• १७ चैत २०८२, मङ्गलबार

५० किलोको तरुल उत्पादक कृषक सारू पुरस्कृत

blog

महोत्सवमा प्रर्दशनीको लागि राखिएको ५० किलोको तरुल ।तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, चैत १७ गते ।तनहुँको खैरेनीटारमा जारी पाँचौँ शुक्लागण्डकी महोत्सव अन्तर्गत आयोजित कृषि प्रदर्शनीमा भीमकाय तरुल उत्पादन गर्ने कृषक पुरस्कृत हुनु भएको छ ।

महोत्सवको आकर्षणको रूपमा रहेको ५० किलो तौल भएको उक्त तरुल प्रदर्शनीमा प्रथम भएको हो ।स्थानीय कृषक पूर्णमाया सारूले उत्पादन गरेको उक्त तरुललाई आकार र गुणस्तरका आधारमा उत्कृष्ट ठहर गर्दै प्रथम पुरस्कार प्रदान गरिएको हो । 

महोत्सव स्थलमा मङ्गलबार आयोजित एक कार्यक्रमका बीच शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष समुन्द्रराम श्रेष्ठले सारूलाई संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नुभयो ।

स्थानीयस्तरमा उत्पादित कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रदर्शनीमा ५० किलोको तरुल हेर्न सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख पण्डितले कृषिको व्यवसायिकरण र यस्ता प्रदर्शनीले किसानको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनलाई बजारसँग जोड्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो ।