टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन १९ गते । गुल्मीका सबै मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेका छन् । सोमबार अवेरसम्म जिल्लाका १४५ मतदानस्थलमै निर्वाचन सामग्रीसहितका कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । सर्वदलिय बैठकहरु सकेर आजैबाट मतदानस्थल निर्माणको काम सुरु हुने गैह्रेले बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील ४८ संवेदनशील ५७ र सामान्य ४० रहेका छन् । नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरी तर्फ १७९ निर्वाचन प्रहरी छनोट भएर तालिम सञ्चालन सकेर परिचालन भएका छन् ।
जिल्ला कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन, सबै सुरक्षा निकायहरुमा निर्वाचन सेल स्थापना र नियमित बैठक भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गैहे्ररे बताउनुभयोे । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा व्यवस्थापन, जिल्ला कारागार तथा विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाबाट भएको छ ।
नेपाली सेना अहिलेसम्म कुल १० ठाउँमा परिचालन भएको छ । सशस्त्र प्रहरी बलका निर्वाचन सुरक्षा बेश दुई, स्ट्राइकिङ्ग छ, मोबाइल टोली १६, निर्वाचन कार्यालय सुरक्षा तीनसहित कुल २७ युनिट परिचालनको योजना रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । मतदानस्थलको संवेदनशीलता अनुसार नेपाल प्रहरीका २४ वटा मोबाइल टिम परिचालन हुनेछन् ।
अनुमति प्राप्त हातहतियार स्थानीय प्रहरी चौकीहरु मार्फत ६४ थान सङ्कलन भएका छन् । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार दुई जना कैदी पक्राउ परेका छन् । सबै सुरक्षा निकायहरुको संयुक्त गस्तीहरु सञ्चालन भएको गैह्रेले बताउनुभयो ।
जिल्लामा क्रियाशिल राजनीतिक दलबाट २० जना र स्वतन्त्र २३ जना उम्मेवारबाट मनोनयन दर्ता भएको छ । मतगणनाका लागि स्थान पहिचान र तयारी भएको छ । निर्वाचनमा कुल एक हजार ७०८ जना कर्मचारी तथा सहयोगी र जिल्लाभर ८४६ जना स्वयंसेवक परिचालन भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी क्रृषि घिमिरेले जानकारी दिनुभयो ।
मतदान व्यवस्थापनका लागि आवश्यक पर्ने मतपत्र सहितका सामग्रीहरु बुझेर कर्मचारीहरु मतदान स्थलमा पुगेका हुन् । मतपेटिका ढुवानी, सुरक्षा गस्ती तथा मोबाइल टोलीका लागि आवश्यक सवारी साधनहरु व्यवस्थापनका काम पनि भइसकेको छ । मौन अवधीमा हुने निर्वाचन आचारसंहिता उल्लङ्घनलाई तीव्र रुपमा अनुगमन थालिएको छ ।
सामाजिक सञ्जाल नियमनका लागि जिल्ला प्रहरी कार्यालयमा दुई जना जनशक्तिसहितको डेस्क स्थापना गरी कार्य भइरहेको छ । जिल्लाका १४५ मतदानस्थलमा स्वास्थ्यकर्मीसहित प्राथमिक उपचार डेस्क स्थापना गर्ने योजना अनुसार स्वास्थ्यकर्मीहरु परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैह्रेले बताउनुभयो । गैरेका अनुसार मतदानस्थलमा हुने आकस्मिक घटनाका लागि उपचार गर्न जिल्लामा छुट्टै निर्णय गरेर उपचार कक्ष राखिएको हो ।