• १७ चैत २०८२, मङ्गलबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

blog

नारद कोहार

तौलिहवा(कपिलबस्तु), चैत १७ गते । जिल्लामा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ९ जगदीशपुरको जर्लैया जाने चोक नजिकै लु २ ख ६४५५ टिप्परको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ८ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको हो । सोही वडाको जगदीशपुर घर भएकी खत्री गुरुकुल बोर्डिङ स्कुलकी हुन् । उहाँको भैरहवा मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कक्षा ३ मा अध्ययनरत उनको बालुवा लोड गेरर लैजाने क्रममा टिप्परले ठक्कर दिएको हो । दुर्घटनापछि आक्रोसित मृतकका आफन्त र स्थानीयवासीहरूले विरोध प्रदर्शन गर्दै बाटो समेत अवरोध गरेका थिए । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।

त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ सिनेमा हल चोक नजिकै बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभुमी नगरपालिका वडा १० का डिल्लीराम थारुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा उपचारको क्रममा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र बस प्रहरी नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सिंहको भनाइ छ ।