काठमाडौँ, पुस ११ गते । रिता (नाम परिवर्तन) को उमेर भर्खर २४ वर्ष पुग्यो । उमेर सानै भए पनि उहाँलाई हेर्दा ४० वर्षको जस्तो देखिन थाल्नुभएको छ । हुम्लाको दुर्गम गाउँमा जन्मिनुभएकी सुनीताको १८ वर्षकै उमेरमा बिहे भयो ।
विवाह लगत्तै उहाँ गर्भवती हुनुभयो ।गाउँमा न त अस्पताल थियो, न त स्वास्थ्य चौकीमा दक्ष सुत्केरी गराउने स्वास्थ्यकर्मी । त्यो कारणले उहाँले नियमित गर्भजाँचबाट बञ्चित हुनुपर्याे ।
स्वास्थ्य चौकीमा दक्ष प्रसूतिकर्मी नहुँदा व्यथा लाग्दा दुई दिनसम्म रिता घरकै सुँडेनी र आफन्तको भरमा बस्न बाध्य हुनुभयो । अन्ततः तेस्रो दिन उहाँले मृत शिशुलाई जन्म दिनुभयो । सन्तान गुमाउनुको पीडा त छँदै थियो, केही दिनपछि पिसाब चुहिने समस्या निम्तियो ।
एक दुई दिनमा निको होला भनेर समस्या लुकाएर बस्दा वर्षौं बित्यो । यो समस्या निम्तिएसँगै उहाँले आफ्नै परिवारबाट पनि तिरस्कार भोग्नुपर्याे । शरीरबाट दुर्गन्ध निस्कने कारणले उहाँलाई सार्वजनिक ठाउँमा सामेल हुन मन लाग्दैनथ्यो। यसले गर्दा उहाँले आफूलाई एक्लो महसुस गर्न थाल्नुभएको थियो ।
स्वास्थ्य स्वयंसेवीबाट प्रसव फिस्टुलाको शल्यक्रिया निःशुल्क उपचार हुने जानकारी पाएपछि उहाँले काठमाडौँ आएर शल्यक्रिया गराउनुभयो । रिताको सफल शल्यक्रिया भएको एक वर्ष बितिसकेको छ । अहिले उहाँले पिसाब चुहिने समस्याबाट छुट्कारा पाउनुभएको छ ।
आजभोलि उहाँ गाउँ फर्किएर आफूलाई भएको समस्या कसैले पनि भोग्नु नपरोस् भनेर यो सम्बन्धी जनचेतना फैलाउन थाल्नुभएको छ ।
उहाँ त एक उदाहरण मात्र हुनुहुन्छ । नेपालमा रिता जस्ता सयौँ महिला यो समस्याबाट पीडित छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय महिला यो समस्याबाट पीडित छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक हजार महिला सुत्केरी हुँदा तीन जनामा प्रसव फिस्टुलाको समस्या देखिन्छ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे पोखरेल नेपालमा एकदेखि दुई हजार महिला प्रसव फिस्टुलाको समस्या लिएर बाँचेको बताउनुहुन्छ ।
पछिल्लो समय नर्मल डेलिभरीमा हुने फिस्टुला कम भए पनि शल्यक्रिया गरेर बच्चा जन्माउँदा हुने फिस्टुलाको समस्या बढ्दै गएको छ । अदक्ष स्वास्थ्यकर्मीले शल्यक्रिया गरेर बच्चा निकाल्दा यस्तो समस्या निम्तने उहाँको भनाइ छ ।
यो कस्तो समस्या हो ?
रितालाई भएको यो समस्या चिकित्सकीय भाषामा ’प्रसव फिस्टुला’ भनिन्छ । सुत्केरी हुँदा लामो समयसम्म व्यथा लाग्दा शिशुको टाउकोले पिसाब थैली थिच्दा आमाको पिसाब थैली वा मलाशयमा प्वाल परेर यस्तो समस्या देखिने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कृतिपाल सुवेदी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,“लामो समयसम्म प्रसव व्यथा लाग्दा बच्चाको टाउकोले आमाको पिसाब थैली वा मलाशयको नलीलाई हड्डीमा थिचिदिन्छ। यसले गर्दा त्यहाँको रक्तसञ्चार बन्द हुन्छ र तन्तु मरेर जान्छन्, जसले गर्दा यौनाङ्ग र पिसाब थैलीको बीचमा एउटा असामान्य प्वाल बन्छ।”
यो कारणले गर्दा योनीबाट निरन्तर रूपमा पिसाब वा दिसा वा दुवै चुहिने गर्छ । सानै उमेरमा प्रजनन अङ्ग पूर्ण विकसित नहुने हुँदा सानैमा बच्चा पाउँदा फिस्टुलाको जोखिम बढ्ने चिकित्सक बताउँछन् ।
त्यसका अतिरिक्त बच्चा लामो समय अड्किएमा, बच्चा ननिस्किएर भ्याकुम लगाउँदा दक्ष जनशक्ति नहुँदा फिस्टुला हुने सम्भावना बढी हुन्छ ।
अदृश्य प्रजनन स्वास्थ्य समस्या
प्रसव फिस्टुला अदृश्य प्रजनन स्वास्थ्य समस्या बन्दै गएको छ ।समाजबाट अपहेलित हुने डरले नेपालमा कतिपय महिला यो समस्या लुकाएर बस्न बाध्य छन् ।
फिस्टुला केवल शारीरिक समस्या मात्र होइन, यो एउटा सामाजिक कलङ्क जस्तै बनेको छ। स्त्रीरोग विशेषज्ञ डा.श्रीप्रसाद अधिकारी रोकथाम र उपचारबारे ज्ञानको अभाव र लाजले गर्दा नेपालमा प्रसव फिस्टुलाको समस्या लुकाएर बस्न बाध्य भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “प्रसव फिस्टुलाका कारणले निरन्तर दिसा, पिसाब चुहिँदा शरीरमा लगाएको लुगा गन्हाउने, अरूका अगाडि जान नसक्ने, घर, परिवार र समाजबाट अपहेलित भई दुर्व्यवहार तथा बहिस्कृत हुने गरेका थुप्रै उदाहरण देख्न सकिन्छ । यही कारणाले धेरैले समस्या लुकाएर बस्न बाध्य छन् । ”
यो समस्याले गर्दा धेरैले मानसिक समस्या भोग्नुपरेको छ उहाँको भनाइ छ । गरिबी, अशिक्षा, भौगोलिक विकटता र सानै उमेरमा बच्चा जन्माउँदा यो समस्या बढ्दै गएको उहाँको बुझाइ छ ।
यसले निम्त्याउँछ अन्य स्वास्थ्य समस्या
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे पोखरेल प्रसव फिस्टुलाको समस्या लुकाएर बस्दा अन्य स्वास्थ्य समस्या निम्तने जोखिम बढ्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पिसाब चुहिने डरले पानी कम पिउँदा जलवियोजन तथा मिर्गौलासम्बन्धी समस्या उत्पन्न हुनुका साथै दिसा चुहिने डरले खाना कम खाँदा कुपोषण हुने सम्भावना हुन्छ ।”
त्यसका अतिरिक्त यो समस्या लुकाएर राख्दा योनी र पिसाबको सङ्क्रमण हुने जोखिम बढ्छ । सङ्क्रमणको समयमा नै उपचार गरिएन भने सङ्क्रमण फैलिएर मिर्गौलासम्म पुग्ने र मिर्गौला फेल हुने जोखिम बढ्छ । यदि सङ्क्रमण रगतमार्फत सम्पूर्ण शरीरमा फैलिने डा.पोखरेलको भनाइ छ ।
उपचार
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे पोखरेलका अनुसार शल्यक्रियाबाट यसको उपचार गर्न सकिन्छ ।दक्ष चिकित्सकले शल्यक्रिया गरेर यसको उपचार गरेमा पूर्णरुपमा निको बनाउन सकिन्छ । डा.घिमिरेका अनुसार उपचारपछि पनि हेलचेक्राइँ गर्दा यो समस्या पुनः बल्झिन सक्ने हुँदा शल्यक्रिया दक्ष चिकित्सकको निगरानीमा मात्र उपचार गर्नुपर्छ ।
उहाँ भन्नुहुन्छ, “फिस्टुलाको समस्या भइहालेमा लाज नमानी दक्ष चिकित्सकसँग उपचार सल्लाह लिएर शल्यक्रिया गरेमा ९० प्रतिशतभन्दा बढी फिस्टुलाको समस्या निको बनाउन सकिन्छ ।”
उचारपछि यो समस्याको हेलचेक्राइँ गर्दा पुनः बल्झिन सक्ने भएकाले यसको हेरविचार गर्न उहाँको सुझाव छ ।
रोकथामका उपाय
जनचेतना फैलाउनु नै प्रसव फिस्टुलाबाट बच्ने एक मात्र उपाय हो । डा.सुवेदीले सुत्केरी हुँदा दक्ष प्रसूतिकर्मीको सहयोगमा नै प्रसूति गराउने, सानै उमेरमा बच्चा नजन्माउन बालबालिकालाई निरुत्साहित गर्ने, किशोर अवस्थादेखि नै याैन तथा प्रजनन स्वास्थ्यबारे जानकारी गराउने, गर्भवतीले कम्तीमा चार पटक गर्भ जाँच गराउने, पोषणयुक्त खाना खाने, सुत्केरी व्यथा लाग्ने बित्तिकै प्रसूति गराउन नजिकको स्वास्थ्य संस्थामा लैजान उहाँको आग्रह छ ।
दक्ष प्रसूतिकर्मीको सहयोगमा स्वास्थ्य संस्थामा नै प्रसूति गराउने गर्दा धेरै हदसम्म प्रसव फिस्टुलाबाट बच्न सकिन्छ ।
नेपाल सरकारले 'सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ मार्फत प्रजनन स्वास्थ्यलाई महिलाको मौलिक हकमा राखेको छ ।
सरकारले फिस्टुलाको उपचारका लागि अस्पताल तोकेर निःशुल्क उपचार गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा, काठमाडौं मोडल हस्पिटल, बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल सुर्खेतमा फिस्टुलाको उपचार केन्द्रको रुपमा तोकेको छ । सरकारले यसको उपचार निःशुल्क गरे पनि फिस्टुलाको उपचार जताजतै नहुँदा, आर्थिक अवस्था कम हुने, रोगको बारेमा जानकार नहुँदा यो समस्या लुकाएर बस्न बाध्य भएको चिकित्सकको बुझाइ छ ।
प्रसव केन्द्रमा तालिमप्राप्त जनशक्ति राख्ने र यो समस्याको बारेमा जनचेतना फैलाउन सकेमा यो समस्या कम हुँदै जाने डा.अधिकारी बताउनुहन्छ । उहाँका अनुसार फिस्टुलामुक्त समाज निर्माण गर्नु केवल चिकित्सकको मात्र काम नभई समाजको सोच बदल्ने अभियान हो। जबसम्म सुरक्षित मातृत्व अधिकारको रूपमा स्थापित हुँदैन तबसम्म फिस्टुलाको समस्या निर्मूल पार्न सकिँदैन ।