• १७ चैत २०८२, मङ्गलबार

वन कुकुरले याक मारेपछि किसान चिन्तित

blog

वन कुकुरले मारेको किसान नुपु शेर्पाले खर्कमा पालेको याक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङमा वन कुकुरले याक चौंरी खान थालेपछि किसान चिन्तित बनेका छन् । हिमाली भेगका खर्क (चरन क्षेत्र) मा पालिने याक चौरी वन कुकुर खाएर नोक्सानी गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

याक चौंरीपालक किसान नुपु शेर्पाका अनुसार पछिल्लो समय वन कुकुरले याक र चौंरीमाथि आक्रमण गर्नुका साथै खाएर नोक्सानी पुर्‍याउँदै आएको छ । केही दिनअघि शेर्पाले पालेको एउटा याक वन कुकुरले खाएको छ । खर्क अर्थात चरनमा रहेको याक वन कुकुरले खाई दिएको पशुपालक किसान शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मैवाखोलास्थित फाकु्रम्बाको माथिल्लो भेग जलजले क्षेत्रको खर्कमा रहेको याक वन कुकुरले मारेको अर्थात खाएको हो । वन कुकुरले एउटा मार्दा करिव ८० हजार रुपियाँ बराबर नोक्सानी भएको शेर्पाको भनाइ छ । जिल्लामा अन्य किसानले पाल्दै आएको याक चौंरी पनि वन कुकुरले मारेर क्षति गर्ने गरेको उहाँले बताउनुभयो ।

हिमाली भेगमा पालिने याक चौंरी वन कुकुर, ब्वाँसो लगायतका जङ्गली जनावरले बेला बेलामा आक्रमण गर्ने र खाइदिने हुँदा नोक्सानी खेप्दै आएको पशुपालक किसान बताउँछन् । जङ्गली जनावरले एउटा मात्र याक वा चौंरी आक्रमण मारेमा ७५ देखि ९० हजार रुपियाँसम्म नोक्सानी हुने गरेको किसानको भनाइ छ। 

विगत सात÷आठ वर्षयता अर्थात कोभिड–१९ महामारीपछि जिल्लामा याक र चौंरीको सङ्ख्या पनि बढेको किसानले बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा व्यापारिक निर्यात हुने गरेको याक चौंरी कोभिडका कारण निर्यात गर्न ठप्प भएपछि सङ्ख्या बढेको पशुपालक किसान नुपु शेर्पाले बताउनुभयो । शेर्पाको मात्र करिव ९० वटा याक चौंरी रहेका छन् ।

जिल्लाको पापुङ, ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत हिमाली भेगमा बसोबास गर्ने दर्जनौं किसानले मुख्य पेशाकै रुपमा याक चौंरी पालन गर्दै आएका छन् । कोभिड महामारीपछि व्यापार गर्न नपाएको र याक चौंरीको सङख्या पनि बढ्दै गएपछि पशुपालन पेशामा हैरानी भइरहेको किसान बताउँछन् । 

पछिल्लो समय याक चौंरी पालन शेपामा हैरानी भइरहेका बेला वन कुकुर लगायतका जङ्गली जनावरले खाएर क्षति गर्न थालेपछि पशुपालक किसान थप चिन्तित बन्दै गएका छन् । यता तिब्बतमा याक चौंरी व्यापार गर्न वा निर्यातका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने किसानले मागसमेत गर्दै आएका छन् ।