विद्यालय राष्ट्रको शैक्षिक संरचनाको केन्द्र हो । शिक्षाबिना समाज उज्यालो र परिष्कृत बन्न सक्दैन । कुनै पनि देशलाई कमजोर बनाउने सबैभन्दा सजिलो उपाय त्यहाँको शिक्षा प्रणालीलाई कमजोर पार्नु हो भन्ने प्रचलित भनाइ छ । यसले शिक्षाको शक्ति र यसको दूरगामी प्रभावलाई स्पष्ट पार्छ । विद्यालयभित्र देखिने सोच, विश्वास, मूल्य, व्यवहार र आपसी सम्बन्धको समग्र स्वरूप नै विद्यालय संस्कृति हो । यो केवल कक्षाकोठाको पढाइ वा भवन–पूर्वाधारमा सीमित हुँदैन । शिक्षक–विद्यार्थीको सम्बन्ध, नेतृत्वको शैली, अभिभावकको सहभागिता र समुदायसँगको सहकार्यले निर्माण हुने जीवन्त अभ्यास नै वास्तविक विद्यालय संस्कृति हो ।
अमेरिकन लेखकद्वय टेरेन्स ई. डिल र केन्ट डी. पिटर्सनका अनुसार, विद्यालय संस्कृति नै विद्यालयको आत्मा हो, जसले व्यवहार, निर्णय र सिकाइको वातावरणलाई निर्देशित गर्छ । उनीहरूका अनुसार साझा विश्वास, परम्परा, प्रतीक र अर्थहरूले विद्यालयका सदस्यको सोच र व्यवहारलाई दिशा दिन्छन् । जहाँ पारदर्शिता, सम्मान, जिम्मेवारी र सहकार्यको वातावरण हुन्छ, त्यहाँ सकारात्मक विद्यालय संस्कृति विकास हुन्छ । सुदृढ विद्यालय संस्कृतिले शिक्षाको गुणस्तर उकास्नुका साथै व्यक्तित्व विकास, नैतिक मूल्य र नेतृत्व क्षमताको आधार तयार गर्छ । बलियो विद्यालय संस्कृति केवल संस्थागत विशेषता होइन, राष्ट्रनिर्माणको दीर्घकालीन आधारशिला हो ।
नेपालमा दरबार हाइस्कुलमा परम्परा र अनुशासनको निरन्तरता देखिन्छ भने गण्डकी बोर्डिङ स्कुल र बुढानिलकण्ठ स्कुलमा अन्तर्राष्ट्रिय दृष्टिकोण र नेपाली मूल्यबिच सन्तुलन पाइन्छ । सगरमाथा माध्यमिक विद्यालय (खोटाङ) मा समुदायको सक्रिय सहभागिताले शिक्षा र संस्कृतिलाई एकीकृत गरेको छ । यी केही उदाहरणले सशक्त विद्यालय संस्कृति नै उत्कृष्ट शिक्षाको वास्तविक आधार हो भन्ने पुष्टि गर्छन् ।
विद्यालय संस्कृति निर्माण
विद्यालय संस्कृति नेतृत्वको केन्द्रविन्दु हो । प्राचार्यले आफ्नो दृष्टिकोण, नीति र व्यवहारमार्फत उदाहरणीय भूमिका निर्वाह गर्दा सकारात्मक संस्कृति निर्माण हुन्छ । टेरेन्स ई. डिल र केन्ट डी. पिटर्सनका अनुसार प्राचार्य नै विद्यालय संस्कृतिका मुख्य निर्माता हुन् । प्रेरणादायी र सहभागी नेतृत्वले शिक्षक र विद्यार्थीलाई उत्साहित बनाउँछ । विद्यालय संस्कृति केवल शिक्षण वा पूर्वाधारमा सीमित छैन । यो विद्यालयको आत्मा हो र प्राचार्य त्यसका प्रेरक र परिवर्तनकारी चालक हुन् । विद्यालय संस्कृति निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकहरूले आफ्नो व्यवहार, शिक्षण शैली, मूल्य दृष्टिकोण र विद्यार्थीसँगको सम्बन्धमार्फत विद्यालयको वातावरणलाई दैनिक रूपमा आकार दिन्छन् । उनीहरू नै संस्कृतिका मुख्य वाहक हुन् । अनुशासन, सहयोग, सहानुभूति र प्रेरक सम्बन्धमार्फत सशक्त सिकाइ र समावेशी वातावरणको सिर्जना गर्छन् ।
