• १७ चैत २०८२, मङ्गलबार

थारू बरघर र चौकीदारलाई साइकल बितरण

blog

साइकल बितरण कार्यक्रममा सहभागी पालिका अध्यक्ष शाही र बरघर लगायत । तस्विरः सिराज खान

सिराज खान

नेपालगन्ज, चैत १७ गते । थारू समुदायको बाहुल्यता रहेको बाँकेको बैजनाथ गाउँपालिकाले थारू समुदायको सँस्कृति संरक्षणमा जोड दिएको छ । सो क्रममा पालिकाले थारू समुदायका बरघर र चौकीदारहरुलाई साइकल बितरण गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ को बार्षिक बजेटमार्फत थारू समुदायका बरघर र चौकीदारलाई गाउँ–समाजमा विवाद समाधान, मेलमिलाप कायम र सामाजिक सद्भाव जोगाउने कार्यमा सहजताका लागि साइकल बितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । 

उहाँले गाउँपालिकाको वडा १ देखि ८ सम्म गठित ३६ वटा टोलमा थारू समुदायका बरघर र चौकीदारलाई ३६ थान साइकल वितरण गरिएको बताउनुभयो । अध्यक्ष शाहीका अनुसार बरघर र चौकीदारलाई समाजका लागि धेरै ठाउँमा पुगेर काम गर्नुपर्ने हुँदा उहाँहरुलाई हिडडुल गर्न सहजताका लागि साइकल वितरण गरिएको हो । 

गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले स्थानीय संस्कृति संरक्षणसँगै समुदाय सशक्तीकरणमा गाउँपालिका प्रतिबद्ध रहेको जनाउँदै यस्ता कार्यले परम्परागत संरचनाको सुदृढीकरणसँगै स्थानीय शासन प्रणालीसमेत मजबुत हुने बताउनुभयो । 

थारू समुदायमा बरघर र चौकीदारले गाउँ–समाजका विवाद मिलाउने प्रचलन रहेको छ । थारू समुदाय मिलेर हरेक वर्षको माघीमा बरघर र चौकीदार छनोट गर्ने प्रचलन छ । गाउँपालिकाले साईकल वितरण गरेपछि आफूहरुलाई राहत मिलेको बैजनाथका बरघरहरुले बताएका छन् । 

बैजनाथ २ का बरघर पल्टु थारुले साइकल पाएपछि अब धेरै ठाउँमा पुगेर समाजका लागि काम गर्न सहज हुने बताउनुभयो । उहाँले गाउँ–समाजमा विवाद समाधान, मेलमिलाप कायम र सामाजिक सद्भाव जोगाउने कार्यमा आफूहरुको भूमिका अहम हुने बताउनुभयो । 

साईकल हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष रोकाय, वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, अन्य जनप्रतिनिधि, गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, अन्य कर्मचारी, थारु समुदायका अगुवा, बरघर तथा चौकीदार लगायतको उपस्थिति रहेको थियो ।