• २२ चैत २०८२, आइतबार

मगर सङ्घको साङ्गीतिक कार्यक्रम हुने

blog

पत्रकार सम्मेलनमा आयोजक नेपाल मगर सङ्घ बाँकेका पदाधिकारीहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २२ गते । नेपाल मगर सङ्घ बाँकेले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना आदानप्रदानका साथै वृहत साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आइतबार कोहलपुरमा पत्रकार सम्मेलनमार्फत नेपाल मगर सङ्घ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरले नयाँ वर्षमा शुभकामना आदानप्रदानका साथै वृहत् साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो ।

अध्यक्ष पुन मगरका अनुसार चैत ३० गतेदेखि २०८३ सालको वैशाख ६ गतेसम्म कोहलपुर ११ न्युरोडस्थित खुलामैदानमा नेपाल मगर सङ्घ बाँकेको आयोजनामा ‘प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा वृहत् साङ्गीतिक कार्यक्रम ०८२–०८३’ सञ्चालन गर्न लागिएको हो ।

“मगर समुदायको कला, संस्कृति, रीतिरिवाज, मौलिक परम्परागत खानपान, भेषभूषा, पहिचानको प्रवर्धन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।” अध्यक्ष पुन मगरले भन्नुभयो, “नयाँ वर्षलाई विशेष बनाउँदै नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति, परम्परा इत्यादी बारेमा जानकारी गराउन पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

उहाँले कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनुका साथै परम्परागत खानाका स्टल, थारु गाउँ तथा मनोरञ्जनात्मक बालउद्यान सहितको व्यवस्था गरिने पनि जानकारी दिनुभयो ।

सम्पूर्ण स्थानीयवासी, संस्कृतिप्रेमी, शुभचिन्तक तथा सरोकारवालाहरुलाई सहभागी भई कार्यक्रमको अवलोकन गर्न तथा मनोरञ्जन लिई नयाँ वर्ष विशेष बनाउनका लागि आयोजकले अनुरोध गरेको छ ।