काठमाडौँ, चैत २३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीले मन्त्रालयका काम–कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्नेछन् ।
मन्त्रालयको सेवालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीले मन्त्रालयबाट सम्पादन हुने प्रशासनिक कार्य, कर्मचारी व्यवस्थापन र अन्य सेवा प्रवाहका क्रममा भोग्नुपरेका ढिलासुस्ती वा सास्तीका विषयमा केन्द्रमा जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ ।
केन्द्रले प्राप्त गुनासालाई वर्गीकरण गरी सम्बन्धित शाखा वा महाशाखामार्फत शीघ्र सम्बोधन गर्ने र सोको जानकारी सम्बन्धित पक्षलाई दिने गरी कार्यविधि तयार पारिएको छ । नागरिकको गुनासोलाई प्राथमिकतामा राखी तत्काल समाधान गर्दा सार्वजनिक सेवाप्रतिको जनविश्वास बढ्ने मन्त्रालयको विश्वास छ ।