विद्यार्थीले आदर, अनुशासन, इमानदारी र जिम्मेवारी जस्ता मूल्य अभ्यास गरेमा विद्यालयमा सकारात्मक संस्कृति फैलिन्छ । उनीहरू मूल्य प्रस्तुत गर्ने, सहकार्य र समावेशिताको अभ्यास गर्ने, शिक्षालयको छवि निर्माण गर्ने र प्रेरणा फैलाउने सक्रिय पात्र हुन् । शिक्षक संस्कृतिका वाहक हुन् भने, विद्यार्थी त्यस संस्कृतिको जीवित प्रतिविम्ब हुन् । शिक्षकले आधारशिला बनाउँछन्, विद्यार्थीले त्यसलाई जिउँदो बनाउँछन् । सफा, सुरक्षित र प्रेरणादायी भौतिक तथा भावनात्मक वातावरणले विद्यालय संस्कृतिलाई सकारात्मक बनाउँछ । प्रेरणादायी सन्देश, पुस्तक कर्नर र बालमैत्री कोठा यस्ता वातावरणका उदाहरण हुन् । सशक्त विद्यालय संस्कृति सुरक्षा, सम्मान, स्वतन्त्रता र अनुशासनको सन्तुलनमा आधारित हुन्छ । सहयोग, संवाद र नवीनता कायम रहने वातावरणले विद्यालयलाई केवल शिक्षा, संस्कार र सभ्यताको केन्द्र बनाउँछ ।
विद्यालय संस्कृति निर्माणमा अभिभावक र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई अनुशासित, उत्तरदायी र विद्यार्थी–केन्द्रित बनाउने आधार तयार गर्छ । अभिभावकले घरमै अध्ययन–मैत्री वातावरण बनाइदिँदा र सिकाइप्रति सकारात्मक समर्थन जनाउँदा विद्यालय–अभिभावकबिचको विश्वास र सहकार्य मजबुत हुन्छ, जसको प्रभाव विद्यालयको समग्र वातावरणमा देखिन्छ । समुदायले विद्यालय व्यवस्थापन, स्रोतसाधन परिचालन र कार्यक्रममा साथ दिँदा विद्यालय समुदायकै साझा जिम्मेवारीको केन्द्र बन्छ । नियमित संवाद, अभिभावक–शिक्षक बैठक, समन्वय कार्यक्रम र अभिभावक दिवस जस्ता गतिविधिले सबै पक्षलाई सिकाइको साझा उत्तरदायित्वमा जोड्दै विद्यालय संस्कृतिलाई स्थिर, सकारात्मक र दिगो बनाउँछन् । शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदाय, यी चारै स्तम्भ मिलेर मात्र एक समृद्ध विद्यालय संस्कृति निर्माण हुन्छ ।
विद्यार्थीमाथि प्रभाव
असल संस्कृति भएको विद्यालय केवल परीक्षा उत्तीर्ण गराउने थलो होइन । यो चरित्र निर्माण र नेतृत्व विकास गर्ने सशक्त आधार हो । शिक्षाले ज्ञान मात्र होइन, मूल्य र व्यवहार पनि सिकाउँछ । सकारात्मक संस्कृतिले विद्यार्थीमा इमानदारी, सहनशीलता, करुणा र आत्मअनुशासन विकास गर्छ । उनीहरूले सम्मान, सहकार्य, जिम्मेवारी र समयपालन जस्ता गुण आत्मसात् गर्छन् । द्वन्द्वभन्दा संवाद रोज्ने, आत्मविश्वासी र सहयोगी बन्ने प्रवृत्ति बलियो हुन्छ । सकारात्मक संस्कृतिले सिकाइलाई अवसरका रूपमा प्रस्तुत गर्छ । विद्यार्थी गृहकार्य, परियोजना र समूहकार्यमा सक्रिय हुन्छन् । नेतृत्व र रचनात्मकतालाई प्रोत्साहन गरिने विद्यालयमा बाल संसद, क्लब र सामाजिक अभियानमार्फत विद्यार्थी अघि सर्छन् र समस्या समाधानका सिप विकास गर्छन् ।
कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाबरहित वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गर्ने नवगठित सरकारको कार्ययोजना अन्तर्राष्ट्रिय शिक्षा संस्कृतिसँग मेल खाने सकारात्मक कदम हो । सशक्त विद्यालय संस्कृतिले विद्यार्थीलाई सामाजिक र नैतिक जिम्मेवारीप्रति सचेत बनाउँछ । समाजमा प्रवेश गर्दा उनीहरू न्यायप्रिय, सहिष्णु र विवेकी नागरिकका रूपमा स्थापित हुन्छन् । असल विद्यालय संस्कृति भविष्यका सक्षम नागरिक उत्पादन गर्ने उर्वर पृष्ठभूमि हो ।
विद्यालय संस्कृति सुधारका विधि
विद्यालय संस्कृति सुधार भनेको केवल अनुशासन कायम गर्ने, कार्यक्रम थप्ने वा भवन निर्माणमा केन्द्रित हुनु मात्र होइन । यो गहिरो रूपमा जरा गाडेका सोच, व्यवहार, मूल्य, परम्परा र सम्बन्धको पुनरवलोकन र सशक्त रूपान्तरण हो । टेरेन्स ई. डिल र केन्ट डी. पिटर्सन जस्ता शैक्षिक संस्कृति विज्ञहरूले यसका लागि समावेशी र निरन्तर प्रक्रिया आवश्यक रहेकोमा जोड दिएका छन् । संस्कृति सुधारको पहिलो चरण विद्यालयको वस्तुगत मूल्याङ्कन हो । शिक्षक, विद्यार्थी, अभिभावक तथा प्रशासनका अनुभव तथा दृष्टिकोण सुन्नु आवश्यक छ । प्रश्नावली, अन्तर्वार्ता, संवाद समूह आदिका माध्यमबाट तथ्य सङ्कलन गरिन्छ र विद्यालयको वातावरण तथा संस्कृतिको गहिरो अध्ययनबाट सुधारको आधार तयार हुन्छ ।
सकारात्मक संस्कृतिको आधार साझा दृष्टिकोण र मूल्य हुन् । ‘ड्रिम स्कुल’ मार्फत संवाद, मूल्य र उद्देश्यको घोषणापत्र तयार गर्न सकिन्छ । हामी कस्ता विद्यार्थी उत्पादन गर्न चाहन्छौँ भन्ने गहन अध्ययन र अनुसन्धानले संस्कृतिलाई मार्गदर्शन गर्छ । अनुशासन, कडा परिश्रम र सामूहिक भावनामा आधारित संस्कृति जापानी विद्यालयको विशेषता हो । प्राचार्य तथा नेतृत्वकर्ता विद्यालय संस्कृतिका वाहक तथा उत्प्रेरक हुन् । उनीहरू स्वयम् आदर्श बन्ने, संवाद प्रवाह गर्ने तथा सहभागितामूलक निर्णय प्रक्रियालाई प्रोत्साहन गर्ने भूमिकामा हुनु आवश्यक छ । नेतृत्व विकास तालिम, कोचिङ तथा समावेशी निर्णय प्रणाली अपनाउँदा विद्यालय संस्कृतिको सुधार सम्भव हुन्छ ।
