• १७ चैत २०८२, मङ्गलबार

पोखरामा ट्रान्स पार्टीबाट ३८ जना पक्राउ

blog

लेखनाथ समाचारदाता

लेखनाथ, चैत १७ गते । पर्यटन नगरी पोखराको फेवातालमाथि रहेको सेदीको जङ्गल नजिकैको एउटा पुरानो घरमा ट्रान्स पार्टी आयोजना गर्ने र सहभागी गरी कास्की प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ । 

सोमबार राति जङ्गल बिचमा रहेको घर ठूलो सङ्गीत, मादक पदार्थ र लागुपदार्थसहितको युवायुवतीको पार्टी भएको पाइएपछि आइतबार बिहान साढे १ बजेतिर प्रहरीले त्यहाँ पुगी ३८ जनालाई नियन्त्रणमा लिएको थियो । पार्टी नेपाली नागरिक बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी बैदाम र लागुऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले लागुपदार्थ र मादकपदार्थ सेवन गरी रमाइरहेका विदेशी तथा नेपाली युवायुवतीलाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

पक्राउ परेकामध्ये १२ जनाविरुद्ध मुद्दा चलाउने प्रहरीको तयारी भएको र बाँकी २६ जनालाई सोधपुछपछि छाडिएको बस्नतेले जनाकारी दिनुभयो ।

मुद्दा चलाइनेहरुमा भारतीय नागरिक ३१ वर्षीया सृष्टि चन्द र ३५ वर्षीय अनुभव शर्मा, पोखराका विशाल परियार, आशीष दर्जी, बमेन्द्र पुन, दाङका सौरभ महरा, काठमाडौँका निकुञ्ज कार्की, सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार, लोकबहादुर घर्तीमगर (सौरभ) र ब्राजिलका ४८ वर्षीय चाल्र्स गुवाइवा छन् । चार जनालाई भने अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन जस्तो सेतो धुलो, खैरो हेरोइन जस्तो पदार्थ, आइस (एम्फेटामिन जस्तो), गाँजा, म्याजिक मसरुम, एलएसडी (कागज र तरल रूपमा) लगायत विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ ।