• २३ चैत २०८२, सोमबार

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रीम’ को प्रिमियर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २२ गते । ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित डकुमेन्ट्री फिल्म “द एभरेस्ट ड्रीम” आज नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर गरिएको छ। प्रिमियर कार्यक्रममा उपस्थित नेपालका लागि बेलायती राजदूत रब फेन डकुमेन्ट्री फिल्म हेरेर भावुक हुनुभयो । 

स्कटल्याण्डका ब्रेन इन्जुरीबाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्यसहित गरेको असाधारण यात्रालाई समेटिएको यस फिल्मको निर्देशन पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेले गर्नुभएको हो । करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग जुधिरहेका व्यक्तिहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा प्रस्तुत गरेको पाण्डेको भनाइ छ । 

डाक्टरहरूले सामान्य जीवनमा फर्किन कठिन हुने बताए पनि उनीहरूले हार नमानी नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्मको यात्रा तय गरेका थिए। फिल्ममा स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र खुम्बु क्षेत्र हुँदै बेस क्याम्पतर्फको भावनात्मक तथा चुनौतीपूर्ण पदयात्रा समेटिएको छ। उचाइ, थकान र स्वास्थ्य समस्याबिच पनि शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास देखिन्छ।

यात्राका क्रममा केही कठिन क्षणहरू पनि फिल्ममा समावेश छन् । एक सदस्य केही समय समूहबाट हराउने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था प्रस्तुत गरिएको छ।

निर्देशक पाण्डेका अनुसार, “यो फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ।” द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र परिवारसहित सात जनाको टोलीले सगरमाथा बेस क्याम्पसम्मको यात्रा पूरा गरेका थिए।

दर्शकका रूपमा आएका बेलायती राजदूत रब फेनले डकुमोनट्री फिल्मलाई “एकदमै प्रेरणादायी कथा” भएको प्रतिक्रिया दिएका छन्। त्यसैगरी विश्वविद्यालय अफ साउदर्न क्यालिफोर्नियाकी प्राध्यापक जेनिफर कूलले पनि यो डकुमेन्ट्रीबाट आफू निकै प्रभावित भएको बताएकी छन्।

निर्देशक पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू पनि अन्तर्राष्ट्रिय स्तरमा सफल भइसकेका छन्। भूकम्पसम्बन्धी “भाग्यले बाँचेकाहरू” ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो । बहुपति प्रथामा आधारित “को–हजबेण्ड” ले पनि एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भएको थियो।

फिल्ममा एशोसियट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ। आजको प्रिमियरसँगै “द एभरेस्ट ड्रीम” अब विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गरिने निर्देशक पाण्डेले जानकारी दिनुभयो ।