• १७ चैत २०८२, मङ्गलबार

सुकेटारमा दुई सातादेखि उडान अवरुद्ध

blog

प्रतिकूल मौसमका कारण हाल उडान अवरुद्ध रहेको सुकेटार विमानस्थल । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई सातायता उडान अवरुद्ध बनेको छ। प्रतिकूल मौसमका कारण सुकेटारमा एकमात्र नेपाल वायु सेवा निगमले गर्दै आएको उडान अवरुद्ध बनेको हो ।

ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार गत चैत ४ गतेदेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध भएको छ । निरन्तरको वर्षा तथा बाक्लो हुस्सु र कुहिरोसहित मौसम प्रतिकूल भएपछि उडान हुन नसकेको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिकूल मौसमकै कारण सोमबार, बुधाबार र शुक्रबार गरी प्रत्येक सातामा तीन दिन हुने निगमको उडान अवरुद्ध बनेको हो । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने गरेको छ । चैत महिनायता अघिल्लो साताको शुक्रबारदेखि मौसम बदली भई वर्षा तथा पानी पर्न थालेको थियो।

करिव एक सातासम्म नै निरन्तर वर्षा भएको र पछिल्लो तीन दिनयता वर्षाको क्रम रोकिए पनि हुस्सु तथा कुहिरोसहित दिन धुम्मिने क्रम जारी रहेको छ । निगमले गएको शुक्रबार ताप्लेजुङका लागि उडान गरेको भए पनि मौसमकै कारण सुकेटारमा अवतरण हुन नसकेर जहाज काठमाडौं नै फर्किएको थियो । अब मौसम खुल्ने अपेक्षासहित आउँदो शुक्रबारका लागि पुनः उडान तालिका तय भएको निगमको स्टेसन कार्यालयले जनाएको छ ।

यसरी नियमित उडान नहुँदा काठमाडौंदेखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाडौं जाने यात्रुले सेवा लिनबाट बञ्चित हुनुपरेको छ । यता पर्यटकीय मौसम सुरु भइसकेको समयमा नियमित उडान नहुँदा पर्यटन क्षेत्रमा असर पुग्ने पर्यटन व्यवसायी बताउँछन् । ताप्लेजुङका लागि उड्ने उडान अवरुद्ध हुँदा अधिकांस मौसम नै काराण बन्ने गरेको छ ।