• १९ फागुन २०८२, मङ्गलबार

मौन अवधिको मर्म

blog

अनेक आशङ्का चिर्दै फागुन २१ को निर्वाचन नजिक आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अब नयाँ चरणमा प्रवेश गरेको छ । गएराति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु हुनुअघि फागुन १८ सम्म दुई साता राजनीतिक दल तथा उम्मेदवारले मतदातासमक्ष निर्वाचनको प्रभावी प्रचारप्रसारको यत्न गरे । तुलनात्मक रूपमा यो पटक निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण भयो । ठुलो झैझगडा भएन । सरकारको सुरक्षाव्यवस्था प्रभावकारी देखियो । अपवादबाहेक राजनीतिक दल तथा उम्मेदवार शालीन नै देखिए । यसबिचमा घरदैलो कार्यक्रम गरियो । आमसभा गरियो । कोणसभा गरियो । सडक प्रदर्शन गरियो । निर्वाचन जित्ने उम्मेदवारले मात्र फागुन २१ पछि फूलमाला र अबिर लगाउँछन् तर निर्वाचन प्रचारप्रसारकै क्रममा अधिकांश उम्मेदवारले माला लगाए । रङ्गीन भए । कतिपयले त फूलमालाले टाउकैसम्म पुरेको रमाइलो पनि देखियो । मतदाता र कार्यकर्ताको माया पनि हो वा देखावटी ? त्यसको निक्र्योल त फागनु २१ ले नै गर्ने छ । तथापि भन्नै पर्छ, राजनीतिक दल तथा उम्मेदवारले मतदाताको विश्वास जित्न अनेक तौरतरिका अवलम्बन गरे । दलका घोषणापत्र सार्वजनिक गरी मतदातासम्म लगियो । देशको आर्थिक तथा सामाजिक विकासको मार्गचित्र देखाइयो । त्यसमा विमर्श, बहस र मन्थन गरियो । कतिपय दलका नेता तथा उम्मेदवारले मतदाताको अनेक प्रश्नको जवाफ सार्वजनिक रूपमै दरिलो गरी दिए । कतिपयले प्रश्नप्रति रुचि नदेखाएको पनि पाइयो ।

मौन अवधिसँगै फागुपूर्णिमाको रमाइलो छ तर मौन अवधिको विशिष्ट मर्म र विशेषता बिर्सन हुन्न । यस अवधिमा कुनै तवरले निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । यसमा निर्वाचन आयोगले स्पष्टै गरेको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कडाइका साथ परिपालना गर्नुपर्ने छ । यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण छ, जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइने छैन । यो समयमा उम्मेदवारले निर्वाचन प्रचारप्रसार नगरी चिन्तन मननको समय हुने छ । चिन्तन मनन भावी योजना र देश विकासका निम्ति हुनुपर्ने छ । निर्वाचन प्रचारका क्रममा मतदातासमक्ष के कस्ता प्रतिबद्धता जनाइएको छ, त्यसलाई निर्वाचनपछि कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा उम्मेदवारले योजना बनाउनेतिर चिन्तनमनन गर्नु उपयुक्त हुने छ । मत माग्न जाँदा मतदाताको प्रतिक्रिया कस्तो रह्यो ? प्रतिबद्धता के कस्ता थिए ? भन्ने समीक्षा गर्न सकिन्छ । मतदाताको इच्छा, चाहना, विधि र विकासको चाहनालाई दृष्टिगत गरी ठन्डा दिमागले सोच्ने बेला हो मौन अवधि । मतदातालाई पनि निर्वाचन प्रचारप्रसारको कोलाहलबाट मुक्त भई फागनु २१ को निर्वाचनका निम्ति योग्य दल वा उम्मेदवार रोज्न गृहकार्य गर्ने समय हो ।

मौन अवधिका अरू पनि कार्यसूची छन् । निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार भई मतदातालाई प्रभावित पार्ने काम हुन नसकोस् भनी मतदान स्थलवरिपरिको प्रचार सामग्री हटाउनु परेको हो । त्यस्तै प्रविधि वा माध्यम प्रयोग गरी चुनाव प्रचारप्रसार गर्न पाइने छैन । आयोगका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन  पाइने छैन । मौन अवधिमा सञ्चार प्रतिष्ठान वा सञ्चार कर्मीले पनि मौनमर्यादा परिपालना गर्नुपर्ने छ । मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण निर्वाचन प्रचारप्रसार सूचना सम्प्रेषण गर्न नहुने विषयसँग सम्बन्धित छ । मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार, टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर, विज्ञापनका मिडिया सामग्री दिन पाइने छैन । यस अवधिमा सामाजिक सञ्जालमा विगतमा प्रचारप्रसारका सामग्री  पोस्ट राखिएको रहेछ भने हटाउनु पर्छ । मतदातालाई असर पर्ने कुनै दुष्कार्य वा चलखेल हुनु हुँदैन । विगतमा मौन अवधिमा कतिपय नमिठा र चलखेलका अनुभवसमेत छन् । त्यस्ता दुष्कार्य  दोहोरिन नदिन सम्बद्ध सबै सचेत हुनुपर्ने छ ।