काठमाडौँ, जेठ १ गते । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ राष्ट्रभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । सामाजिक रूपान्तरण, अन्याय तथा अत्याचारको अन्त्य, आम नागरिकमा न्यायप्रतिको भरोसा र आशा, आपसी सहिष्णुता, भातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने मूल सन्देशसहित सो गीत शुक्रबार सार्वजनिक गरिएको हो ।
गीतमार्फत समाजमा सकारात्मक सोच, सहकार्य र परिवर्तनको आवश्यकतालाई कलात्मक रूपमा औँल्याइएको छ । उक्त गीतमा दीपक शर्माको सङ्गीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा गायक समीर खरेल, सबिन सुवेदी तथा गायिकाद्वय सदिच्छा कट्टेल र बेनिसा पौडेलले स्वर दिनुभएको छ ।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना रानामगर र किरण थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन तथा नृत्य निर्देशन (कोरियोग्राफी) किरण थापाले गर्नुभएको हो भने छायाङ्कन पवन सोस्लिङ र परिकल्पना सरोज ओलीको रहेको छ ।
प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै सङ्गीत साधनामा समेत रुचि राख्दै आउनुभएको छ । उहाँले यसअघि पनि विभिन्न सामाजिक तथा भावनात्मक विषय समेटिएका गीतहरू सार्वजनिक गरिसक्नुभएको छ । उहाँको शब्दमा आधारित ‘आमा म त खरानीबाट उठेर आएँ’ बोलको गीतले प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावलाई मर्मस्पर्शी रूपमा चित्रण गरेको थियो ।
त्यसैगरी, उहाँकै रचना रहेको ‘फूलको बास्ना सरी’ मा प्रहरीका दुःख, आन्तरिक भावना र जनताप्रतिको सेवाभाव समेटिएको छ । आइजीपी कार्कीले दशैँ, तिहार, बालगीत तथा व्यावसायिक गीतमा समेत शब्द सिर्जनामार्फत कलम चलाउँदै आउनुभएको छ ।