काठमाडौँ, चैत १ गते । पछिल्लो समय नेपालमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। मुटु र रक्तनलीसम्बन्धी रोग विश्वमा मानिसको मृत्युको प्रमुख कारण बनेको छ ।
विश्वमा कुल मृत्युको ३० प्रतिशत मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगको कारणले हुने गर्छ ।नेपालमा पनि मुटु र रक्तनलीसम्बन्धी रोगको जोखिम प्रत्येक वर्ष बढ्दो छ । सन् २०१९ मा नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानले मृत्युको करिब २७ प्रतिशतको मृत्यु मुटु र रक्तनली सम्बन्धी रोगको कारणले हुने देखाएको छ ।
मनमोहन कार्डियो थोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अनिल भट्टराईले जीवनशैलीमा आएको परिवर्तन, असन्तुलित भोजन, धूम्रपान, मद्यपान, तनाव र व्यायामको कमीका कारण मुटुरोगीको सङ्ख्या वर्षेनी बढिरहेको बताउनुहुन्छ ।
मुटुरोग कस्तो समस्या हो ?
मुटु शरीरको महत्वपूर्ण अङ्ग भएकाले यसको विभिन्न संरचनामा समस्या आउँदा फरकफरक रोग देखिने डा.भट्टराई बताउनुहुन्छ।उहाँका अनुसार मानिसको उमेर, वंशाणुगत अवस्था र जीवनशैलीका कारण पनि मुटुरोगको प्रकृति फरक हुन्छ।
जन्मजात मुटुरोग, मुटुको भल्भ बिग्रने रोग, कोरोनरी हर्ट डिजिज (हार्ट अट्याक), मुटुको चाल बिग्रने रोग लगायत करिब ४०–५० प्रकारका मुटुसम्बन्धी रोग हुन्छन्।

मुटुरोग लाग्नुको कारण ?
मुटुरोग बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसलाई लाग्छ । डा.भट्टराईका अनुसार कतिपय बालबालिका जन्मिँदै मुटुको समस्या लिएर जन्मिन्छन्, जसलाई जन्मजात मुटुरोग भनिन्छ।यसमा मुटुमा प्वाल पर्ने जस्ता सामान्यादेखि जटिल समस्या देखिन्छन् ।
कतिपय अवस्थामा जन्मिएपछि तुरुन्त शल्यक्रिया नगरे बालबालिकाको ज्यानसमेत जोखिममा पर्ने डा.भट्टराई बताउनुहुन्छ।डा.भट्टराईका अनुसार मुटुरोग लाग्ने प्रमुख कारणमा वंशाणुगत समस्या, आमाको उमेर धेरै भएपछि सन्तान जन्माउनु, गर्भावस्थामा पोषणको कमी, कडा औषधीको सेवन, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल बढ्नु, धूम्रपान, मद्यपान, मोटोपन, व्यायामको कमी तथा तनाव प्रमुख हुन्।
नेपालमा सबैभन्दा बढी देखिने मुटुरोगमा बाथ मुटुरोग (रुमेटिक हार्ट डिजिज) हो ।यसले मुटुको भल्भमा क्षति पुर्याएर अन्ततः भल्भ फेर्नुपर्ने अवस्था समेत ल्याउन सक्ने डा.भट्टराईको भनाइ छ ।
मुटुमा रगत पुर्याउने कोरोनरी नलीहरुमा बोसो, क्याल्सियम वा रगतका डल्ला जम्दा रक्तसञ्चार अवरुद्धभई मुटुको मांसपेशीमा रगत पुग्न नसक्दा हार्ट अट्याक हुने गर्छ ।हार्ट अट्याक हुँदा छातीमा कडा दुखाइ हुने, बेहोस हुने, ढल्ने वा ज्यान जाने जोखिम हुन्छ ।
मुटुरोगका लक्षण
डा.भट्टराईले मुटुरोग सुरुवाती अवस्थामा प्रायः स्पष्ट नदेखिन बताउनुहुन्छ।तर, रोग बढ्दै जाँदा यस्ता लक्षण देखिन उहाँ बताउनुहुन्छ । छाती भारी वा थिचिएको जस्तो महसुस हुनु, छाती पोल्ने, हिँड्दा वा उकालो चढ्दा स्वास फेर्न गाह्रो हुनु, मुटु दुख्ने, अत्यधिक थकान, खुट्टा सुन्निनु, चक्कर लाग्नु वा रिँगटा लाग्ने मुटुरोगको लक्षण हुन ।यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परापर्श लिन डा.भट्टराईको सुझाव छ ।
जोखिम समूह ?
