• १७ चैत २०८२, मङ्गलबार

इलाका प्रहरी कार्यालय समनपुरको भवन शिलान्यास

blog

इलाका प्रहरी कार्यालय समनपुरको भवन सिलान्यास गरिँदै । तस्विर : प्रवीण कुमार शर्मा ।

प्रवीण कुमार शर्मा 

रौतहट, चैत १७ गते । रौतहटको गढिमाइ नगरपालिका वडा १ मा रहेको इलाका प्रहरी कार्यालय समनपुरको भवन शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख  श्याम प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा १ का वडा अध्यक्ष रामपुकार यादव, वडा २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक शंकर आचार्यले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय समनपुरको भवनको शिलान्यास गर्नुभएको हो ।

२०३४ सालमा स्थापित इलाका प्रहरी कार्यालय समनपुरको भवन पूर्ण रुपमा जिर्ण भएको र जिर्ण  भवनबाट नै  कार्यालय सञ्चालन हुँदै आएको छ ।  

प्रहरी कार्यालयमा ९ जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय समनापुरका सइ इन्दिवर चौधरीले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि गढिमाइ नगरपालिकाबाट  बजेट व्यवस्थापन गरिएको नगर प्रमुख यादवले बताउनुभयो । उहाँले रौतहटको पुरानो बजारको रूपमा रहेको समनपुरमा  शान्ति सुरक्षा व्यवस्थापनका लागि सुबिधा सम्पन्न प्रहरी  भवन अनिवार्य रहेको बताउनुभयो । 

सिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले प्रहरी भवन निर्माणका लागि सबैको सहयोग अनिवार्य  रहेको बताउनुभयो। सिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । 

दुइ वर्षमा सम्पन्न हुने गरि निर्माण हुन् लागेको ४ कोठे भवन निर्माणको लागि आशिर्वाद निर्माण सेवा गौर –५ रौतहटले मु अ कर सहित  ५० लाख ४६ हजार ५५८ रुपैया आठ पैसामा ठेक्का सकार गरेको गढिमाइ नगरपालिकाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भवनको निर्माण कार्य  पूर्ण रुपमा गुणस्तरियता कायम राख्दै निर्माण हुने निर्माण कम्पनीका रुपेश झाले जानकारी दिनुभयो ।