• २६ माघ २०८२, सोमबार

‘एचपिभी खोप एक मात्रा दिए पुग्छ’

blog

काठमाडौँ, माघ २५ गते । पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गरिएको छ। 

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.अभियान गौतमले आजबाट नियमित खोपका रुपमा किशोरीलाई लगाउन सुरु गरिएको एचपिभी विरुद्धको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गर्नुभयो ।

 उहाँ भन्नुहुन्छ, “यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गुणस्तर सुनिश्चित गर्नुका साथै औषधी व्यवस्था विभागबाट समेत अनुमति प्राप्त गरेको खोप ।यो खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउनुहोस् । गत वर्ष खोप अभियान मार्फत करिब १६ लाख किशोरीले खोप लगाएका थिए ।सोही समयमा कसैमा पनि गम्भीर असर देखिएको थिएन ।” 

उहाँका अनुसार एचपिभी खोप एक मात्रा दिइन्छ । उहाँ भन्नुहुन्छ, “यो एक मात्राले नै करिब शतप्रतिशत प्रभावकारिता देखाएको छ। यसअघि एचपिभी खोप लगाइसकेकाले थप मात्रा लगाउनु पर्दैन ।” 

आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप अभियान सुरु गरिएको छ। 

साथै गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पनि यो खोप दिइनेछ । 

पाठेघरको मुखको क्यान्सर महिलामा हुने गम्भीर जनस्वास्थ्यको समस्या हो। नेपालमा हरेक दिन औसतमा छ जनामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने चारको ज्यान जाने गरेको छ। सुरुको अवस्थामा यो रोगको पहिचान गर्न सकेमा यो रोगलाई निको बनाउन सकिन्छ ।

सरकारले पाठेघरको मुखको क्यान्सरलाई नेपालबाट निवारण गर्ने उद्देश्यले एचपिभी विरुद्धको खोप नियमित खोप मार्फत दिन सुरु गरेको हो ।