शिक्षक, विद्यार्थी तथा अभिभावकबिच खुला संवाद गर्ने अभ्यासले विद्यालय संस्कृति सुधारको मार्ग खोल्छ । विद्यालयका उपलब्धि, सङ्घर्ष तथा मूल्यहरूलाई कथाका माध्यमबाट जीवित राख्नु पर्छ । प्रेरणादायी अनुभवको आदानप्रदान तथा ‘हाम्रो विद्यालयका उपलब्धिको कथा’ कार्यक्रमले संस्कृतिलाई सबल बनाउँछ । विद्यालयभित्र भएका सकारात्मक आचरण, समर्पण तथा नवाचारलाई पहिचान तथा सम्मान गर्नु आवश्यक छ । शिक्षक प्रेरणा पुरस्कार, विद्यार्थी छनोट तथा समर्पण, इमानदारी, सहृदयता जस्ता मूल्यको आदर्श प्रदर्शन गर्ने व्यक्तिको सम्मानले संस्कृतिमा सकारात्मक सन्देश प्रवाहित गर्छ ।
विद्यालय संस्कृतिमा विद्यार्थीको भूमिका सक्रिय सहभागिता र नेतृत्व प्रदर्शनमा केन्द्रित हुनु पर्छ । विद्यार्थी परिषद्, बाल संसद् र बाल क्लबमार्फत आत्मअनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीको भावना विकास गर्न सकिन्छ । फिनल्यान्डमा विद्यार्थीकेन्द्रित र विश्वासमूलक विद्यालय संस्कृति प्रचलित छ, जहाँ शिक्षकलाई स्वतन्त्रता र सम्मान दिइन्छ । परम्परा तथा अनुष्ठानले विद्यालयको संस्कृति बलियो बनाउँछ । अर्थपूर्ण संस्कार विकास गर्नु वा पुराना परम्परामा नयाँ जीवन भर्नु आवश्यक हुन्छ । पठन दिवस, सामाजिक सेवा सप्ताह, शिक्षक सम्मान समारोह, विद्यालय गीत तथा प्रेरणादायी उदघोष जस्ता कार्यक्रममार्फत विद्यालय संस्कृति सुधार गर्न सकिन्छ ।
विद्यालय संस्कृतिले सिर्जनशीलता, सहकार्य तथा आजीवन सिकाइलाई प्राथमिकता दिन्छ । शिक्षक सिकाइ समूह, विद्यार्थी नवप्रवर्तन क्लब, सिकाइ अनुभवको आदानप्रदान सत्र कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसले सम्पूर्ण समुदायमा सिकाइलाई संस्कृतिका रूपमा विकास गर्न मद्दत गर्छ ।
संस्कृति सुधार निरन्तरको यात्रा हो । विद्यालयमा त्रैमासिक संस्कृति प्रतिविम्ब सत्र, अभिभावक तथा विद्यार्थी फिडब्याक संयन्त्र स्थापना गर्न सकिन्छ । आत्ममूल्याङ्कनको अभ्यासले विद्यालय संस्कृति सुधारको प्रक्रिया बलियो बनाउँछ । विद्यालय संस्कृति सुधार दीर्घकालीन प्रतिबद्धता र साझा प्रयासको परिणाम हो ।
अन्त्यमा
विद्यालय संस्कृति शिक्षाको आधार हो । यसको निर्माण भवनभन्दा बढी विश्वास, व्यवहार, मूल्य र सम्बन्धबाट हुन्छ । सकारात्मक संस्कृतिले विद्यार्थीको चरित्र, नैतिकता र नेतृत्व क्षमताको जग बसाल्छ । संस्कृति सुधार साझा दृष्टिकोण, सशक्त नेतृत्व, निरन्तर संवाद र मूल्यमा आधारित आचरणमा आधारित निरन्तर प्रक्रिया हो । विद्यालय संस्कृति नीतिगत दस्ताबेजमा सीमित नरही व्यवहार, अभ्यास र दैनिक क्रियाकलापमार्फत जीवन्त रूपमा अभिव्यक्त हुनु पर्छ । जब विद्यालयमा विश्वास, उत्तरदायित्व र पारदर्शिता सशक्त हुन्छ, त्यहीँबाट विवेकशील, जिम्मेवार र नैतिक नेतृत्व दिने पुस्ता तयार हुन्छ । अन्ततः, बलियो विद्यालय संस्कृति बिना गुणस्तरीय शिक्षा सम्भव छैन । नेपाल जस्तो बहुजातीय र बहुसांस्कृतिक समाजमा यसको महत्व अझ गहिरो छ ।