• १ जेठ २०८३, शुक्रबार

कागते-पारिपात्ले सडक स्तरोन्नति हुँदै

blog

विस्तार हुँदै गरेको सडक ।

धनकुटा, जेठ १ गते । धनकुटा नगरपालिका–३ र १० अन्तर्गत पर्ने ऐतिहासिक कागते–पारिपात्ले–मार्गा सडकको स्तरोन्नतिको काम यतिबेला तीव्र रूपमा अघि बढाइएको छ । करिब ३५ वर्ष अगाडिदेखि सञ्चालनमा आएको यो ऐतिहासिक सडक बर्खायाम सुरु भएसँगै हिलाम्मे हुने र ठुला–ठुला खाल्डो पर्ने कारणले जीर्ण बन्दै गएको थियो । सडक निर्माण कार्य सुरु भएपछि स्थानीयवासी, कृषक, विद्यार्थी तथा सवारी चालकहरूमा नयाँ आशा जागेको छ ।

धनकुटा नगरपालिकाकै पुरानो तथा महत्त्वपूर्ण सडकका रूपमा रहेको यो सडक खण्ड हुँदै छिन्ताङसम्म छोटो दूरीमा यात्रा गर्न प्रयोग हुँदै आएको छ । तर सडकको दयनीय अवस्थाका कारण बर्खायाममा एम्बुलेन्स, विद्यालयका बस, मोटरसाइकल, दूध बोक्ने टेम्पो, काठ बोकेका ट्रक, ट्र्याक्टर तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै फसेर अलपत्र पर्ने गरेका थिए । कतिपय अवस्थामा इस्काभेटरले दैनिक सवारी तान्नुपर्ने बाध्यता रहेको स्थानीय प्रकाश भण्डारीले बताउनुभयो ।

हाल कागते–पारिपात्ले कृषि फार्म हुँदै मार्गा पोखरी जोड्ने सडक स्तरोन्नतिका लागि धमाधम नाला निर्माण र जग बसाल्ने काम भइरहेको छ । उक्त सडक स्तरोन्नतिका लागि पाथीभरा याङवरक–२ स्थित ‘भी वर्ल्ड निर्माण सेवा’ ले २०८२ माघ ४ गते सम्झौता गरी २०८३ जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख घनश्याम श्रेष्ठका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ९५ लाख ११ हजार ८८ रुपियाँ ६० पैसामा निर्माण कम्पनीसँग सम्झौता गरिएको हो ।

विगतमा वर्षाको समयमा स्थानीय बासिन्दा हातमा जुत्ता–चप्पल बोकेर हिलोमा गाडिँदै हिँड्नुपर्ने दर्दनाक अवस्था रहेको मार्गा कागते सडक निर्माण उपभोक्ता समितिकी अध्यक्ष कोकिला भण्डारीले स्मरण गर्नुभयो ।