शिक्षा

blog

रत्ननगर नगरपालिका कार्यालय ।

शालिग्राम नेपाल 

चितवन, चैत २२ गते । रत्ननगर नगरपालिकाले वार्षिक दुई करोड ४० लाख लगानी गरेर माध्यमिक तह (९–१२) मा निःशुल्क शिक्षा लागू गर्ने अन्तिम तयारी गरेको छ । 

नयाँ शैक्षिक सत्रबाट सुरू हुने निःशुल्क शिक्षाका लागि स्थानीय सरकारले प्रतिविद्यार्थी २ हजार ५०० रूपियाँ खर्च गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सुझाव समितिले तयार गरेको प्रतिवेदनमा शिक्षक र कर्मचारीको तलब बाहेक विद्यालय सञ्चालनका लागि वार्षिक दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । 

रत्ननगरमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या २ हजार १९५ छ । विद्यार्थीबाट कुनै पनि वहानामा शुल्क नलिने गरी निःशुल्क शिक्षा घोषणा गर्न लागिएको हो । हालसम्म विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षाको नाममा विद्यार्थीबाट शुल्क लिँदैआएको थियो । 

विपन्न वर्गका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेका कारण बालबालिका पढाउन समेत अप्ठ्यारो परेको गुनासो स्थानीय सरकारलाई अभिभावकले गर्दैआएका थिए । सरकारले कक्षा ८ सम्म निःशुल्क शिक्षा घोषणा गरिसकेको छ ।

माध्यमिक तहमा स्थानीय सरकारले कार्यविधि बनाएर निःशुल्क घोषणा गर्न पाउने संविधानमा उल्लेख भएअनुसार रत्ननगर नगरपालिकाले संविधानको धारामा टेकेर निःशुल्क शिक्षा लागू गर्न लागेको नगर प्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । 

“स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ भन्ने मान्यता राख्छु” उहाँले भन्नुभयो, “स्वास्थ्यतर्फ हामीले उपचार कोष तयार गरेका छौँ, अब निःशुल्क शिक्षा लागू गर्छौं ।” माध्यमिक तहमा नयाँ शैक्षिक सत्रबाट निःशुल्क शिक्षा लागू गरिनेछ । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रमुख सापकोटाले बताउनुभयो । 

माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन सुझाव समितिले विद्यालय समायोजन र डाउन साइज, शिक्षकको सङख्या वृद्धि तथा बृहत् विद्यालयको अवधारणालाई अघि सारेर प्रतिवेदन तयार गरेको समितिका संयोजक जगन्नाथ अधिकारीले बताउनुभयो । रत्ननगरमा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । 

विद्यार्थी सङख्या न्यून रहेको जनदया मावि, द्वारिका दास मावि र कपरफोरी माविलाई रत्ननगर नगरपालिकाको कार्यपालिका बैठकले गत वर्ष नै आधारभूत तह (कक्षा ८ सम्म) मा झार्ने निर्णय गरेको थियो । तीन वटा माविलाई आधारभूत तहमा झार्दा अब रत्ननगरमा १३ वटा मात्रै मावि रहेका छन् । 

सामुदायिक विद्यालयको शिक्षालाई प्रभावकारी बनाउन सुझाव समितिले १३ वटा माविलाई सात वटामा झारेर बृहत् विद्यालयको रुपमा विकास गर्न स्थानीय सरकारलाई लिखित सुझाव दिएको छ । विद्यार्थी सङख्याको आधारमा सामुदायिक विद्यालयमा शिक्षक सङख्याको सन्तुलन मिलाउन समितिले सुझाव दिएको संयोजक अधिकारीले बताउनुभयो । “कुनै विद्यालयमा शिक्षकको सङख्या धेरै छ, कुनैमा कम देखिन्छ” उहाँले भन्नुभयो, “सन्तुलन मिलाउँदा अझै १५ जना शिक्षकको कमी भएको पाइएको छ ।” स्थानीय सरकारलाई १५ जना शिक्षक थप गर्न सुझाव दिइएको उहाँको भनाइ छ ।

समितिले साढे दुई महिना लगाएर गरेको अध्ययनको क्रममा रत्ननगरमा प्रतिविद्यार्थी सरकारले वार्षिक २५ हजारदेखि ७९ हजारसम्म लगानी गरेको पाइएको संयोजक अधिकारीले बताउनुभयो । बृहत् विद्यालय बनाउँदा २५ प्रतिशत खर्च कम हुने र शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास लिएको छ ।