डा.भट्टराईका अनुसार ३० वर्षभन्दा माथिका व्यक्ति, परिवारमा मुटुरोगको इतिहास भएका, उच्च रक्तचाप भएका, मधुमेह रोगी, कोलेस्ट्रोल बढी भएका, मोटोपन भएका, व्यायाम नगर्ने, धुम्रपान तथा मद्यपान गर्ने, अत्यधिक तनाव लिने मानिस मुटुरोगको जोखिममा हुन्छन् ।
हावामा रहेका हानिकारक रसायनले फोक्सो मात्र नभई मुटरोगको जोखिम बढाउने डा.भट्टराई बताउनुहुन्छ ।उहाँका अनुसार प्रदूषणले रक्तनलीको भित्री भागमा क्षति पुर्याएर मुटुरोगको जोखिम बढाउने गर्छ ।

मुटुरोग कसरी पत्ता लगाइन्छ ?
मुटुरोग पत्ता लगाउन विभिन्न परीक्षण जस्तै इसिजी, इकोकार्डियोग्राफी, रगत परीक्षण (सुगर, कोलेस्ट्रोल), सिटी स्क्यान, कोरोनरी एन्जियोग्राफी, एमआरआई, २४ घण्टे मुटुको चाल परीक्षण गरेर मुटु रोग भए नभएको पत्ता लगाउन सकिन्छ । यी परीक्षणले मुटुको चाल, नलीको अवस्था तथा मुटुको कार्यक्षमता मूल्याङ्कन गर्न मद्दत गर्छ।
नेपालमा मुटुरोगको उपचार सम्भव छ ?
करिब ९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव छ । नेपालमा एन्जियोप्लास्टी, बाइपास सर्जरी, मुटुको भल्भ मर्मत तथा परिवर्तन, पेसमेकर राख्ने, जन्मजात मुटुरोगको शल्यक्रिया लगायतका अत्याधुनिक उपचार सेवा उपलब्ध छन्। डा.भट्टराईले केही जटिल अवस्थाबाहेक अधिकांश उपचारका लागि विदेश जानुपर्ने आवश्यकता नरहेको बताउनुहुन्छ ।
मुटु स्वस्थ राख्ने उपाय
मुटुरोगबाट बच्न जीवनशैली सुधार सबैभन्दा प्रभावकारी उपाय हो।, नियमित शारीरिक व्यायाम।, व्यायामले मात्रै पनि मुटुरोगको जोखिम करिब ५० प्रतिशतसम्म घटाउन सक्छ।त्यसका अलाव, सन्तुलित भोजन, धुम्रपान र मद्यपान नगर्ने, चिल्लो, नुनिलो र तारेका खानेकुरा कम सेवन गर्ने, तनावको व्यवस्थापन गर्ने, तौल नियन्त्रण, नियमित स्वास्थ्य परीक्षण गरेर मुटु स्वस्थ राख्ने उपाय हो ।३० वर्षपछि पुगेपछि वर्षमा कम्तीमा एक पटक मुटुको जाँच गराउन डा.भट्टराईको सुझाव छ ।
नेपालमा मुटुरोगको अवस्थाका विषयमा केन्द्रितभई वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अनिल भट्टराईसँग गाेरखापत्र अनलाइनका लागि सिर्जना खत्रीले गर्नुभएको भिडियो कुराकानीः
भिडियो :मनोरत्न शाही